|

भारतीय सिनेमा विस्तार भएको १०० औं वर्ष मनाइँदै थियो। सन्दर्भ विशेष भई शताब्दी भरका भारतीय सिनेमाहरूका उत्कृष्ट संवादहरू छुट्याइँदै थियो। उत्कृष्ट संवादहरूको शीर्ष १० को सूचिमा एउटा डायलग पर्‍यो, ‘कितने आदमी थे?’

यो संवाद थियो सन १९७५ मा प्रदर्शनमा आएको रमेश सिप्पी निर्देशित सिनेमा ‘शोले’को। यो संवाद बोल्ने पात्र थिए : सिनेमाका खलनायक 'गब्बर सिंह' अर्थात अमजद खान।

सिनेमा निर्माण भएर प्रदर्शनमा आएको आधा शताब्दी नजिक पुग्दापनि उनको यो संवादलाई हिन्दी सिनेमाको इतिहासकै उत्कृष्ट संवादको रुपमा मानियो।

एउटा संवाद उत्कृष्ट हुनमा त्यसलाई बोल्ने पात्र, पात्रको सिनेमामा रहेको भूमिका, उसको चरित्रसँगै बोल्ने व्यक्तिले फरक पारिदिन्छ। यी विशेषताहरूबाट अमजद खान वा भनौं 'गब्बर' सिंह अछुत रहने कुरा भएनन्‌। यिनै विशेषता आफूसँग भएका कारण 'गब्बर'ले सिनेमामा बोलेका ‘कितने आदमी थे?’, ‘अरे ओ साम्बर!’, ‘डर गया सो मर गया’ जस्ता संवादहरू अहिलेसम्म पनि धेरै दर्शकहरूको प्रिय संवादमध्येमा पर्छन्। कतिसम्म भने अहिले पनि ‘शोले’ सिनेमाका संवादहरूलाई लिएर मीमहरू बनिरहेका हुन्छन्।

यो लेख सिनेमामा भएको संवाद वा ती संवादमाथि भएको टिप्पणी र त्यसका परिणामहरूको बारेमा होइन। यो लेख यी संवाद बोल्ने ‘आइकनिक’ पात्रको बारेमा हो, जसको अभिनयका कारण शोले प्रदर्शनमा आएपछि उनको चर्चा सिनेमाका नायकको भन्दा बढी भएको थियो।

अमजद खानको जन्मलाई 'संयोग' मान्दा फरक पर्दैन। हिन्दी सिनेमाका खलनायकहरूमा पनि उत्कृष्ट रहेका अमजदको जन्म नै खलनायक [चलचित्रमा] को परिवारमा भएको थियो। उनका बुबा जयन्त अमजद ५०–६० को दशकमा भारतीय सिनेमाका चर्चित खलनायक थिए।

अमजदलाई शोलेमा गरेको 'गब्बर'को अभिनयपछि धेरैले चिने। तर, धेरैलाई थाहा नभएको कुरा चाहिँ निर्देशकको नजरमा 'गब्बर'को भूमिकाका लागि शोलेमा अमजद पहिलो रोजाइका थिएनन्। त्यो बेला निर्देशक र सिनेमा निर्माण समूहले अर्का भारतिय अभिनेता डैनीलाई यो भूमिकाको लागि लिन खोजेका थिए। तर, खानको सौभाग्य भन्नुपर्छ : 'डैनी' त्यो बेला ‘धर्मात्मा’को सुटिङमा व्यस्त थिए।

अर्कातिर, सिनेमा दुवै लेखकले अमजदलाई 'गब्बर'को भूमिकाका लागि उपयुक्त सोचका थिएनन्। रंगमञ्चको पृष्ठभूमिबाट आएका अमजद त्यो बेला नयाँ अनुहार थिए, चलचित्रकर्मीका लागि पनि र दर्शकका लागि पनि। उनको अभिनयले सिनेमाको खलनायकको भूमिकालाई कस्तो न्याय गर्ला र भन्ने संकोच थियो सिनेमाका दुवै लेखकमा। जावेद अख्तर (शोलेका एक लेखक)लाई त झन् 'गब्बर'को भूमिकाका लागि आवाजमा हुनुपर्ने दम नभएको भन्दै अमजदलाई कमजोर भएको संज्ञा दिएका थिए।

तर, निर्देशक रमेश सिप्पीको जिद्दीकै कारण अमजदले 'गब्बर'को भूमिका पाए। सायद, निर्देशक रमेश सिप्पीले त्यो बेला यो जिद्दी नगरेको भए आज हिन्दी सिनेमामा 'गब्बर' जस्तो पात्र र उनको जस्तो संवादहरूको लोकप्रियता फरक हुनेथियो।

डैनी, जसलाई शुरूवातमा शोलेमा 'गब्बर'को भूमिकामा लिन खोजिएको थियो, उनले  शोलेमा आफूले अभिनय गरेको भए भारतीय सिनेक्षेत्रले एक होनहार अभिनेतालाई गुमाउने कुरा गरेका छन्। डैनीले एक अन्तर्वार्तामा भनेका छन्, ‘यदि मैले शोलेमा अभिनय गरेको थिएँ भने हिन्दी सिनेमाले अमजदजस्तो होनहार अभिनेतालाई गुमाएको हुन्थ्यो।'

शोलेको 'गब्बर' पात्र बिना संकोच हिन्दी सिनेमाको लोकप्रिय र सबैभन्दा चर्चित सिनेपात्रहरू मध्येको हो। सिनेमा प्रदर्शन भएपछि 'गब्बर'को चर्चा सिनेमाका दुई नायक पात्र जय (अमिताभ बच्चन) र भीरु (धर्मेन्द्र)भन्दा पनि बढी भएको थियो।

