हामीभित्रै व्यावहारिक ज्ञान नआएसम्म आन्दोलनले मात्र हुँदैन

|

‘मातृ देवो भव:’मातृ अर्थात् महिला देवता समान छन्। भनिन्छ सृष्टिको सृजना देवताबाट हुन्छ, त्यसैले त एउटा मानव शरीरबाट मानव नै पैदा गर्ने मातृशक्ति देवता नै हुन्।अस्तित्त्वले शक्तिवान बनाएर सृजना गरेको महिला स्वभावमा हिंसा गर्ने दुस्साहस राख्नु कमजोरीको लक्षण हो।

भन्न त महिला कमजोर भएकाले महिला नै हिंसामा पर्छन् भनेर व्याख्या गर्ने गरिन्छ तथापि सही कुरो त आफूमाथि कुनै शक्ति हावी हुन्छ कि भन्ने भयको भावले दोस्रोलाई हिंसा पुर्याएर आफ्नो सन्तुष्टि प्राप्त गर्न खोज्नु कमजोरीको लक्षण हो। महिला हिंसा विरुद्दको १६ दिने अभियान चलिरहेको अवस्थामा हिंसा के हो र किन महिला नै हिंसामा पर्दछन् भन्ने कुरालाई खोतल्नु र यसलाई न्यूनीकरण गर्न प्रयास गर्नु सबैको दायित्त्व हो। 

आफ्नो स्वभावमा रहन सक्ने, सहज व्यक्ति सधैं प्रेमपूर्ण र करुणावान हुन्छ। मानिसमा जबसम्म व्यावहारिक शिक्षाको ज्ञान हुदैन तबसम्म बाहिरको आन्दोलन र प्रयासले हिंसा र अराजकता निर्मूल हुनेछैन। भित्रबाट ज्ञाननखुल्दासम्म व्यक्तिको आचरण र बानी व्यवहारमा परिवर्तन आउँदैन।

सरसर्ती हेर्दा समाजमा महिलामाथि हुने गरेका शारीरिक हिंसालाई हिंसाको रूपमा मानिन्छ तर महिलामाथि हुने गरेका मनोवैज्ञानिक हिंसा लुकेर रहेका हुन्छन्।

शारीरिक हिंसामा जबर्जस्ती करणी, शारीरिक शोषण, महिलाको अस्मिता माथिको आक्रमण जस्ता प्रवृत्तिहरू घटनाको रूपमा बाहिर आएका हुन्छन्। तर महिलामाथि हुने मनोवैज्ञानिक हिंसालाई गहिराईबाट बुझ्ने  कोशिस  गरिएको पाइन्न।

महिलाले आफूलाई इच्छा नलागेको, गर्न नसकेको र नचाहेको कुरालाई नो, हुन्न अर्थात् यसमा मेरो यस्तो मत छ भनेर आफ्नो विचार राख्न नपाउनु नै मनोवैज्ञानिक हिंसाहो। किन महिलाहरू आफ्ना कुरा स्वतन्त्ररूपमा अभिव्यक्त गर्न सक्दैनन् त ? यसका विविध कारणहरू छन्।

पुरुष कल्याणमित्र  बन्न  नसक्नु

महिलाको अस्तित्त्व र पहिचानलाई ख्याल गर्न घरबाट नै बुबाले, दाजुभाइले, श्रीमानले उनलाई शसक्त बनाउनुपर्ने हुन्छ। छोरी या दिदीबहिनीलाई सधैँ असुरक्षित देख्ने आदत भन्दा पनि उनलाई खुलेर हिंड्न, बोल्न, मन लागेको कुरा गर्न कसरी प्रेरित गर्ने ता कि उनलाई कसैमाथि परनिर्भर हुनु नपरोस्।

परनिर्भरताबाट मुक्ति पाउनु नै परस्पर निर्भरतालाई बलियो बनाउनु हो। पुरुष स्वभाव महिलाको कल्याण मित्र बन्न नसक्दा नै महिला र पुरुषबिच भिन्नता देखिँदै गएको छ। एक अर्कामा शक्ति र स्वभावको आधारमा फरक देख्नु, महिला हरतरहले कमजोर छन् भन्ने प्रमाणित गर्न खोज्ने र हरेक पक्षमा किनकि तिमी महिला हौ भन्ने परम्परागत धारणाको कारण महिलाको आत्मबल कमजोर बनिरहेको हुन्छ।

जब आत्मबल कमजोर हुन्छ तब आत्मविकासमा बाधा आउँछ। प्रकृतिले स्वतन्त्र रूपमा सिर्जना गरेको महिला शक्तिलाई समाजमा स्वतन्त्र हुन पुरुषको भूमिका रहनु नै महिलालाई खुलेर बाँच्न नदिने प्रयास हो। एउटा कमजोर प्राणीलाई सधैं सहाराको आवश्यकता पर्दछ।

