|

कोरोना (कोभिड–१९) महामारी अन्टार्टिका महादेशमा पनि फैलिएको छ। यो महादेश अहिलेसम्म कोरोनाको चपेटाबाट बचेको थियो। 

अन्टार्टिका महादेश बरफले ढाकिएको छ। यसैको प्रायद्विपमा रहेको बर्नार्डो ओहिगिन्स रिसर्च स्टेशनमा रहेको ३६ जनामा कोरोना संक्रमण भएको हो। 

चिली सेनाले अन्टार्टिकामा कोरोना फैलिएको पुष्टि गरेको छ। त्यहाँ रहेका संक्रमितमध्ये २६ जना सैनिक भएको र १० जना मर्मतसम्भारमा संलग्न कर्मचारी भएको बताइएको छ। संक्रमित सबैलाई चिलीमा फर्काइएको छ। 

यो खबर पुष्टि भएसँगै अब विश्वका ७ वटै महादेशमा कोरोना फैलिएको थाहा भएको छ। 

सरहेन्तो आल्दिया नाम गरेको जहाज नोभेम्बर २७ मा अन्टार्टिकामा रहेको सो स्टेशनमा पुगेको र डिसेम्बर १० मा फर्किएको थियो। 

चिलीको टेलकुआनो शहरस्थित नौसेनाको अखडाबाट निस्केको या जहाजका तीन जना चालकदल सदस्यमा कोरोना पोजिटिभ देखिएको थियो। 

सो रिसर्च स्टेशन अन्टार्टिकामा रहेका ४ वटा स्थायी शिविरमध्ये एक हो। स्टेशनलाई चिली सेनाले सञ्चालन गर्दै आएको छ। 

चिली दक्षिण अमेरिकामा कोरोनाबाट बढी प्रभावित मुलुकको छैठौं स्थानमा छ। त्यहाँ अहिलेसम्म ५ लाख ८५ हजार मानिस संक्रमित भइसकेका छन्। 

अन्टार्टिका क्षेत्रमा अनुसन्धान गरिरहेको बेलायती संस्था ब्रिटिस अन्टार्टिक सर्वेले कोरोना भाइरसका कारण गत अगस्टदेखि नै त्यहाँ काम घटाएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.