|

सुजता लिम्बू 

विराटनगर : पछिल्लो समय संरक्षण अभावका कारण दुर्लभ मानिएका जलपक्षीहरू विस्तारै लोप हुँदै गएका छन्। पछिल्लो ५ वर्षको पक्षी गणनाको तथ्यांक  निराशाजनक छ भने, यसपटक पनि जलपक्षी गणकहरूले नयाँ प्रजातिको चराको खोज र वर्तमान अवस्थाबारे बुझन गणना सम्पन्न गरेका छन्। 

प्रदेश नम्बर १ र २ का सिमसार क्षेत्रहरूमा भर्खरै सम्पन्न भएको जलपक्षीहरूको गणना निराशाजनक रहेको कोशी पन्क्षी समाजका अध्यक्ष सञ्जीव आचार्य बताउँछन। उनले भने, ‘उचित संरक्षणको अभावमा लोप हुँदै गएको सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराहरूको ग्राफ ओरालो लागेको छ।’ 

६ जना विज्ञ गणकसहित २५ जनाको समूहले पौष १८ देखि जलपक्षीहरूको गणना सुरु गरेका थिए। उनीहरूले १८ गते पहिलो दिन बराहक्षेत्रका पन्क्षीहरूको गणना गरेका थिए।

यस्तै,१९ गते दोश्रो दिन कोशी टप्पु वन्यजन्तु आरक्षको पूर्वी भाग, २० तथा २१ गते आरक्षको पश्चिम कमलपुरका सिमसार क्षेत्र, २२ गते सुनसरीको बर्जु ताल र २३ गते तरहरा तथा पूर्वको बेतना सिमसार क्षेत्रमा उनीहरूले जलपक्षीको गणना गरेका थिए। 

गणक समूहले शुक्रबार  जलपक्षी गणनाको नतिजा सार्वजनिक गरेका थिए।  उनीहरूले नतिजा सार्वजनिक गर्दै चराहरूको संख्या निराशाजनक अवस्थामा रहेको बताए। कोशी पन्क्षी समाजको तथ्याङ्क अनुसार प्रदेश १ र २ का सिमसार क्षेत्रहरूमा यसपटक ६२ प्रजातिका १९ हजार पाँच सय ४४ चराहरू देखिएका छन्। जसमा सबैभन्दा बढी सिलसिले हाँस पाँच हजार ३ सय ५२ र बिजुलागैरी हाँस पाँच हजार तीन सय ४१ वटा देखिएका छन्।

त्यस्तै,सुनसरीको बर्जु तालमा ३७ प्रजातिका ११ हजार २५ वटा जलपक्षीहरू देखिएका छन् भने, कोशी टप्पु वन्यजन्तु आरक्षमा ५५ प्रजातिका ७ हजार ३ सय ७९ वटा जलपक्षीहरू देखिएको छ। तथ्याङ्क अनुसार गत बर्षको तुलनामा यसबर्ष पन्क्षीहरूको संख्यामा १६ प्रतिशतले वृद्धि भएको छ।

तर, बसाइँसरी आउने पन्क्षीहरूको संख्यामा भने वृद्धि भएको होईन्। तुलनात्मक रुपमा यसबर्ष बसाइँसरी आउने पन्क्षीहरूको संख्या १० प्रतिशत घटेको अध्यक्ष आचार्यले जानकारी दिए। ‘यो पटक गणकहरूले सुनसरीको बर्जुतालमा ८ बर्षपछि ‘वैकाल्टिल हाँस’ देख्ने अवसर पाएका छन्,’उनले भने,‘यो हाँस नेपालमै एकदमै दुलर्भ प्रजातिको मानिन्छ।’ 
 
प्रत्येक बर्ष प्रदेश १ स्थित कोशी टप्पु, बर्जु ताल, तरहरा, बेतना, उर्लाबारी र भागलपुर ताल तथा प्रदेश २ स्थित सप्तरीको भारदह र कमलदह लगायतका सिमसार क्षेत्रहरूमा पन्क्षी गणना गर्ने गरेको उनको भनाई छ। हरेक बर्ष पौष महिनामा हुने पञ्च दिवसीय पन्क्षी गणनाको यो ३३ औं पटक हो। 

