|

महाभारतको एउटा श्लोकमा भनिएको छ :

सुखमापतितं सेव्यं दुःखमापतितं तथा।

चक्रवत् परिवर्तन्ते दुःखानि च सुखानि च।।

अर्थात, जीवनमा आउने सुखको आनन्द लेउ र दुःख नै महसुस भयो भनेपनि स्वीकार गर। सुख र दुःख, प्रतिकूल र अनुकूल त एउटा चक्र हो, तर त्यसमा साक्षी भएर जिउने कला जान्नु महत्त्वपूर्ण सिकाई हो। सुख र दुःखलाई परिवर्तन गर्न नखोज, बरू आफ्नो मनस्थितिप्रति सजग बन। आफू रूपान्तरण हुने कला जान।

वर्ष, महिना, गते, बार बित्छन् र समय परिवर्तन भएको अनुभूति हुन्छ। समय अनुसारको प्राकृतिक परिवर्तन या महामारीलाई पनि मानिसले स्वीकार्न खोजेको भान हुन्छ। तर स्वयं परिवर्तन हुने होश नआउने कारण के होला? किनकी, मानिस बहिर्मूख धारणामा मात्र केन्द्रित हुन पुग्यो। देखिँदा आत्मविश्वासको खोल ओढेजस्तो देखिएपनि ऐनमौकामा भय र त्रासले छोडेको भेटिन्न। स्वयम्‌सँग असुरक्षित महसुस गरेको पाइन्छ।

मानिसलाई कुनैपनि नयाँ आयामले कर्म गर्नुपरे या परिस्थितिलाई सामना गर्नुपरे लडिन्छ कि भन्ने भय छ। लड्नु अर्थात्‌ मैले सोचेको काममा म असफल हुने त होइन, मैले चाहे अनुसार नहुने त होइन ! भन्ने त्रास।

सामान्यतया: आम मानिसको धारणा मैले जे शुरू गर्छु, त्यसको परिणाम मैले नै चाहे जस्तो हुनुपर्छ भन्ने हुन्छ। कुरा त ठीकै हो, तर कर्ममा आफ्नो आधिपत्य रहेपनि नतिजा आउँदाकुनै कारणले प्रभाव पारेको हुन्छ, नतिजा अरूकै हातमा पनि हुनसक्छ। लड्ने भय भन्दापनि लडेर उठ्ने सामर्थ्य राख्नु ठूलो कुरा हो।

आफ्नो अधिनमा नरहने परिस्थितिलाई परिवर्तन गर्न र आफ्नो अनुकूल बनाउन खोज्नु नै मानिसको मूर्खता हो। तर, आफ्नै अधिनमा राख्नसक्ने मनस्थितिबाट व्यक्ति किन माथि उठ्न सकिरहेको हुँदैन? यो आफैँले आफैँलाई गर्ने प्रश्न हो। अरूलाई प्रश्न गर्न र अरूका कमजोरी देख्नमा जीवन खर्चिने व्यक्तिले आफ्नो स्वभाव, आफ्नै जागरण र आफैँतिर फर्केर हेर्न पर्दैन?

स्वीकारको स्रोत

मानिसमा उत्पन्न हुने असन्तोष, भय, त्रास, क्रोध, मोह, लोभ जतिपनि रिपुहरू छन्, त्यसको एकमात्र कारण हो : स्वीकारको शक्तिसँग परिचित हुन नसक्नु। हरेक परिस्थितिप्रति अस्वीकार, हरेक ऐन मौकाबाट आफूलाई मात्र लाभ मिलोस् भन्ने स्वार्थयुक्त भावना कायम रहनु नै अस्वीकारका परिणाम हुन्।

नयाँ वर्ष मानौं या कुनै कर्मबाट सफलताको चाहना राखौँ : ती सबैको उद्देश्यविगतका घटना र परिस्थितिबाट केहि शिक्षा ग्रहण गर्दै आगामी समयमा केहीनयाँपनसहित जीवनमा खुसी, स्वास्थ्य, सफलता प्राप्त गरौं भन्ने चाहना नै हो। जीवनमा जे पनि प्राप्त हुन्छ या चाहना हुन्छ : ती चिज र परिस्थितिप्रति स्वीकार भाव रहन्छ या अस्वीकार भाव?

