|

काठमाडौं : वरिष्ठ पत्रकार कौशल चेम्जोङद्वारा लिखित ‘उदयपुरको इतिहास’ नामक पुस्तक विमोचन गरिएको छ। नेपालको शताब्दीपुरुष तथा इतिहासविद् सत्यमोहन जोशीले चेम्जोङद्वारा लिखित ‘उदयपुरको इतिहास’ नामक पुस्तकको बुधबार काठमाडौंमा विमोचन गरेका हुन्।

जोशीले विमोचन गर्दै उदयपुरको इतिहास नेपालको इतिहास भएको बताएका थिए। ‘यस पुस्तकले उदयपुरको गहन इतिहास मात्र बोकेको छैन्,’ उनले भने, ‘यसमा अहिलेको आधुनिक नेपालको इतिहास समेत जोडिएको छ।’ जोशीले लामो अध्यायन, खोज र अनुशन्धान प्रष्ट रुपमा पुस्तकमा झल्किएकाले यो नेपालकै इतिहासमा दर्ज हुने दाबी गरे।

यसैगरी, विमोचन कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका इतिहास विभाग प्रमुख प्राध्यापक डक्टर राजकुमार पोखरेलले नेपालको इतिहासमा एउटा अर्को अध्याय थपिएको बताए। उनले वरिष्ठ पत्रकार चेम्जोङ पत्रकारबाट अब, इतिहासकार पनि भएको सावित भएको भन्दै भने, ‘पुस्तक महत्वपूर्ण रहेको छ।’

यसैगरी पुस्तकको समिक्षा गर्दै प्राध्यापक डाक्टर बिजय मिश्रले विविध महत्वपूर्ण दस्तावेज तथा एतिहासिक सामग्रीहरुकासाथ इतिहास् प्रस्तुत गरिएको बताए। उनका अनुसार पुस्तकमा नेपालको इतिहासमा मानव सभ्यता, एतिहासिक लडाई, विविध राज्यहरु उदयपुरसंग जोडिएको प्रमाण पेश गरिएको बताए।

पुस्तकमा किरात सभ्यता र अस्तित्वलाई प्राथमिकता दिइएको छ। पुस्तकले त्रियुगा सभ्याताको अहिलेसम्मकै ठोस, गहन जनाकारी र तथ्य पस्किएको छ। इतिहास अध्ययनका लागि पुस्तक महत्वपूर्ण र उपयुक्त रहेको उनले बताए।

पुस्तकका लागि पत्रकार एवम् इतिहासकार चेम्जोङले २२ वर्ष लामो समय खर्चिएको बताए। ‘उदयपुरको कुनाकुना, कन्दराहरु चहारेर पुस्तक तयार बनाएको हुँ,’ उनले भने, ‘ नेपालको इतिहासमा मानव सभ्यता, एतिहासिक लडाई, विविध राज्यहरु, उदयपुरसँग जोडिएको प्रमाण पेश गरेको छु, बाँकी टिप्पणी पाठकको हातमा दिएको छु।’

चेमजोङले विमोचनको समारोहमा बोल्दै आफुलाई बुबाले दिएको पुरानो एतिहासिक सिक्काबाट प्रेरित भई अध्ययन र खोज गर्दै जाँदा पुस्तक तयार भएकोमा खुसी व्यक्त गरे। उनले अझै बढी इतिहास खोज, अनुसन्धान गर्नेहरुको लागि पुस्तक महत्पूर्ण हुने पनि बताएका छन्। उनको पुस्तक काठमाडौंमा र उदयपुरको पुस्तक पसलहरुमा पाइनेछ।

चेमजोङले भूत (लघुकथा संग्रह), उदयपुर जिल्लाको पर्यटन विकास, संभावना र चुनौति (अनुसन्धानमूलक पुस्तक), जीवनका रंगहरु (कथा संग्रह), प्रकाशित गर्दै चौथो कृतिका रुपमा ‘उदयपुरको इतिहास’ बजारमा ल्याएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.