|

सल्यान : सशस्त्र द्वन्द्वको थिलोथिलो भएको सल्यान गुराँसेलाई युद्ध पर्यटकीय क्षेत्र विकास गरी नमुना गाउँ बनाउने घोषणा गरिएको धेरै वर्ष भयो। द्वन्द्वमा पिल्सिएको गाउँलाई शान्ति प्रक्रियापछि नमुना गाउँ बनाउने कार्यक्रम आए पनि युद्ध पर्यटकीय क्षेत्रको विकासले भने गति लिन सकेको छैन। 

२०५७ र २०५९ जेठ २९ गते गुराँसेमा स्थानीय २ सहित ११ जनाको ज्यान जाने गरी ठूलो भिडन्त भएको थियो। भिडन्तमा धेरै मानिस घाइते भएका थिए। गुराँसेसहित आसपास क्षेत्रमा ७० घरमा आगजनीसमेत भएको थियो।

जलेका र भत्केका घर ओत लाग्ने बनाउन गुराँसेवासीलाई एक वर्षभन्दा धेरै लागेको थियो। २०६३ मंसिर ५ मा राज्य र माओवादीबीच शान्ति सम्झौता भएपछि पीडितलाई राहत र क्षतिपूर्ति दिने कार्यक्रम बनेका थिए।

ठूलो क्षति भोगेका गाउँमा सरकारले ‘नमुना गाउँ बनाउने’ कार्यक्रमअन्तर्गत गुराँसेलाई पनि छनोट गरे पनि घोषणाको डेढ दशक बितिसक्दा पनि गुराँसेले मुहार फेर्न नसकेको स्थानीय तेजबहादुर योगीले बताए। उनका अनुसार सडक र बिजुलीलगायत पूर्वाधारको कामको सुरुवात भए पनि थप काम भएको छैन।

द्वन्द्वपीडित राम बहादुर बस्नेत नमुना गाउँ घोषणा भएपछि द्वन्द्वमा आफन्त, घरबास गुमाएका र घाइते भएकाको घाउको मलम लगाउन आय आर्जन र रोजगारमूलक कार्यक्रम आवश्यक भएको बताउँछन्। 

नमुना गाउँ विकास लागि तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयले ३ करोड बजेट उपलब्ध गराएको थियो। निर्माण उपभोक्ता समितिका अध्यक्ष चित्रबहादुर केसीले सुरुको चरणमा सडक बिजुली बत्ती, विद्यालय भवन, सहकारी भवन निर्माण गरेको बताए। रोजगारीसहित अवसर आउला भन्ने आस गरेका पीडित अहिले निराश रहेका उनले बताए। 

छत्रेश्वरी गाउँपालिकाले भने युद्ध पर्यटकीय क्षेत्रलाई विकास गर्न गुरुयोजनाका साथ जाने बताएको छ। पर्यटक भित्र्याउन द्वन्द्वकालमा भएका र बनाइएका संरचनाको संरक्षण र सम्वर्द्धन गरी बजेट विनियोजन गरी डिपिआरको काम भइरहेको गाउँपालिकाले जनाएको छ।

छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले युद्ध पर्यटन गुरु योजनामा युद्धकालमा भएका गतिविधि, संरचनाको अवस्था, गर्नुपर्ने काम र यस क्षेत्रको धार्मिक, सांस्कृतिक पर्यटनलाई प्राथमिकता दिएर योजना निर्माण गर्ने गरी तयारी भएको बताए।

भने, ‘युद्धको समयमा प्रयोग भएका हातहतियार, युद्ध प्रभावित जनमानसको जीवनस्तर, घाइते भएर अंगभंंग भएका व्यक्ति, गोलीका निसानी अहिले पनि छन्। युद्धका अवशेष, अध्ययन, अनुसन्धान गरी यसलाई जोगाउन सके गुराँसे महत्वपूर्ण स्थान बन्ने छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.