दुई पक्षकै नेता भन्छन् : राजनीति फुटे पनि व्यक्तिगत सम्बन्ध नफुटाऔँ

|

पर्वत : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तासीन नेकपा फुटको सङ्घारमा छ। औपचारिक रूपमा फुटको घोषणा हुन नसक्नुमा पार्टीका केही आन्तरिक कारण र कानुनी जटिलता छन्।

आधिकारिक पार्टी कुन हुने? र सूर्य चिह्‍न कसले प्राप्त गर्ने? यी दुई मुख्य विषयमा पर्ख र हेरको अवस्थामा नेकपा दुई गुट ओली पक्ष र प्रचण्ड नेपाल पक्ष रहेका छन्। दुवै समूहले आफूलाई आधिकारिक दाबी गर्दै चिह्‍नमा पनि दाबी गरिरहेको अवस्थामा निर्वाचन आयोगले दिने निर्णयको प्रतीक्षामा उनीहरू रहेका छन्।

राजनीतिक भाषणमा दुवै पक्षले सकेसम्मको घोचपेच र पोल खोल्ने काम गरिरहेका छन्। पार्टी औपचारिक रूपमा नफुटेको बेलामा पनि सत्तापक्ष र प्रतिपक्षको भन्दा कडा टक्कर नेकपाभित्र देखिएको छ। यसको प्रभाव जिल्ला तहसम्म पनि उस्तै परेको छ।

केन्द्रीय राजनीति तातिरहेको बेलामा नेकपाका गुट भेला र एक अर्का विरुद्ध गरिएका प्रतिस्पर्धी प्रदर्शनका कारण पार्टी नफुटिसकेको अवस्थामा नेता तथा कार्यकर्ताहरूको मन र व्यवहार भने फुटिसकेको प्रस्ट देखिएको छ। यही कारण पर्वतमा दुवै पक्षले एक अर्काका विरुद्धमा भेला गर्ने तथा प्रदर्शन गर्ने कामलाई तीव्रता दिइरहेका छन्। पार्टी फुटाई औपचारिक नभएको भए पनि अनौपचारिक रूपमा फुटेको र एक पक्ष चोइटिएर गएको ओली पक्षको नेकपाका केन्द्रीय सदस्य, निवर्तमान सांसद तथा नेकपाका जिल्ला अध्यक्ष पदम गिरी बताउँछन्।

‘पार्टी औपचारिक रूपमा नफुटेको मात्रै हो। अनौपचारिक रूपमा त सबै कुराहरू फुटिसकेको छ। एउटा पक्ष चोइटिएर गइसकेको अवस्था छ।’ उनले भने, ‘पार्टी फुटेपछि व्यवहार पनि त फुट्छ नै। आफ्ना पक्षको वकालत गर्नु, त्यो भेलामा सहभागी हुनु राजनीतिक धर्म हो।’ पार्टी वा पक्षगत रूपमा आरोप प्रत्यारोप गरे पनि व्यक्तिगत रूपमा कसैले कसैप्रति शत्रु भाव राख्न नहुने नेता गिरीको भनाइ छ।

राजनीति फुटे पनि कसैले कसैको मन फुटाउनु हुँदैन

प्रचण्ड नेपाल पक्षको नेतृत्व गर्ने नेता तथा नेकपा कुस्मा नगर कमिटीका अध्यक्ष शङ्कर गिरी पनि राजनीतिक प्रतिशोधलाई सामाजिक सञ्जालमा अपव्याख्या गर्ने र राजनीतिका कारण मर्यादित व्यक्तिगत सम्बन्धलाई तिलाञ्जली दिन नहुने बताउँछन्। राजनीति गर्नु राजनीतिकर्मीहरूको धर्म भए पनि कुरा नमिलेकै कारण व्यक्तिगत आक्षेप लगाउनु, जिल्ला स्तरमा रहेका नेता तथा कार्यकर्ताहरूको व्यक्तिगत सम्बन्ध बिग्रनु जस्ता कुराहरूले व्यक्तिको व्यक्तिगत जीवनलाई नै असर पार्ने उनको भनाई छ। ‘राजनीतिक लडाइँ एक ठाउँमा रहन्छ, आप्mनो पक्षलाई बलियो पार्न सबैलाई मन लाग्छ। आफू ठिक हुँ भन्ने सबैलाई लाग्छ नै।’