यो त मानवीय भावना नै हो, हरेक कुरालाई हामी स्वीकार गर्न सक्दैनौं र हरेक कुरालाई अस्वीकार गर्न पनि सक्दैनौं। स्वीकार-अस्वीकार दुबै भाव, सोच जीवनमा र व्यक्तिको मनमा आइरहन्छ। कुनैपनि घटना, परिस्थिति र असफलता र सफलता स्वीकार गर्दा या अस्वीकार गर्दा कस्तो महसुस हुन्छ? यो स्वीकार या अस्वीकार भाव कहाँबाट आउँछ भन्नेबारे हामीले कहिल्यै ख्याल गरेका छौं त?

स्वीकार या अस्वीकार परिस्थिति र घटनाबाट होइन, व्यक्तिको भित्री मनबाट, मनस्थितिबाट आउँछ। स्वीकार भाव आउनु या अस्वीकार त्यो सँग चिन्तित हुनुपर्ने अवस्था छैन। जे पनि अनुभूति हामीलाई हुन्छ त्यसको स्रोत कहाँ छ, कहाँबाट आउँछ? कुन शक्तिबाट आउँछ, त्यो थाहा पाउनु जरूरी छ।

स्वीकारको परिणाम

सर्वं परवशं दुःखं सर्वम् आत्मवशं सुखम्।

एतद् विद्यात् समासेन लक्षणं सुख–दुःखयोः।।

जुन चिज आफ्नो अधिनमा छैन त्यो नै दुःखको कारण हो, तर सुख आफ्नो अधिनमा हुन्छ। अल्छि व्यक्तिलाई कसरी ज्ञान मिल्छ। अनि ज्ञान विना आर्जन गरेको धनले कसरी सुख मिल्छ, कसरी स्थिरता प्राप्त हुन्छ?

देशमा राजनीतिक अस्थिरताले शान्ति मिलेन, स्थिरता मिलेन, कसैले काम बिगारिदियो, कसैले प्रेममा धोका दियो, जागिर छुट्यो...यस्तै कति प्रतिकूल अवस्था आउँछन्। तर स्वीकार्नै पर्छ। यो पनि सम्भव छ भन्ने भावना आउनु स्वाभाविक हो, तर स्वीकार गर्‍यौं भने हामी गुनासोबाट रूपान्तरणमा प्रवेश गर्छौं।

अस्वीकार भावमा हाम्रो स्वास छिटो छिटो चल्छ, सोचाई नकारात्मक हुन्छ भने स्वीकार भावको क्षणमा स्वास शान्त र सोच पनि सकारात्मक हुन्छ। स्वीकार भाव आउँदा डाहा, जलन र तनावबाट प्रसन्नताको अवस्था सृजना हुन्छ।

प्रसन्नता र तनाव दुबै हामीभित्रै हुने गुण हुन्, यो अरूको कारण आउँछ जस्तो लाग्छ, तर होइन। तनाव, डाहा, जलन हुनासाथ म मा कसरी यो अवस्था सृजना भयो, यसको स्रोत कहाँ छ? अथवा खुसी नै आए पनि कहाँबाट आयो? स्रोत कहाँ होला भन्नेबारे थाहा पाउने कोशिश गर्नुपर्छ। हाम्रो स्वभाव अन्तर्मुखी हुनुपर्छ, बहिर्मूख होइन।

स्वीकार नै खुसीको स्रोत 

एकजना सन्त हिमालको नजिक एउटा कुटीमा साधना गरेर बस्थे। जाडो मौसममा हिमालमा हिउँ पर्ने भएकोले उनी तल पहाडमा आएर बस्थे। जाडो सकिनेबेला उनी हिमालतिर बसाई सर्थे।

जाडो सकेर हिमाल जाने समयमा एक जना युवा शिष्यले पनि सँगै जान्छु भन्ने अनुरोध गरे। सन्तले इशारा गरे, तिमीलाई हिमालमा गएर साधना गर्न गाह्रो हुन्छ कि? युवाले भने, 'हजुर जस्तो वृद्ध मान्छे त हिमालमा गएर साधना गर्नुहुन्छ भने म त युवा छु, जस्तोसुकै कष्ट पनि सहन्छु।' वृद्घ सन्तले भने, 'बाबु सहनु र स्वीकार गर्नु अलग कुरा हुन्, तिमी परिस्थितिलाई स्वीकार गर्न सक्दैनौं कि भन्ने लागेको हो मलाई।'

