|

इलाम : सरकारी अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि उपजको अन्तर्राष्ट्रिय बजारलाई कोरोना कहरले प्रभाव पारेन। नेपालबाट निर्यात हुने कृषिजन्य उत्पादन अलैंची, अदुवा, चियालगायतका वस्तुहरुको निर्यात कोरोना महामारीबीचमा पनि बढेको छ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार गत आर्थिक वर्षको पहिलो चौमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात बढेको छ। नेपालबाट निर्यात भएको वस्तुको ५.८ प्रतिशत हिस्सा ओगटेको चिया गत वर्षको तुलनामा अन्तर्राष्ट्रिय बजारमा मूल्यसँगै निर्यातमा समेत बढेको छ। 

गत वर्षको चौमासिकमा १ अर्ब १६ करोड ८८ लाख ९६ हजार रुपैयाँ बराबरको ४४ लाख ६ हजार ९८५ किलो चिया निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ३३ करोड ४ लाख ४७ हजार रुपैयाँको ७४ लाख १० हजार ३८६ किलो निर्यात भएको छ। गत वर्षको पहिलो चार महिनामा प्रतिकिलो औसतमा २६५ रुपैयाँ पाएका निर्यातकर्ताहरुले चालु आर्थिक वर्षमा ३१४ रुपैयाँभन्दा पाएका छन्।

यस्तै, अलैंची निकासी पनि बढेको छ। यस वर्ष अलैंचीको उत्पादन बढेसँगै अन्तर्राष्ट्रिय बजारमा निर्यात पनि बढेको छ। गत आर्थिक वर्षको पहिलो चार महिनामा १९ लाख १३ हजार ५५७ किलो अलैंची विभिन्न देशमा निर्यात हुँदा एक अर्ब ५४ करोड ६ लाख ५२ हजार रुपैयाँ भित्रिएको थियो। यस वर्ष सोही अवधिमा २५ लाख ६२ हजार किलो निर्यात हुँदा दुई अर्ब ३ करोड ४५ लाख २५ हजार रुपैयाँ भित्रिएको छ। गत वर्षको प्रतिकिलो औसतमा ७९४ रुपैयाँ बिक्री भएको अलैंची चालु आर्थिक वर्षमा ८०५ रुपैयाँभन्दा बढीमा बिक्री भएको छ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा ३९ लाख ५० हजार ७०० किलो अदुवा निर्यातबाट २१ करोड ९९ लाख ४९ हजार रुपैयाँ नेपाल भित्रिएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ करोड ३२ लाख ५४ हजार रुपैयाँ बढी हो। गत वर्ष ३४ लाख ८२ हजार ५०५ किलो अदुवा निर्यातबाट १६ करोड ६६ लाख ९५ हजार रुपैयाँ नेपाल भित्रिएको थियो।

घट्यो आयात

बिलासिताको वस्तु आयातमा बर्सेनि खर्च हुँदै आएको नेपाली रुपैयाँ गत आर्थिक वर्षको चार महिनाको तुलनामा केही कमी आएको छ। आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिनामा ४ खर्ब ५० अर्ब २९ करोड ८९ लाख दुई हजार रुपैयाँ विभिन्न बस्तु आयातमा खर्च भएकामा चालु आर्थिक वर्षमा ४७ अर्ब ८० करोड ८७ लाख २५ हजार रुपैयाँले घटेको हो। चालु आर्थिक वर्षमा ४ खर्ब करोड २ अर्ब ४९ करोड १ लाख ७८ हजार रुपैयाँ आयात भएको छ। 

नेपालले बाहिरी मुलुकबाट आइरन स्टिल्स, पेट्रोलियम पदार्थ, मेसिनरी पार्टस्, सवारीसाधन, इलेक्ट्रोनिक्स, सुन, चाँदीलगायतका वस्तुहरु आयात हुने गरेको छ।

सुन आयात बढ्यो चाँदी घट्यो

बिलासिताको बस्तु मानिएको सुनको नेपालमा आयातमा भने कमी आएको छैन। नेपाली आयात हुने वस्तुको १६ औं स्थानमा रहेको सुन चार महिनाको अवधिमा चीन अर्ब ६८ करोड ८ लाख २९ हजार रुपैयाँ बराबरको नेपाल भित्रिएको छ। जुन अघिल्लो वर्ष सोही अवधिमा २ अर्ब ८० करोड ५२ लाख ५६ हजार रुपैयाँ रहेको थियो। चालु आर्थिक वर्षमा सुनले कुल आयातको ०.८ प्रतिशत हिस्सा ओगटेको छ।

त्यसैगरी २४ औ स्थानमा रहेको चाँदीमा खर्च चालु वर्षको चार महिनामा घटेको छ। आर्थिक वर्ष २०७६/७७ मा ४ अर्ब ७७ करोड ९७ लाख ८६ हजार रुपैयाँ चाँदी आयातमा खर्च भएकोमा यो वर्ष सोही अवधिमा ३ अर्ब ४५ करोड ९४ लाख ८४ हजारले घटेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.