|

पर्वत : पछिल्लो एक वर्षमा गण्डकी प्रदेशमै पहिलो स्थानको मूल्याङ्कनमा परेको पर्वत अस्पताललाई करिब एक करोड मूल्य बराबरका आधुनिक बेडहरू उपहार स्वरूप प्राप्त भएका छन्।

अस्पताल व्यवस्थापन समिति अध्यक्ष गोविन्द पहाडीका अनुसार बेल्जियमको युनिभर्सिटी हस्पिटल एन्टर्वेपले ४५ वटा अत्याधुनिक तथा विद्युतीय बेडहरू उपलब्ध गराएको हो। ती बेडहरूको मूल्य नेपाली ९८ लाख ९२ हजार आठ सय ६४ रुपैयाँ पर्न आउँछ।

पर्वत अस्पतालले यसै वर्ष ५० बेडको मान्यता पाउने प्रक्रिया सुरु भएपछि बेल्जियममा रहेका नेपालीहरूको माध्यमबाट ती बेडहरू पाउन सकिएको पहाडीले बताए। बेडहरूको ढुवानीका लागि पर्वत अस्पताल रहेको कुस्मा नगरपालिकाले सात लाख ४७ हजार रुपैयाँ उपलब्ध गराएको थियो।

पर्वत अस्पतालको आवश्यकता र अस्पतालको अनुरोधपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, बेल्जियममा रहेका एनआरएनका कोषाध्यक्ष लोक दाहाल, लुम्बिनी गार्डेन फाउन्डेसनका अभियन्ता गोविन्द सुवेदी लगायतको पहलमा बेल्जियमको अस्पतालले ती कुनै पनि शुल्क नलिई उपलब्ध गराएको हो। पानी जहाजबाट भारतको कलकत्ता हुँदै नेपाल आइपुगेका ती बेड बेल्जियमबाट पठाइएको छ महिनामा पर्वत आइपुगेका हुन्।

‘यसरी नै विदेशबाट पठाइएका धेरै सामग्री बन्दरगाहमा हराउने गरेका भनेर विभिन्न जिल्लाका साथीहरूले सुनाउनुभएको थियो। हामीलाई पनि यहाँसम्म ल्याउन छ महिना लाग्यो। सबै सामान सुरक्षित रूपमा आएका छन्,’ अस्पताल विकास समितिका अध्यक्ष पहाडीले भने, ‘राष्ट्रिय सभाका अध्यक्षज्यू सहित सचिवालय र बेल्जियममा रहनुभएका नेपालीहरूको अथक प्रयासबाट यति महँगो मूल्यका सामग्रीहरू पाउन सफल भएका छौँ।’

मङ्सिर १४ गते ती बेड अस्पतालमा आइपुगेका भए पनि तत्कालै भने भने जडान हुने छैनन्। पर्वत अस्पतालमा बन्दै गरेको नयाँ भवन निर्माण कार्य पूरा भई प्रयोगमा आएपछि मात्रै ती बेड प्रयोगमा ल्याइने भएको छ।

साथै ती बेडहरू फिटिङ गर्न सहयोग दिएको युनिभर्सिटी हस्पिटलकै प्राविधिकहरूको टिम आउने र उनीहरूले औपचारिक रूपमा पर्वत अस्पताललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेकोले पनि केही महिनाभित्र बेडहरू प्रयोगमा आउनेछन्।

विद्युतमा जोडेपछि मात्र बेडका सबै सुविधा प्राप्त गर्न सकिने बताउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटाले ती बेड रिमोटबाट नियन्त्रणमा रहने जानकारी दिए।

बिरामी र चिकित्सकको आवश्यकताअनुसार ती बेडका दुवै छेउ वा बीचको भागलाई छुट्टाछुट्टै उठाउन मिल्छ। बेडमा जान नसक्नेका लागि होच्याउन मिल्ने तथा स्वास्थ्यकर्मीको सहजताका लागि अग्लो बनाउन मिल्नेलगायत सुविधा बेडमा राखिएका छन्।

‘यी बेडमा राखिएका बिरामीलाई निकै सजिलो हुनेछ। बिरामीलाई उठाउन सुताउने काम बेडले नै गर्छ। शरीरको कुनै भाग मात्रै उठाउनुपरे पनि बेड नै हाई एन्ड लो हुन्छ,’ उनले भने, ‘यस्ता अत्याधुनिक बेडहरू पर्वत अस्पतालले पाउनु भनेको निकै गौरवको कुरा हो। यसको व्यवस्थापनका लागि खट्नुभएका सबैलाई बिरामीको आशीर्वाद लाग्ने छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.