गन्तव्य बदल्दै साईबेरियाका चरा

पछिल्लो समय नेपालमा साईबेरिया, पूर्वी युरोप तथा एशियाका क्षेत्रबाट आएका चराहरूले गन्तव्य बदल्न थालेको आचार्यले बताए। बढ्दो अव्यवस्थित शहरीकरण, मानवीय चहलपहलमा वृद्धि, बासस्थानको विनाश, सिमसार क्षेत्रमा वनभोज स्थलको विकास र छेउछाउको खेतमा बिषादीको अत्याधिक प्रयोग लगायतका कारणले चराहरूले गन्तव्य बदल्न थालेको उनको भनाई छ।

उनका अनुसार पछिल्लो दुई बर्षमा नेपालमा हालसम्म गणना भएका ८ सय ८८ प्रजातिका चराहरूमध्ये दुई चौथाई चराहरू नेपालहुँदै दक्षिण भारतीय क्षेत्र जाने गरेको पाईएको छ। 

नेपालमा गणना भएका कूल चराहरूको प्रजातिमध्ये सबैभन्दा बढी सुनसरीको कोशी गाउँपालिका स्थित कोशी टप्पु वन्यजन्तु आरक्षमा हाल पाँच सय २८ प्रजातिका चराहरू पाईन्छन्। बाँकी चराहरू अन्य सिमसार क्षेत्रहरूमा आश्रित रहेका छन्। 

चराविधहरूको बिश्लेषण अनुसार आरक्षमा अघिल्लो बर्षको तुलनामा यस वर्ष नयाँ प्रजातिका चराहरूको संख्यामा १० प्रतिशतले कमी आएको छ। गत वर्ष पनि चराहरूको संख्यामा ६५ प्रतिशतले कमी देखिएको कोशी पक्षी समाजको तथ्यांकमा उल्लेख छ। 

तथ्याङ्क अनुसार गत बर्ष प्रदेश १ र २ का ८ वटा सिमसार क्षेत्रहरूमा ६१ प्रजातिका १६ हजार १२ वटा चराहरूको गणना गरिएको थियो। यस्तै,२०७५ सालमा पनि यस क्षेत्रमा ५८ प्रजातिका २१ हजार ७ सय ४४ वटा चराहरूको गणना गरिएको थियो। चराहरूको कुल जनसंख्यामा वृद्धि भएपनि नयाँ प्रजातिका चराहरू फेलापर्ने क्रम निराशाजनक रहेको आचार्यको भनाई छ।

यथोचित बासस्थानको अभावमा चराहरूले गन्तव्य परिवर्तन गर्ने क्रम बढेसँगै नयाँ प्रजातिका चराहरू फेलापर्ने क्रम ओरालो लागेको समाजका अध्यक्ष आचार्य बताउछन्। 

उनले भने,‘नेपालमा प्रत्येक वर्ष असोज महिनाको अन्त्यतिर रुसको साईबेरिया, पुर्वी युरोप र पुर्वी एशियाका क्षेत्रहरूबाट विभिन्न प्रजातिका चराहरू बसाँईसरी आउने गर्दछन्। करिब ७ महिनाको बसाईपछि जेठ महिना सुरुवातसँगै तिनीहरू आफ्नो घर फर्किने गर्दछन्।’

पौष, माघ र फाल्गुण महिनामा विभिन्न प्रजातिका चराहरू देख्न पाईने चराविद्हरूको अध्ययन रहेको छ। तर, पछिल्लो समय ती चराहरू पनि दक्षिण भारतीय क्षेत्रमा जान थालेको कोशी पन्क्षी समाजको अध्ययन देखिन्छ। 

व्यवस्थापनको आवश्यकता 

नेपालमा भने हालसम्म गणना भएका ८ सय ८८ प्रजातिका चराहरूमध्ये पाँच सय २८ प्रजातिका चराहरू कोशी टप्पु वन्यजन्तु आरक्षमा पाईन्छन्। बाँकी तीन सय ६० प्रजातिका चराहरू भने पूर्वको बेतना र उर्लाबारी तथा प्रदेश २ को भारदह र कमलदह सिमसार क्षेत्रमा पाईन्छन्। चराहरूले शान्त र ठूलो क्षेत्रफल भएको ठाउँ तथा फार्म ल्याण्डहरू मन पराउँछन्।

