किसान भन्छन्‌, 'किसानमारा मोदी सरकारलाई यसपटक छाड्दैनौं'

|

भारतका किसानहरू यतिखेर आन्दोलनमा छन्। आन्दोलनमा सहभागी किसानहरूको संख्या हेर्दा र व्यक्त गरिएका राजनीतिक, सामाजिक एवम् आर्थिक चासोलाई विश्लेषण गर्दा यो आन्दोलन निकै ठूलो हो।

तर, अनाज उब्जाउनेहरूको हकहितका लागि भएको यो आन्दोलन नै अहिलेसम्मको ठूलो भने होइन। उब्जाउनेहरू भोकै बस्नुपर्ने र ज्यान नै त्याग्नुपर्ने भारतका किसानहरूको बाध्यता दर्शाएको पिप्ली लाइव नामक चलचित्रले जो कसैको हृदयलाई विदारक अवस्थामा पुर्‍याइदिन्छ। 

यसपटक पनि यस्तै भएको छ। यसपालि पञ्जाबका किसानहरू महिनौंदेखि चलिरहेको यो आन्दोलनको अग्रभागमा छन् र देशैभरका किसानहरू यसमा जोडिँदै गएका छन्। 

अन्न उब्जाउनेहरूको आन्दोलन दबाउन सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले बर्बरता देखाएको छ। वृद्ध किसानहरूलाई सत्ताको निर्देशनमा प्रहरीले भाँडा हानिरहेका छन्। किसान आन्दोलन निस्तेज पार्न भाजपा नेतृत्वको सरकारले अर्धसैनिक बल (प्यारा मिलिट्री फोर्स) लाई खटाएको छ। 

अर्धसैनिक बलका एक जवानले आन्दोलनमा सहभागी एक वृद्ध किसानमाथि लाठी बर्साइरहेको दृश्यले किसान जनतामाथि भारतीय सत्ताउन्मादको चरम नमुना पेश गरेको छ। 

यो तस्वीर समाचार एजेन्सी पीटीआईका फोटो पत्रकार रवि चौधरीले खिचेका हुन्। अहिले यही तस्वीर विद्युतीय सामाजिक सञ्जालहरूमा छाइरहेको छ। 

शिख मूलका वृद्ध किसानमाथि प्रहरीले लाठी मार्दै गरेको यो तस्वीरले भारतीय राजनीतिमै रस्साकस्सी निम्त्याएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले किसानमाथि कसरी बर्बर दमन गरिरहेको छ भन्ने यो तस्वीरबाट प्रष्ट हुन्छ।

प्रतिपक्षी दलहरूले यो तस्वीरलाई उदाहरणका रुपमा पेश गर्दै मोदी सरकारमाथि निसाना साँधेका छन्। तर भाजपाका नेताहरू चाहिँ प्रहरीले हानेको लाठी किसानलाई नलागेको तर्क गरिरहेका छन्। 

बीबीसी हिन्दीका अनुसार केही दिनयता निकै ठूलो संख्यामा एकट्ठा भएका किसानहरू राजधानी दिल्लीको सीमामा आन्दोलनरत छन्। 

प्रदर्शनरत किसानहरूले मोदी सरकारले ल्याएको हलिया कानून खारेज हुनुपर्ने माग राखिरहेका छन्। यो कानून किसान विरोधी भएको उनीहरूले बताइरहेका छन्। 

किसानले जुन कानूनको विरोध गरिरहेका छन् : मोदी सरकारले भने त्यसलाई किसानहरूको हकमा सुधारको कदम दावी गरिरहेको छ। यो कानून कार्यान्वयनमा आउँदा कृषिमा निजी क्षेत्रको लगानी बढ्ने सत्ताधारी दलले बताउँदै आएको छ।