युवाको निरन्तर ढिपीयुक्त आग्रहका कारण सन्तले उनलाई सँगै लिएर हिमालतिर लागे। आफ्नो कुटीमा पुगे। चिसो र हिउँले कुटीको छानो एकातिरको भाग नै भत्केको रहेछ। युवा अचम्ममा परे, यही आधा भत्केको कुटीमा बस्ने हो? सन्तले भने, 'हो बाबु अरू उपाय छैन, बिस्तारै यसलाई मर्मत गरौंला।' सन्तले खाना बनाए, दुबैले खाए, भएको ओछ्यान मिलाएर दुबै सुते।

सन्तले भत्केको आधा भाग छानोबाट खुल्ला आकाश र ताराहरू देखे, खुसी भए। 'भगवान अचम्म छ तिम्रो कृपा, सुतेरै मैले यो सुन्दर दृश्य देख्न पाएको छु, यस्तो खुल्ला मैले कहिल्यै देखेको थिइन। घर पूरै भत्केको भएपनि के लाग्थ्यो र, आधामा सुतेको छु, आधा भागबाट प्रकृति खुलस्त देखिएको छ, हे भगवान यो झुपडीको आधा भाग त बचाएर राखिदिएछौ नि तिमीले?'अहोभाव र धन्यवादको भाव व्यक्त गर्दैगर्दा सन्त निदाए।

उता युवकलाई भने यता छटपटी, उता छटपटी! रातभर निदाउन सकेनन्। भित्रभित्रै भने, 'आधा भाग भत्केको झुपडीमा त म कहिल्यै बस्नु परेको थिएन, म यहाँ आएर गल्ती गरेछु कि के हो?'

अधिकांशको मनस्थिति पनि तिनै युवकको जस्तो छ। जे छ : त्यसप्रति धन्यवाद भाव छैन र जे छैन त्यसप्रति गुनासो बढ्दो छ। त्यसैले हामीमा दुःख छ। हामी आफ्नो अनुकूलको नभइकन स्वीकार गर्न सक्दैनौं। खुसीको स्रोत स्वीकार भाव हो भने अस्वीकार दुःखको कारण। अस्वीकार भावमा जीवन बाँच्न पाइन्छ, तर खुसी पाइन्न।

ध्यानको अभ्यास र स्वीकारको विकास

दिवसेनैव तत् कुर्याद् येन रात्रौ सुखं वसेत्।

यावज्जीवं च तत्कुर्याद् येन प्रेत्य सुखं वसेत्।।

दिनभर यस्तो काम गर कि त्यसको परिणाम तिमी रातमा चैनले निदाउन सक। त्यसैगरी जीवनभर यस्तो काम गर कि जसले मृत्यु पश्चात् पनि तिमीलाई सुख र सद्गति प्राप्त होस् भनेर विदूर नीतिमा उल्लेख गरिएको छ।

प्रतिकूलतालाई स्वीकार गर्न नसक्नु नै दुःखको कारण हो। प्रतिकूलतालाई स्वीकार गर्न नसक्दा भावना दबेर बसेका हुन्छन्। स्वीकारको विकसित रूप तथाता हो। तथाता अर्थात् परिश्रम गर्ने, सफल हुन कोशिस गर्ने, चाहेको कुरा पाउन मिहिनेत गर्ने, तर परिणाम जे आउँछ : चाहेकै जस्तो आयो या चाहेको जस्तो आएन त्यसलाई स्वीकार गर्ने।

हामी सफल हुनुको आशय हो : हामी भित्रबाट शान्ति चाहन्छौं। हामीले स्वीकार गर्न जान्नुको परिणाम हो : हामी भित्रबाट शान्ति चाहन्छौं। ध्यान बिना हामी स्वीकारको कला जान्न र व्यवहारमा अपनाउन सक्दैनौं।

जीवनको उद्देश्य चाहेको प्राप्त गर्नु मात्र होइन, प्राप्त चिजले सत्, चित् र आनन्द मिल्छ कि मिल्दैन, त्यो थाहा पाउनु पनि हो। जे को लागि परिश्रम गर्‍यो : त्यही प्राप्त हुन्छ। तर परिश्रम सत्य छ कि छैन, परिणाम सुखदायक छ कि छैन, त्यो महत्वपूर्ण पक्ष हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.