संयोजक बन्‍न बामदेवद्वारा इन्कार

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभाजनको रेखा कोर्ने गरी देखिएको विवाद समाधानका लागि शनिबार बसेको सचिवालय बैठकमा नेता रामबहादुर थापा 'बादल'ले कार्यदल बनाउने प्रस्ताव गरे।

प्रधानमन्त्री केपी शर्मा ओली तथा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेतालाई समेटेर विवाद समाधानका लागि गृहमन्त्रीसमेत रहेका थापाले गरेको प्रस्तावमा नेताहरु सहमत नभएका हुन्। 

पार्टीमा देखिएको विवादका क्रममा हाल मध्यमार्गी भूमिकामा देखिइरहेका बादल एकजना निर्णायक नेता मानिन्छन्। विवादका क्रममा ओलीलाई साथ दिइरहेका बादलको प्रस्तावलाई प्रचण्ड-नेपाल समूहले ठाडै अस्वीकार गरिदिएको स्रोतले जनाएको छ। 

बादलले पार्टीका उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा कार्यदल गठन गर्ने प्रस्ताव गरेका थिए। तर गौतमले पनि कार्यदल संयोजक बन्न इन्कार गरेको स्रोतले जनाएको छ। 

यसअघि देखिएको विवादका क्रममा पनि महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल निर्माण गरिएको थियो। कार्यदलको प्रतिवेदनलाई टेकेर प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले भदौ २६ को स्थायी कमिटीको बैठकबाट सहमति निकालेका थिए। 

त्यस्तै अर्को कार्यदल बनाएर अघि बढ्नुपर्ने बादलको प्रस्ताव अस्वीकृत भएपछि नेकपा झन् झन् विग्रहतिर अघि बढेको देखिएको छ। आजको बैठकले भोलिलाई स्थायी कमिटी बैठक निर्धारण गरेको छ। तर प्रधानमन्त्री ओलीले उक्त बैठकको औचित्य नभएको भन्दै सहभागी नहुने छनक दिएका छन्। 

ओली बैठकमा उपस्थित नहुने भएपछि स्थायी कमिटीको बहुमतले उनलाई कारवाही गर्न सक्ने दिशामा नेकपाको विवाद अघि बढेको छ। ओलीले प्रचण्डको राजनीतिक प्रस्ताव फिर्ता भए मात्रै अघि बढ्न सकिने अडान लिएका छन्। 

उनले शनिबारको सचिवालय बैठकमा पनि आफूले अर्को महाधिवेशनसम्म अध्यक्ष र पाँच वर्ष नपुगी प्रधानमन्त्री पद नत्याग्ने पुरानै अडान लिएका छन्। तर दाहाल-नेपाल समूह उनीबाट एक पद कुनै हालतमा खोस्ने अभियानमा लागेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.