महिलाको जीवनमा पुरुषको आगमन भनेको महिलाको सहारा भन्ने अर्थमा लिइएको छ र व्यवहार पनि त्यस्तै नै हुन्छ। एक आपसमा परस्पर निर्भर हुनेगरी कल्याण मित्रको रूपमा रहन सक्दैनन् पुरुषहरू? महिलालाई छुट्टै पहिचान दिनु परेन तर उनको आत्म मूल्यांकन, आत्मशक्ति, आत्मसम्मान, आत्मबोध, स्व-सुरक्षा, स्व-प्रेम, स्व-बोध र अन्याय प्रतिको प्रतिकारलाई सम्मान दिन जान्नुपर्दछ ।

विद्रोही स्वभाव

कुनै कुरा प्राप्त गर्न लडाइँ झगडा गर्नुपर्छ, चुनाव जित्नुपर्छ र कसैलाई पराजित गरेर मात्र आफू सफल या उच्च स्थानमा भईन्छ भन्ने विद्रोही भावना महिलाको नभएकोले महिला सधैं सहनशील प्राणीकै रूपमा रहन सकेका छन्। तर्कशील नहुनु, विद्रोह नगर्नु, मौन बस्नु पितृसत्तात्मक संस्कारमा कमजोरी मानिन्छ भने अस्तित्त्वगतरूपमा त्यो महिलाले प्राप्त गरेको साहसीगुणवत्ता हो।

मौनताको भाषा, अव्यक्त प्रेम, अकारण प्रेम, विना गणितको व्यवहार र आन्तरिक शक्ति जत्तिको ऊर्जा अरू के मा भेटिएला ? महिलाका लागि कानुन बन्नु, नीति नियममा महिलाको सम्बो‍धन हुनु र कुनै पनि दिवस या समारोह महिलाको नाममा जोडेर आउनु पुरुषवादी धारणालाई प्रतिक्रियावादी लाग्न सक्छ। यसको कारण व्यक्तिको मनोविज्ञानमा लुकेको हुन्छ। 

आफ्नो स्वभावमा रहन सक्ने, सहज व्यक्ति सधैं प्रेमपूर्ण र करुणावान हुन्छ। मानिसमा जबसम्म व्यवहारिक शिक्षाको ज्ञान हुदैन तबसम्म बाहिरको आन्दोलनले, बाहिरको प्रयासले हिंसा र अराजकता निर्मुल हुने छैन।भित्रबाट ज्ञान नखुल्दासम्म व्यक्तिको आचरणर बानी व्यवहारमा परिवर्तन आउँदैन।

मनका वृत्तिको कुनै लिंग हुँदैन, हिंसाको कुनै लिंग हुँदैन यो त व्यक्तिको अहंकारबाट निस्किने वृत्ति हो। वृत्ति अर्थात् स्वभावबाट नै प्रवृत्तिको विकास हुन्छ। घटना मनस्थितिबाट घट्छन् भने समाधान व्यक्तिले बाहिर खोजेको हुन्छ। भित्र हराएको चिज बाहिर खोजेर कहिले भेटिन्छ?

आज हामी अराजकताको समाधान बाहिरबाट खोजिरहेका छौं तर अराजकताको भावदशा आन्तरिकरूपमा विकास भइरहेको हुन्छ। बाधक मनस्थितिबाट साधकको स्थितिमा आउन सक्यो भने व्यक्ति विद्रोही भावबाट सहयोगी भावमा प्रवेश गर्दछ।

प्रेम कि युद्द?

महिला आक्रामक नहुनु, युद्द गरेर परिणाम आफ्नो पक्षमा लिन नखोज्नु कमजोरी होइन त्यो त प्रेमको अभिव्यक्ति हो। एउटा मातृत्वले सकेसम्म सहनशील भएर प्रेम नै प्रदान गरिरहेको हुन्छ।

अत्याचार महिलाको स्वभाव होइन त दोस्रोको अत्याचार सहेर पनि आफ्नो तर्फबाट प्रेम नै फैलाउन खोज्ने स्वभाव कुन अर्थमा कमजोर हुन्छ? अत्याचार त तब फैलिन्छ जब सुन्दरता, माधुर्यता, सम्यकतार सजगताको अभाव रहन्छ। युद्द, हिंसा, अराजकतालाई महिलाको प्रेम शक्ति नै प्रशस्त छ युद्दको आवश्यकता छैन।

 आफ्नो स्वभावमा रहन सक्ने, सहज व्यक्ति सधैं प्रेमपूर्ण र करुणावान हुन्छ। मानिसमा जबसम्म व्यावहारिक शिक्षाको ज्ञान हुँदैन तबसम्म बाहिरको आन्दोलनले, बाहिरको प्रयासले हिंसा र अराजकता निर्मूल हुनेछैन। भित्रबाट ज्ञान नखुल्दासम्म व्यक्तिको आचरण बानी व्यवहारमा परिवर्तन आउँदैन।