तर, सिनेमाका नायकको भन्दा बढी चर्चित खलनायककै कारण प्रदर्शनको शुरूवाती दिनमा भने शोले सिनेमाको मजाक उडाइएको थियो, यो सिनेमालाई बेवास्ता गरिएको थियो। त्यो बेला सिनेमाको प्रोडक्सन र प्रदर्शनमा आउनुअघि गरिएको चर्चामा भएको खर्चका आधारमा शोले सर्वाधिक खर्चिलो फिल्‍म निर्माण भएको थियो। तर, शोलेले सिनेमा हलमा प्रवेश पाएपछि भने कतिपय हलहरू आधा मात्रै भरिएका थिए।

आर्थिक हिसाबले निकै खर्चिलो निर्माण भएको सिनेमाप्रति दर्शकले देखाएको कम चासोका कारण पूरै सिनेमा क्षेत्रलाई नै धक्का लाग्ने अवस्था सिर्जना भएको थियो। यसको कारण दर्शकले अमजदलाई नै मानेका थिए। भारतको सिनेमा क्षेत्रले नै शोले प्रदर्शन शुरूवाती दिनमा शोलेको असफलताको कारण अमजदलाई नै मानेका थिए। उनको आवाज, उनको व्यक्तित्वका कारण सिनेमा असफलतातर्फ उन्मुख भएको भन्ने आलोचना भइरहेको थियो।

त्यो बेला भारतीय सिनेमाका दर्शकहरूमा अमिताभ र धर्मेन्द्रको क्रेज अत्याधिक थियो। अहिले शोले हेर्दा 'गब्बर' सिंहका संवादहरूमा, जहाँ हातहरू जोडिएर ताली बज्न चाहन्छन्, प्रदर्शनको शुरूवाती दिनमा त्यही सीनमा सन्नाटा छाउँथ्यो। कारण थियो : एक नयाँ अनुहार, अपरिचित अनुहार, त्यसमाथि खलनायकको सिनेमाका दुई नायकलाई पछि पार्ने प्रस्तुती।

अमजदको अभिनय अत्याधिक उत्कृष्ट भएका कारण अमिताभ र धर्मेन्द्रका फ्यानहरूले फिल्‍मलाई बेवास्ता गरिरहेका थिए। जे जतिले सिनेमा हेर्थे : उनीहरूले पनि 'गब्बर'को प्रस्तुतिका दृश्यहरूमा मौनतालाई अंगालेर चुपचाप रहन्थे।

दर्शकहरूलाई शोलेको मुख्य पात्र 'गब्बर' भएको बुझाउन केही हप्ता लागेको थियो। जब दर्शकहरूले 'गब्बर'को रुपमा अमजद खानको भूमिकालाई बुझे, तब सिनेमा क्षेत्रमा एक खलनायकलाई नायकत्व प्राप्त भयो। नायक-नायिकाको भन्दा बढी चर्चा एक खलनायकको हुन थाल्यो।

चर्चाकै कारण पहिलो पटक सिनेमा र विज्ञापनको इतिहासमा ब्रिटानिया बिस्कुट कम्पनीको विज्ञापनमा एक खलनायकलाई चयन गरियो। अमजद खानलाई ब्रिटानियाले आफ्नो उत्पादन ‘पार्ले-जी’ बिस्कुटको विज्ञापनको लागि कास्ट गरेको थियो, जहाँ विज्ञापनको पञ्चलाइन थियो, ‘गब्बर की मन पसंद !’

अमजद खानले अरू सिनेमामा पनि अभिनय गरे। आफैंले केही सिनेमाको निर्देशन पनि गरे। तर, 'गब्बर' पात्रको सामुन्ने अरू सबैको उपस्थिति शून्यप्रायः भयो। तपाईं आफैंलाई प्रश्न सोध्नुहोस त, शोलेमा 'गब्बर' भूमिका बाहेक यी अभिनेतालाई तपाईंले के कतै देख्नु भएको थियो त?

सायदै याद आउनेछ तपाईंलाई। तर, एक ऐतिहासिक पात्रको जन्मसँगै एक खलनायकले नायकत्व प्राप्त गर्ने भूमिका रहेको 'गब्बर' सिंह भने स्पेगेटी वेस्टर्न सिनेमा बनाउने इटालियन निर्देशक सर्जिओ लियोनीका ‘द गुड, द ब्याड एण्ड द अग्ली’, ‘अ फिष्ट फुल अफ डस्ट’, ‘फर अ फिउ डलर मोर’ लगायतका सिनेमाका खलनायकहरूको मिश्रणमा थोरै हिन्दी मसला थपिएको पात्र थियो।

अन्ततः 'गब्बर' सिंह बिना संकोच एक पात्र बन्यो। जसले भारतीय सिनेकर्मीसँगै दर्शक मात्र नभएर भारतभन्दा बाहिरका दर्शकको मनमा पनि स्थान पायो। 'गब्बर' सिंह र उनको डायलग ‘कितने आद्‍मी थे?’ को चर्चा शोले सिनेमाको भन्दा कम भएन।

यो ऐतिहासिक पात्रले बोलेको सर्वाधिक चर्चित डायलगको लागि भने थुप्रै 'रिटेक' लिनुपरेको थियो। 'गब्बर'कै शैलीमा ‘कितने रिटेक थे?’ भन्ने प्रश्न गर्ने हो भने यसको जवाफ हुन्छ, ‘४० सरदार!’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.