सर्लाहीका सबै उखु किसान काठमाडौं आउँदै

|

काठमाडौं : सर्लाहीका क्रिस्टल चौधरीले १२ कक्षा पास गरे। उनी इन्जिनियरिङ पढ्न चाहन्छन्। उनको पुस्तैनी पेशा नै उखु खेती हो।

तर, चिनी मिलले उनको परिवारलाई उखुको पैसा दिन आलटाल गरिरहेको छ। यसैकारण चौधरीको इन्जिनियर बन्ने सपना पनि सेलाउँदै गएको छ। चिनी मिलले उनको परिवारलाई तीन लाख रुपैयाँ तिर्न बाँकी छ।

तीन लाख रुपैयाँ नै उनको जीवनमा इन्जिनियर बन्ने सपनाको पहिलो आधारशिला हो। चिनी मिलले गरिरहेको बदमासीलाई सरकारले टुलुटुलु हेरिरहेको चौधरीको आरोप छ। अरू धेरै किसानहरूलाई पनि उखु मिलले पैसा दिएको छैन। उखुको बक्यौता रकम माग्दै किसानहरू यतिखेर माइतीघर मण्डलामा प्रदर्शनरत छन्।

'यो तीन लाख रुपैयाँ प्राप्त गरिएन भने घर गएर मैले बाबुले पुस्तैनीदेखि गरिआएको काम नै अङ्‌गाल्नुपर्छ, मेरो इन्जिनियरिङ पढ्ने सपना तुहिन्छ', चौधरी भन्छन्, 'यसकारण मेरो परिवारको तीन लाख रुपैयाँ पाउन म जुनसुकै आन्दोलन गर्न पनि तयार छु।'

चौधरीका हजुर बुबा र उनका बुबा अहिले सर्लाहीमै छन्। उनीहरूलाई अहिले धान भित्र्याउने चटारो छ। त्यो काम सकिएपछि परिवारका अधिका‌श सदस्य आन्दोलन गर्न काठमाडौं आउने चौधरी बताउँछन्।

अहिले उनी किसान आन्दोलनको मोर्चा सम्हालिरहेका छन्। उनी मात्र होइन, कयौं युवा आइतबार माइतीघर मण्डलामा आएका छन्।

महाजनको तीन बिघा जमिनमा उखु खेती गरिरहेको चौधरीको परिवारको दैनिकी चलाउने आधार पनि उखु नै हो। उखुबाट आम्दानी गरेर चौधरीलाई इन्जिनियरिङ पढाउने सपना चिनी मिलले तुहाइदिने जोखिम छ।

उनी भन्छन्, 'यो आन्दोलनले किसानको माग सम्बोधन गर्नुपर्छ, आफ्नै पसिनाको मूल्य पाउँन पनि भीख मागे जसरी सरकारसँग हार-गुहार गरिरहनुपरेको छ।'

यसअघि जे जस्तो भएपनि यो वर्ष आफूहरूको माग सरकारले सुन्नेमा उनी आशावादी छन्। परिवार र उनको जिन्दगीको नयाँ यात्राका लागि आफूहरूको माग सम्बोधन गरिनुपर्ने उनको ठहर छ। उनी भन्छन्, ऋण गरेर परिवारले पढाउन सक्दैन, सरकारले पनि हाम्रो सुनुवाई गरेन भने म जस्ता धेरै किसानको जिन्दगी डामाडोल बन्छ।'

हरेक वर्ष चिनी मिलले आफूहरूलाई ठगी रहेकोले आफ्नो परिवार झन बिचल्लीमा पर्दै गएको उनले बताए। 'उखु नै परिवारको आम्दानीको मूख्य श्रोत भएर ऋण धन गरेको भएपनि खेती गरिरहेका थियौं। तर, अचेल चिनी मिलले आफूहरूलाई घात गरेपछि उखु खेतीप्रति मोहभंग हुदैँ गएको छ,' उनले थपे।

विभिन्न चिनी उद्योगहरूबाट चौधरी परिवार जस्तै सयौं किसानको करिब ९० करोड रुपैयाँ रकम उठ्न बाँकी छ। 'जनताको सरकार' भनेर पटक पटक भाषणबाजी गरिरहने प्रधानमन्त्री केपी शर्मा ओली, कृषि तथा पशुपन्छी विकास मन्त्री  घनश्याम भुसाल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले किसानको यो माग सुनुवाई गर्न कत्तिको गम्भीर रहलान्‌, आफैँपनि प्रतिक्षामा रहेको चौधरीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.