|

जनकपुर : नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले न्यायालयमाथि विश्वास नगर्ने माधव–प्रचण्ड समूहले संविधानको कुरा गर्न नसुहाएको बताएका छन्।

मंगलबार नेकपा जिल्ला कमिटी धनुषाले जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले  नेपाल(प्रचण्ड समूहले अदालतमा विचाराधीन विषयलाई लिएर आन्दोलन गरी न्यायालयको पनि अपमान गरेको जिकिर गरे।

एकातिर न्यायालयलाई छिनोफानो गर्ने जिम्मा दिने र अर्कोतिर सडकमा प्रदर्शन गर्नु जनतालाई दिग्भ्रम गरी अस्थिरता निम्त्याउने खेल मात्र भएको नेता साहको बुझाइ छ।

'यदि संसद विघटन असंवैधानिक हो भने अदालतमा रिट परिसकेको अवस्थामा अलिकति पनि धैर्य धारण नगरी आन्दोलन किन गर्नुपरेको हो? म सोध्न चाहन्छु माधव नेपाल र प्रचण्डलाई। कि त भन्नुपर्यो तपाईहरुलाई न्यायालयमाथि विश्वास छैन। नेता साहले भने, 'तर यसरी अदालत पनि गुहार्ने र सडकमा नाटक मञ्चन गर्ने दोहोरो चरित्र देखाएर जनतालाई दिग्भ्रम गर्ने कार्य बन्द गर्नुस्। न्यायालयमाथि विश्वास नगर्नेले संविधानको कुरा गर्न सुहाउँदैन।'

साथै नेता साहले संसद विघटन संवैधानिक भएको तर त्यसबाट आफू खुशी भने नभएको धारणा व्यक्त गरे। नेता साहले संसदको ६२ प्रतिशत सांसद प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा रहेको अवस्थामा अर्को सरकार बन्ने सम्भावना नभएको संविधानत: संसद् विघटन गरिएको बताए।

कार्यक्रममा नेकपा सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्थायी कमिटी सदस्यहरु रघुवीर महासेठ एवं सत्यनारायण मण्डल, प्रदेश कमिटीका सचिव सुमन प्याकुरेल, कानुन मन्त्री लीलानाथ श्रेष्ठ, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुली महासेठलगायतका नेता–कार्यकर्ताको उपस्थिति थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.