सयाैं लिटर अखाद्य तेल बरामद, ट्यांकर जफत गरी मिल नै सिल

|

सिमरा : अम्लेखगञ्ज–हेटौडा राजमार्गको छेउमा जस्ताले बारेको सानो टहरो। टहरोभित्र एक छेउमा ८/१० बोरा तोरी। लामो समयदेखि सञ्चालनमा नआएको खियाले खाएको पुरानो मिल। त्यहीसँगै भण्डारण गरेर राखिएको आयातीत तोरीको तेल भनी ‘त्रिदेव’ ब्रान्ड नाम उल्लेख गरिएको तेल।

सर्वसाधारणलाई झुक्काउने गरी तोरीका बोरा र मिल देखाएर अखाद्य, मिसावट र दूषित तेल बिक्री गर्दै आएको यो कैलाश धारा तेल मिल अम्लेखगञ्जको दृष्य हो।

सर्वसाधारणको गुनासोका आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रादेशिक कार्यालय जनकपुर, उपभोक्ता हित संरक्षण मञ्च र स्थानीय प्रशासनको रोहबरमा मंगलबार तेल मिलमा अनुगमन गर्दा तोरीको तेल भनेर अखाद्य, मिसावटयुक्त र दुर्गन्धसमेत भएको तेल बिक्री गरेको भेटिएको हो।

जिल्ला प्रशासन कार्यालय नवलपरासीले केही दिनअघि त्यही कम्पनीको ७ सय कार्टुन तेल नष्ट गरेको घटना सार्वजनिक भएपछि यो तेल उत्पादक कम्पनी खोज्दै जाँदा अम्लेखगञ्जको झाडीभित्र सानो टहरोमा गोप्य रुपमा आयातित तेललाई मिसावट गरी प्याकिङ गरेको अवस्थामा भेटिएको हो।

अनुगमनका कम्रमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले तेल नमुना संकलन गरी बिक्री वितरणमा रोक लगाएको छ भने तेल ट्यांकर र तेल उद्योगलाई सिल गरेको छ।

रौतहट ठेगाना भएका अशोक कुमार यादव सञ्चालक रहेको सो तेल उद्योगमा ४ सय २७ कार्टुन प्याकिङ तेल, बाहिर पाकिङमा गरी राखिएको पेट्रोलियम ट्यांकर, अन्य प्याकिङ गर्न बाँकी सयौं लिटर तेल बरामद भएको छ। 

झण्डै ४ वर्षदेखि सञ्चालनमा रहेको यो उद्योगले तोरीको भनी मिसावटयुक्त अखाद्य तेल बिक्री गर्दै आएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रादेशिक कार्यालयका प्रमुख विजय खनालले अखाद्य तेल बेच्नेलाई नमुना परीक्षण प्रतिवेदनका आधारमा  तत्कालै कारबाहीको दायरामा ल्याउने  बताए।  ‘हाललाई हामीले शंकाको घेरामा राखेर उद्योग र ट्यांकरलाई सिल गर्यौं, अब प्रयोगशाला प्रतिवेदनका आधारमा कारबाही बढाउँछौं’, खनालले भने।

'त्रिदेव' ब्रान्ड नाम उल्लेख गरिएको तेलको मुख्य बजार चितवन र नवलपरासीमा भएको उद्योगमा काम गर्ने कर्मचारीले जनाए। हाल बजारमा शुद्ध तोरीको तेल प्रतिलिटर साढे २ सयदेखि ३ सय रुपैयाँसम्म छ। तर कैलाश तेल उद्योगले तोरीको तेल उल्लेख गरेर दुर्गन्धित मिसावटयुक्त तेललाई डेढ सय रुपैयाँ प्रतिलिटरमा बेचिरहेको भेटिएको छ।

सिमरास्थित मिठाई पसलमा पनि अनुगमन

खाद्य  प्रविधि तथा गुण नियन्त्रण प्रादेशिक कार्यालय र उपभोक्ता हित संरक्षण मञ्चले सिमरास्थित ‘सिमरा स्विट्स हाउस’मा पनि अनुगमन गरी १० हजार मूल्य बराबरको अखाद्य मिठाइ नष्ट गरेको छ।

अनुगमन क्रममा भन्सार छली भारतबाट आयात गरिएका, र अत्याधिक रङ प्रयोग गरिएका  र खान अयोग्य पुराना प्याकिङ गरिएका मिठाइ नष्ट गरिएको हो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.