सरकारको यो दावीसँग असहमत किसानहरूको ठूलो लाम यतिखेर दिल्लीतर्फ बढ्दैछ। तर सरकारले दिल्ली आउने बाटोमा ठूलो संख्यामा प्रहरी र अधैसैनिक बल तैनाथ गरेको छ र किसानहरूमाथि धरपकड गरिरहेको छ। किसानहरूलाई तितरवितर पार्न सरकारले अश्रूग्याँस, पानीको फोहोरा र गोली प्रहार गरिरहेको छ। 

प्रदर्शन चर्किँदै गएपछि दिल्ली प्रहरीले किसानहरूलाई दिल्लीको बुराडी मैदानमा धर्ना तथा प्रदर्शन गर्न अनुमति दिएको छ। तर त्यहाँ जान किसानहरूले अस्वीकार गरेका छन्। उनीहरू दिल्ली प्रान्तसँगको सीमामै धर्नारत छन्।  

वयोवृद्ध शिखमाथि प्रहरीले लाठी बर्साएको दृश्य सिंघु बोर्डरको हो। यो घटना शुक्रबार घटेको थियो। 

यो तस्वीर भाइरल भएपछि धेरै मानिसहरूले सामाजिक सञ्जालमा जय जवान जय किसानको नारा लगाइरहेका छन्। यो नारा सन् १९६५ मा तत्कालीन प्रधानमन्त्री लालबहादुर शास्त्रीले तब लगाएका थिए: जब भारत र पाकिस्तानका बीच युद्ध चलेको थियो। त्यतिखेर शास्त्रीले देश निर्माणमा किसान र सैनिकको महत्वलाई दर्साउन यो नारा लगाएका थिए। 

प्रतिपक्षी कांग्रेस पार्टीका नेता राहुल गान्धीले ट्वीटरमा यो तस्वीर राख्दै लेखेका छन्, 'यो निकै दुःखद तस्वीर हो, हामीले नारा त जय जवान, जय किसानको लगायौं, तर आज प्रधानमन्त्री मोदीको अहंकारले जवानहरूलाई किसानविरुद्ध खडा गरिदिएको छ।'

भारतीय जनता पार्टीका आइटी सेल प्रमुख अमित मालवीयले राहुल गान्धीप्रति प्रतिवाद गर्दै तीन सेकेन्डको भिडियो अपलोड गरेका छन्, जहाँ उनले शिख वृद्धमाथि प्रहरीले हानेको लाठी नलागेको बताएका छन्। साथै उनले यो तस्वीरलाई एक प्रोपोगाण्डा भएको दावी गरेका छन्। 

तथ्यजाँच गर्ने बूमलाइवडटकमले भने अमितको दावीलाई गलत ठहर्‍याउँदै लामो अवधिको सो भिडियो सार्वजनिक गरेको छ। साथै, ती वृद्ध सुखदेव सिंहसँग कुराकानी पनि गरेको छ। 

घाइते भएका सुखदेवले आफूलाई दुई जवानले निर्घात कुटपिट गरेकोे बताएका छन्। 

यो तस्वीरले भारतलाई मात्रै नभई विश्वलाई नै तरंगित बनाइदिएको छ। शिखहरूप्रति सदाशयता राख्ने क्यानडाका वर्तमान प्रधानमन्त्री जस्टिन टुडोले भारत सरकारको यो रवैयाप्रति चिन्ता जनाएका छन्। साथै, मोदी सरकारप्रति उनले तिखो प्रतिक्रिया दिएका छन्। 

आन्दोलन चर्किँदै गएपछि मोदी सरकारले किसानहरूलाई वार्ताका लागि आह्वान गरेको छ। तर बुधबार बेलुकीसम्म कुनै निकास निस्किएको छैन। 

दिल्लीको सीमामा धर्ना दिने किसानहरूको संख्या झनै बढिरहेको छ। उनीहरूले सरकारद्वारा जारी कालो कानून फिर्ता नभएसम्म धर्नाबाट पछि नहट्ने बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.