राती गएर फार्म ल्याण्डमा चर्ने र दिनभरि आराम गर्ने तिनीहरूको आवश्यकता रहेको आचार्यको भनाई छ। उनी भन्छन,‘यथोचित बासस्थानको अभाव, सिमसार क्षेत्रमा वनभोज स्थलको विकास, सवारीसाधनको चाप र ध्वनि प्रदूषण,आम सर्वसाधारणको बाक्लो चहलपहल, उचित फोहोर व्यवस्थापनको अभावका कारण हाल ती चराहरू पनि विस्तारै लोप हुँदै गएका छन्।’ तिनीहरूको संरक्षणको लागि स्थानीय निकायबाटै पहल हुनु आवश्यक देखिएको आचार्यको भनाई छ। 

बर्जुतालमा ध्वनि प्रदूषणमा रोक लगाउने 

सुनसरीको बर्जु गाउँपालिका वडा ६ स्थित १ सय ५२ बिगाहा क्षेत्रफलमा फैलिएको बर्जु तालमा करिब ४० प्रजातिका जल चराहरू पाईन्छन्। पछिल्लो समय ती चराहरूको ग्राफ ओरालो लाग्दै गएको बर्जु गाउँपालिका ६ का अध्यक्ष विनोद चौधरीले बताए।

उनले भने, ‘पानीको सतह घट्दै जानु तथा तालमा झार पलाउँदै जानु यसको प्रमुख कारण हो। पानी सतह घट्न नदिन प्रदेश सरकारले यसबर्ष करिब एक करोड ५० लाखको बजेट विनियोजन गरेको छ।’

पश्चिमतर्फको तालमा ड्याम बनाउने तथा आवश्यक पूर्वाधारहरू निमार्ण गर्ने योजना अघि सारेको वडाध्यक्ष चौधरीको भनाई छ। ध्वनि प्रदूषणका कारण पनि चराहरू भाग्ने गरेको हुनाले तिनीहरूको संरक्षणका लागी सबै किसिममा सवारीसाधनहरूलाई गेटमै राख्ने र वनभोजस्थलमा ठूलो आवाजसहित साउण्डबक्स बजाउन समेत प्रतिबन्ध लगाउने तयारी भईरहेको उनले जानकारी दिए। 

बेतना सिमसारलाई व्यवस्थित गरिने

मोरङको बेलबारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गसँग जोडिएको बेतना सिमसार क्षेत्रमा करिब ४० प्रजातिका चराहरू पाईन्छन्। बेतना सामुदायिक वन अन्तर्गत रहेको यो सिमसार क्षेत्र कुल एक सय ७४ हेक्टर क्षेत्रफमा फैलिएको छ। यसक्षेत्रमा प्रत्येक वर्ष विशेषगरि पूर्वी युरोपका क्षेत्रबाट विभिन्न प्रजातिका चराहरू आश्रय लिन आउँछन्। 

पछिल्लो समय सिमसार क्षेत्रबाट पनि चराहरू लोप हुन थालेको बेतना सिमसार सामुदायिक वन मोरङका अध्यक्ष डम्बर बस्नेतले बताए। ‘पछिल्लो समय यसक्षेत्रमा वनभोज स्थल र बोटिङको विकास भएको छ,’उनले भने,‘आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढन थालेको छ। ठूलो आवाजमा घन्किने गीतहरूले ती पन्क्षीहरूलाई विचलित बनाउँन थालेको छ। फलस्वरुप अब यसक्षेत्र पहिले झैं चराहरू छैनन्।’

चराहरूको आगमन हुने सम्भावना समेत न्युन हुन थालेको उनको भनाई छ। बसाइँसरी आउने पन्क्षीहरूलाई कुनै प्रकारको समस्या नहुने किसिमले सिमसारको विकास भईरहेको अध्यक्ष बस्नेतको भनाई छ। मानव नियन्त्रित क्षेत्र र मानव प्रयोग क्षेत्रगरी बेतनालाई दुई भागमा विभाजन गरि विकास गर्ने कार्य भईरहेको उनले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.