मानिस भट्किरहेको छ, प्रेम बाहिर खोजिरहेको छ, शान्ति कसैमा खोज्दैछ, प्रतिष्ठा कसैबाट पाउन चाहन्छ त्यसैको परिणाम आज समाज  र राष्ट्रले भोग्दैछ। यो कुराको ज्ञान व्यक्ति व्यक्तिमा र घर घरमा नआएसम्म हिंसा कायम रहने छ।

सह-अस्तित्त्व

सृष्टिको संरचनामा महिला र पुरुष अर्थात् पुरूष र प्रकृतिको सह-अस्तित्त्वलाई महसुस गर्न सकिन्छ भने व्यवहार र संस्कारमा विभेद कसरी सृजना भयो होला ? दुबैको योगदान विना सृष्टिको सम्भावना छैन। विभेदको विषय र संस्कार कसरी फैलियो ?

महिला पुरुष भनेको केवल जैविक भिन्नता बाहेक कुनै अरू कुनै मानवीय असमानता छैन। तैपनि, सामाजिक विभेद, समाजिक भूमिका, व्यवहार, संस्कृति परम्पराका कारणले असमानता विभेद विद्यमान रहि रहनुको पछाडी के कारण होला ? हामी हरेक क्षेत्रमा परिवर्तन चाहन्छौं भने यो परम्परागत सोचाईबाट परिवर्तन हुन् किन सकिरहेका छैनौँ ? के अराजकताको जड पित्तृसत्तात्मक सामाजिक बनावट नै हो ?

यसलाई सुधार गर्ने सम्भावना छैन, जरुरी छैन या कठिन छ? अशिक्षा, अज्ञानता, परम्परागत हानिकारक अभ्यास, सामाजिक मूल्य मान्यता महिलामाथि नै लागू हुनुको कारण महिलालाई कमजोर वर्गको रुपमा दृष्टिकोणमा परिवर्तन आउन नसकेको हो? अब उपचार व्यक्तिको मनोविज्ञानमा खोज्नु जरुरी छ।

महिला कानुन

महिलाको लागि कानुन छ तर जसलाई जानकारी हुनुपर्ने हो, भुइँ तहका महिलाहरू, तिनीहरू जानकार होलान् त? उल्लेखित कानुनलाई जस्ताको तस्तै उतार्ने हो भने थाहा लाग्छ।

 वि. सं २०६३ सालमा पुनर्स्थापित प्रतिनिधि सभामा पेश भएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव "आमा वा बावुमध्ये कसैको नामबाट पनि सन्तानले नागरिकता पाउन सक्ने ग्यारेन्टी गर्न, समानुपातिक सहभागिताको लक्ष्यमा पुग्ने कुरालाई ध्यानमा राखी हाललाई कम्तीमा एकतिहाई महिलालाई राज्यको सबै संरचनामा सहभागिताको ग्यारेन्टी गर्न, विभेदकारी कानुनको खारेजी गर्न, महिलाप्रति हुने गरेका हिंसाको अन्त्य गर्न"  लाई वि. सं २०६३ साल जेठ १६ का दिन तत्कालीन प्रतिनिधिसभाले सर्वसम्मत रुपमा पारित गरेको छ।

नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गर्ने संकल्प गरेको छ। संविधानको धारा १२ मा आमा वा बावुको नामवाट लैङ्गिक पहिचान सहितको नेपालको नागरिकता पाउन सक्ने व्यवस्था गरेको छ।

धारा ३८ मा महिलाको हकअन्तर्गत सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक, महिला विरुद्ध धार्मिक सामजिक सांस्कृतिक परम्परा प्रचलन वा अन्य कुनै आधारमा सामाजिक, मानसिक, यौनजन्य मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण नगरिने बताएको छ।

सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक, शिक्षा स्वास्थ्य, रोजगारी र समाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्नेहक, सम्पत्ति र पारिवारिक मामिलामा दम्पतिको समान हक हुने व्यवस्था संविधानले गरेको छ।

यस सन्दर्भमा धारा ८४(८),धारा, ९१ (२), धारा९२ (२), धारा१७६ (९), धारा१८२ (२), धारा२१५ (४),  धारा२१६ (४), धारा२२० (३), धारा२२२ (३), धारा२२३ (३)  ले राजनैतिक सहभागितामा विशेष महत्व राखेको छ। यस व्यवस्थाले सरकारका तीनै तहमा र गरिमामय उच्चपदहरुमा महिलाको उत्साहजनक प्रतिनिधित्व रहेकोछ।

धारा २५३मा भएको राष्ट्रिय महिला आयोगको व्यवस्थाले महिलाको हकहित प्रवर्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने अवस्था रहेको छ।

यिनको पूर्ण कार्यान्वयन एवं सरकारका नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनको लागि के कुराको अभाव छ, कति सकारात्मक रहेको छ र कति परिमार्जन गर्नुपर्ने छ भन्ने अनुगमन तथा मूल्यांकन कसले गर्ने ?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.