ओली इतर नेता भन्छन् : बैठकमा नआए समाधान हुँदैन

|

काठमाडौँ : प्रधानमन्त्री केपी केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विवादले नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनतर्फ गइरहेको छ। विवाद समाधान गर्नका लागि बुधबार बोलाइएको सचिवालयमा प्रधानमन्त्री ओली सहभागी भएनन्। 

ओली सहभागी नहुँदा आज (बिहीबार)का लागि बोलाइएको स्थायी कमिटी बैठक समेत बस्‍न सकेन। प्रधानमन्त्री ओली बैठकमा नआएपनि अध्यक्ष दाहालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बैठक राखे। प्रधानमन्त्री ओलीबाहेक सचिवालयका ८ सदस्य सहभागी भए। 

अध्यक्ष दाहालले राखेको सचिवालय बैठकले शनिबार सचिवालय र आइतबार स्थायी कमिटीको बैठक बस्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

बुधबारको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएपछि शनिबार बोलाइएको बैठकमा आउनुपर्ने उनले बताए। ‘हिजो बैठकमा उहाँ आउनुभएन। एक अध्यक्षबिना बैठक बस्दा उपयुक्त नहुने भएकाले उहाँलाई शनिबारको बैठकमा आउन आग्रह गरेका छौँ’ उनले भने, ‘पार्टीभित्रको संकट समाधान गर्नका लागि छलफल र बहस आवश्यक छ।’ 

विवाद समाधानका लागि प्रधानमन्त्री ओली बैठकमा आउनैपर्ने स्थायी कमिटी सदस्य मातृका यादव बताउँछन्। ‘उहाँले यसअघि पनि बैठकका नआउने गर्नुभयो थियो। तर, बहुमत सदस्यको दबावपछि आउने गर्नुभएको छ। त्यसैले उहाँ बैठकमा आएर सबैसँग छलफल गरेमा सबै समस्या समाधान हुन्छ’, उनले भने। 

प्रधानमन्त्री ओली बुधबारको बैठकमा सहभागी नभएपछि २० गते सचिवालय र २१ गते स्थायी कमिटीको बैठक बस्ने निर्णय गरिसकेको अर्का स्थायी कमिटी सदस्य बेदुराम भुसाल बताउँछन्। 

‘उहाँ अब २० गते सचिवालयमा आउनुहुन्छ होला। सचिवालयमा छलफल हुन्छ। त्यसपछि २१ गते बस्ने स्थायी कमिटीले पार्टीभित्रको विवादको निकास निकाल्छ’, उनले भने, ‘उहाँ बैठकमा नआएर बहुमतले पार्टीको निर्णय गर्छ।’
 
पार्टीभित्रको विवादलाई लिएर सचिवालयमा झगडा गर्न किन जानु भन्‍ने लागेर बुधबारको बैठक नजानु भएको हुनसक्ने अर्का स्थायी कमिटी सदस्य हरिबोल गजुरेल बताउँछन्।

‘बुधबारको बैठकले उहाँलाई बैठकमा आउन आग्रह गरिसकेको छ। उहाँ अबको बैठकमा आउनुहुन्छ’ उनले भने, ‘पार्टीभित्रको विवादलाई लिएर सचिवालयमा झगडा गर्न किन जानु भन्‍ने लागेर नजानुभएको बुझेका छौँ। तर, २० गतेको बैठकमा उहाँ जानुहुन्छ भन्‍ने लाग्छ।’

पार्टीभित्रको विवादमा कसरी अघि बढ्ने भन्‍नेमा दुवै पक्षका नेताहरु आआफ्नो रणनीति बनाउन केन्द्रित भएको उनले तर्क गरे। 

विधानमा के छ? 

प्रधानमन्त्री ओलीले बैठकमा नआएपछि अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बहुमतले निर्णय गर्ने बताइरहेका छन्। 

‘एकताको राष्टिय महाधिवेशन, अधिवेशन र बैठकमा सबै विषयमाथि छलफल गर्दा जनवादी प्रक्रिया अपनाइनेछ। निर्णय प्रक्रियामा मत विभाजन भएमा बहुमतको निर्णय पार्टीको निर्णय हुनेछ,’ नेकपाको विधानको धारा ६० मा भनिएको छ। 

‘निर्णयमा असहमति हुने साथीहरुले आफ्नो असहमति एकताको राष्ट्रिय महाधिवेशन, अधिवेशन वा बैठक समक्ष लिखित रुपमा प्रस्तुत गर्नुपर्नेछ,’ विधानमा भनिएको छ, ‘फरक मत प्रस्तुत गर्ने आफ्नो मत छलफलमा लैजान माग गरेमा वा सम्बन्धित कमिटीले आवश्यक ठानेमा निर्णय कार्यान्वयन गर्ने गरी केन्द्रीय कमिटीको स्वीकृति मा विधि र प्रक्रिया खुलाई छलफलको अनुमति दिन सक्नेछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.