|

बैतडी : पञ्चेश्वर गाउँपालिका ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको छ। बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले झडप भएको पुष्टि गरेका छन्। स्थानीय युवाहरुको दुई समूहबीच प्रहरी चौकीमा झडप हुँदा पञ्चेश्वरका  ३० वर्षीय लोकेन्द्र चन्द घाइते भएका छन्। घाइतेको बैतडीमा उपचार हुन नसक्दा धनगढीमा रहेका माया मेट्रो अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ।

घाइते चन्दको टाउको  घाँटी, ढाडमा चोट रहेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए।​ गणमेश्वर मन्दिरमा लागेको मेलामा  महिला जिस्काएको निहुँमा दुई समूहबीच झडप भएपछि छलफलका लागि प्रहरी चौकीमा बोलाएका बेला पुनः झडप भएको बताइएको छ। 

चौकीमा झडप गर्नेमध्ये सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बैतडीले ६ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। अघिल्लो दिन मेलामा झडप गरेका दुई समूहलाई छलफलका लागि चौकीमा बोलाएका बेला चौकीमै झडप भएको हो। 'छलफलका क्रममा सहमति हुन नसकेपछि झडप भएको हो, उनले भने, ‘घटनाको विषयमा सोधपुछ गर्न उनीहरूलाई जिल्ला बोलाएका थियौं।’

घटनाको विषयमा अनुसन्धान भइरहेको र दोषीमाथि कानुनअनुसार कारबाही हुने प्रहरी नायव उपरीक्षक अधिकारीको भनाइ छ। झडपका क्रममा प्रहरी चौकीमा पनि तोडफोड भएको र  सामान्य क्षति भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.