|

गुल्मी :  २०७२ सालमा गएको भूकम्पबाट गुल्मीमा क्षति भएका एक सय भन्दा बढी विद्यालयको पुनर्निर्माणको कार्य सकिएको छ। बैशाख १२ मा गएको भूकम्पका कारणले जिल्लामा तीन सय १२ वटा विद्यालय भवनहरूको एक हजार दुई सय ५२ वटा कक्षाकोठा भत्केर क्षतिग्रस्त भएका थिए। 

भूकम्प गएको पाँच वर्ष बितिसक्दा अहिलेसम्म एक सय २४ वटा विद्यालय भवनहरुका दुई सय ७४ वटा कक्षाकोठाको पुनर्निर्माणको कार्य सकिएको छ। पुनर्निर्माण भएका सबै विद्यालयहरुको निर्माण कार्य विद्यालय व्यवस्थापन समिति (विव्यस) मार्फत गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) गुल्मीका इकाई प्रमुख पीताम्बर पन्थीले जानकारी दिए। 

उनका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा चार कोठे विद्यालय भवन तीन वटा, तीन कोठे विद्यालय भवन ६ वटा र दुई कोठे विद्यालय भवन ६ वटा गरि जम्मा १५ वटा विद्यालय भवनमा ४२ वटा कक्षाकोठाको निर्माण कार्य सकिएको छ।

त्यस्तै, आर्थिक वर्ष २०७४/०७५ मा चार कोठे विद्यालय भवन तीन वटा, तीन कोठे विद्यालय भवन ६ वटा र दुई कोठे विद्यालय भवन ६ वटा गरि जम्मा १५ वटा विद्यालय भवनमा ४२ वटा कक्षाकोठाको निर्माण कार्य सकिएको छ।

आर्थिक वर्ष २०७५÷०७६ मा चार कोठे विद्यालय भवन ३९ वटा, तीन कोठे विद्यालय भवन १० वटा र दुई कोठे विद्यालय भवन ३८ वटा गरि ८७ वटा विद्यालय भवनमा एक सय ६२ वटा कक्षाकोठाको निर्माण कार्य सकिएको छ। 

आर्थिक वर्ष २०७६/०७७ मा चार कोठे ७ वटा विद्यालय भवनको निर्माण कार्य सकिएको इकाई प्रमुख पन्थीले बताए। ४३ वटा विद्यालयमा सुविधासम्पन्न शौचालयको पनि निर्माण कार्य सकिएको पनि उनले जानकारी दिए।

उनका अनुसार जिल्लामा अहिले ६२ वटा विद्यालय भवनका दुई सय ९ वटा कक्षाकोठा निर्माणधिन अवस्थामा छन्। जसमा चार कोठे विद्यालय भवन ४० वटा, तीन कोठे विद्यालय भवन पाँच वटा र दुई कोठे विद्यालय भवन १७ वटा रहेका छन्।

३४ वटा विद्यालयमा खानेपानी र सुविधासम्पन्न शौचालयको पनि निर्माणको कार्य भइरहेको छ। त्यस्तै, एक सय २६ वटा विद्यालय भवनका ७ सय ६९ वटा कक्षाकोठाको पुनर्निर्माणको कार्य गर्न बाँकी रहेको इकाई प्रमुख पन्थीले बताए। 

‘केन्द्रबाट प्राप्त कार्यक्रम थोरै र जिल्लामा प्रभावित भएका विद्यालयहरु धेरै भएको हुनाले विद्यालयको पुनर्निर्माणको कार्य बाँकी रहेको हो,’उनले भने,‘पुनर्निर्माणको कार्यअवधि  २०७८ पुस १० गतेसम्म रहेको हुँदा बाँकी रहेका विद्यालयहरु सरकारको निर्णय अनुसार अन्य निकायमा जिम्मेवारी हस्तान्तरण हुने क्षतिग्रस्त भएका ​विद्यालयहरुको पुनर्निर्माणको लागि बजेट सिलिङ पनि फरक–फरक हुने छ।’

चार कोठे विद्यालय भवनका लागि ७० लाख ४० हजार, तीन कोठे विद्यालय भवनका लागि ३५ लाख ८० हजार, दुई कोठे विद्यालय भवनका लागि २३ लाख ९० हजार, खानेपानी सुविधाको लागि ७ लाख र शौचालय निर्माणका लागि १५ लाख बजेट लाग्ने छ उनको अनुमान छ। विद्यालयको दुरी र आवश्यकता अनुसार बजेट फरक–फरक हुने पन्थीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.