|

काठमाडौं : पञ्चायत कालका दिग्गज राजनीतिज्ञ नयनबहादुर स्वारको निधन भएको छ। बिहीबार ९३ वर्षको उमेरमा  काठमाडौंमा निधन भएको हो। वि.स १९८४ साल भाद्रमा अछाम जिल्लाको रिडिकोटमा जन्मिएका उनी पञ्चायत कालमा चार पटक २०२४/२०२९/ २०३६ र २०३८ मा राष्ट्रिय पञ्चायतको सदस्य भएका थिए।

 २०२५ असोजमा भूमिसुधार राज्यमन्त्री नियुक्त भएका स्वार २०३० साउनदेखि २०३२ मंसिरसम्म राष्ट्रिय पञ्चायतको अध्यक्ष रहेका थिए। २०३७ जेठमा कानुन तथा न्यायमन्त्री र २०३८ असारमा गृहमन्त्री नियुक्त भएका स्वार पञ्चायतको अन्तिम मन्त्रिमण्डल (२०४६ चैत) मा पनि केही समय गृहमन्त्री थिए। २०४६ सालपछि राप्रपामा केही वर्ष सक्रिय रहे पनि पछिल्लो समय भने निष्क्रिय थिए।

स्वार अछाममा सरकारी कार्यालय राख्ने मागको सुनुवाइ नभएपछि अछामको भ्रमणमा आएका राजा महेन्द्र चढेको घोडामा झुण्डिएर राजासमक्ष आफ्नो माग पुर्‍याउन सफल भएपछि पहिलो पटक चर्चामा आएका व्यक्ति हुन्। उनकै प्रयासले डोटी र दैलेखको प्रशासनिक नियन्त्रणअन्तर्गत बाँडिएका भेगहरूलाई जोडेर अछाम जिल्लाको गठन गरिएको थियो।

स्वार पहिलोचोटि २०१६ सालमा नेपाल राष्ट्रवादी गोरखा परिषदको तर्फबाट संसदको माथिल्लो सदन (महासभा) को सदस्य निर्वाचित भएका थिए। उनका श्रीमती दुई छोरा र दुई छोरी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.