|

स्पेनिस ला लिगा फुटबलमा बार्सलोनाले भालाडोलिडमाथि सहज जित निकालेको छ। 

जोस जोरिल्ला मैदानमा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि ३-० को जित निकालेको हो। बार्सिलोनाले खेलको २१ औं मिनेटमै अग्रता बनाएको थियो।  क्लिमेन्ट लेग्लेन्टले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। त्यस्तै ३५ औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल थप्दा पहिलो हाफमा बार्सिलोनाले दुई शुन्यको अग्रता लियो। 

दोस्रो हाफमा मेस्सीले गोल थपे। उनले खेलको ६५ औं मिनेटमा पेड्रो गोञ्जालेजको पासमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे। यो सँगै उनले महान ब्राजिलियन खेलाडी पेलेको कीर्तिमानलाई पछि पारेका छन्।

उनले बार्सिलोनाका लागि ६४४ औं गोल गर्दै एउटै क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन्। अघिल्लो खेलमै उनले पेलेसँगको कीर्तिमानलाई बराबरी बनाएका थिए। पेलेले ब्राजिलियन क्लब सान्टोसबाट १९ सिजन खेल्दै ६४३ गोल गरेका थिए।

जितसँगै १४ खेलबाट २४ अंक जोडेको बार्सिलोना अंकतालिकाको पाँचौं स्थानमा छ। त्यस्तै १४ अंक जोडेको भालाडोलिड १८ औं स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.