|
फाइल फोटो

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनताबाट विस्थापित शक्तिहरुले पुनःस्थापित नसोच्न आग्रह गरेका छन्। 

पछिल्ला दिनमा गणतन्त्रको विरोध गर्दै देशभर राजतन्त्र र हिन्दु राज्यको पक्षमा निरन्तर प्रदर्शन भइरहेको घटनालाई लिएर प्रवक्ता श्रेष्ठले सोमबार यस्तो बताएका हुन्। 

प्रतिगामी शक्तिले नेपालमा पुनः सफलता प्राप्त गर्ने नसोचे हुने उनको तर्क छ। ‘प्रतिगामी शक्तिले नेपाल सफलता प्राप्त गर्ने नसोचे हुन्छ। निश्चित रुपमा लोकतान्त्रिक अभ्यासको क्रममा केही कमि कमजोरी भएको हुनसक्छ', उनले भने, 'त्यसका लागि आवश्यक समीक्षा गरेर अघि बढ्छौँ।’

सुरुवाती समयमा छिटफुट राजतन्त्रका नारा लागे पनि दोस्रो संविधानसभा निर्वाचनपछिको संविधान लागू भएपछि राजतन्त्रवादीहरु सडकमै प्रदर्शनमा उत्रिएका थिएनन्।

तर, पछिल्ला केही समययता राजतन्त्रको नारा अलि बढी लाग्दै आएको छ। मानिसहरु नेपालको झण्डा बोकेर राजतन्त्रको समर्थनमा सडकमै उत्रिन थालेका छन्। २४० वर्ष लामो राजतन्त्रात्मक शासन व्यवस्था ढालेर २०६५ सालमा आएको गणतन्त्र विरुद्ध हाल सयौँ मानिस राजतन्त्र फर्काउने भन्दै सडक प्रदर्शनमा उत्रिएका हुन्। 

गणतन्त्र स्थापनापछि पनि नागरिकको माग पूरा नभएको भन्दै उनीहरु आक्रोशित बन्दै गएका छन्। कतिपयले त प्रमुख राजनीतिक दलले देशलाई भ्रष्टाचारको दलदलमा डुबाउन खोजेको भन्दै राजतन्त्रको पक्षमा देशभर अभियान चलाउन थालेका छन्।

जनआन्दोलन २०६२/६३ पछि २०६५ जेठ १५ गते नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको थियो। तर‚ गणतन्त्र स्थापनाको ११ वर्षमै पुनः राजतन्त्रको माग गर्नेहरुको आवाज बुलन्द हुन थालेको छ। मंसिर २० गते काठमाडौंमा राजावादीहरुले बृहत् प्रदर्शन तयारी गरिरहेका छन्। 

यसमा थुप्रै सामाजिक संस्थाहरुको उपस्थिति रहने उनीहरुको दाबी छ। त्यसकै पूर्व तयारीका लागि काठमाडौंसहित यसअघि पोखरा, धनगढी, हेटौंडा, वीरगञ्ज र बुटवलसहित देशभर व्यापक प्रदर्शन भइसकेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.