उनी भन्छन्, ‘राजनीति फुटे पनि कसैले कसैको मन फुटाउनु हुँदैन। राजनीतिमा टुट्ने फुट्ने भइरहन्छ तर त्यसैका आधारमा नेता तथा कार्यकर्ताको बिचमा पनि व्यक्तिगत सम्बन्धलाई टुटफुट पार्नु हुँदैन।’

पर्वतमा प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्री ओलीको कदमको विरोधमा प्रदर्शन गर्दै उनको विरुद्धमा प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने काम बेला बेलामा गर्दै आइरहेको छ। अर्को पक्ष ओली पक्षका नेता तथा कार्यकर्ताहरूले भने मोटरसाइकल र्‍याली निकालेर समय समयमा भेला गर्दै आइरहेका छन्। 

एकले अर्कोलाई काउन्टर दिने गरी भइरहेका भेला तथा सामाजिक सञ्जालहरूमा पोस्ट गरिने विचारमा पनि कडा आक्षेपहरू देखिने गरेका छन्। सामाजिक सञ्जालहरूमा समेत एक पक्षले अर्को पक्षलाई खुइल्याउने, उडाउने, खिस्सी गर्ने जस्ता क्रियाकलापहरू प्रस्ट देखिएका छन्। जसले पार्टी नफुटिसकेको अवस्थामा पनि कार्यकर्ताहरूको मन भने दुई पक्षमा फुटेको देखिएको छ। नेकपाका दुई पक्षले आफ्नो समूहलाई बलियो पार्न चुनावी माहौलमा फरक दलका नेता कार्यकर्तालाई आफ्नो दलमा प्रवेश गराउन नेताहरू कस्सिएको जस्तै नेकपाकै अर्को पक्षका नेता कार्यकर्तालाई तान्न पक्ष पक्षको बिचमा कडा प्रतिस्पर्धा चलिरहेको छ।

दुवै पक्षले आफूलाई संस्थापन भन्दै अलग अलग स्थानमा भेला गरिरहेका छन्। साबिक एमालेको पार्टी कार्यालयलाई नेकपाको पार्टी कार्यालयको रूपमा प्रयोग हुँदै आएको थियो तर दुवै समूहले पार्टी कार्यालयमा नभई अन्य स्थानहरूमा भेला तथा बैठकहरू गरिरहेका छन्। नेकपा भित्रको आन्तरिक समस्या पार्टी कार्यालयमा व्यक्त नगर्ने भन्दै दुवै समूहले अलग अलग स्थानमा बैठक र भेला गरेका हुन्।

प्रचण्ड नेपाल समूहले केही दिनअगाडि जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला गर्‍यो। प्रचण्ड तथा माधव नेपाल समूहका कार्यकर्ताहरूको अगुवाइमा ओली विरुद्ध सडक प्रदर्शन समेत भयो। उता, ओली समूहले पनि त्यसलाई काउन्टर दिँदै  कुस्मा नगरपालिका स्तरीय अगुवा कार्यकर्ता भेला राख्यो।

प्रचण्ड नेपाल पक्षमा देखिएको अनेरास्ववियूको नेतृत्वमा सदरमुकाम कुस्मा बजारमा प्रदर्शन गर्ने, राँका बाल्ने र प्रधानमन्त्री ओलीको पुत्ला जलाउने लगायतका गतिविधिहरू भइरहँदा युवा सङ्घको आयोजनामा ओली पक्षका कार्यकर्ताहरू मोटरसाइकल र्‍याली निकाल्ने काम गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.