|

काठमाडाैं : स्पेनिस ला लिगाअन्तगर्त आज राति ९ बजे रियल म्याड्रडि र सेभिल्लाबीच खेल हुँदैछ। 

खराब लयबाट गुज्रिरहेको रियल म्याड्रिडका लागि आजको खेल निकै महत्वपूर्ण हुनेछ। सेभिल्लाको घरेलु मैदान रामोन सान्चेजमा खेल हुँदै छ। रियलले पछिल्ला पाँचमध्ये केवल २ खेलमा जित निकालेको छ। यसअघिका तीन खेलमा जितविहीन बनेको रियलले च्याम्पियन्स लिगमा समेत साख्तर डोनेस्टेकसँग यसै सिजन दोस्रो पटक २–० को लज्जास्पद हार बेहोरेको थियो।

ला लिगामा रियलले यसअघि कमजोर मानिएको अलभेससँग १–२ गोलअन्तरले पराजय भोगेको थियो। अघिल्लो खेल भिल्लारियलसँग बराबरी गरेको उसले त्यसअघि भने भ्यालेन्सियासँग १–४ को नमिठो हार बेहोरेको थियो। मुख्य खेलाडीमा समस्या देखिएपछि रियलले पछिल्लो समय कमजोर प्रदर्शन गरिरहेको छ। 

यता सेभिल्ला पनि भर्खरै च्याम्पियन्स लिगमा चेल्सीसँग बेहोरेको नमिठो हारपछि लयमा फर्कने कोसिसमा छ। ​सेभिल्ला बिहीबार भएको खेलमा इंग्लिस क्लब चेल्सीसँग ०–४ गोलअन्तरले पराजित भएको थियो। 

जारी लिगमा रियल म्याड्रिड १० खेलबाट १७ अंक बनाई चौथो स्थानमा छ। आज जित हात पार्न सके ऊ तेस्रो स्थानमा उक्लिने छ। १६ अंक रहेको सेभिल्ला पनि आजको खेलमा जित दर्ता गर्दै चौथो स्थानमा उक्लिने दाउमा छ। 

लिगमा शीर्ष स्थानमा रहेको रियल सोसिडाडको भने ११ खेलबाट २४ अंक छ। त्यस्तै दुई खेल कम खेलेको एट्लेटिको म्याड्रिड भने हालसम्म अपराजित रहँदै २३ अंकका साथ दोस्रो स्थानमा छ। 

एट्लेटिकोले पनि आजै राति सवा ११ बजे भालाडोलिडसँग खेल्दै छ। आजको खेलमा जित हात पारे एट्लेटिको शीर्ष स्थानमा उक्लिने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.