बझाङ : नेपाल कम्युनिष्ट पाटी नेकपा पार्टी कार्यालय बझाङमा पार्टीको कार्यक्रम तथा भेला गर्न जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ।
नेकपामा प्रधानमन्त्री केपी ओली समूह र माधव–प्रचण्ड समूह विभाजनको अवस्थामा पुगेपछि कार्यक्रम गर्दा झडपको अवस्था सिर्जना हुने देखिएको भन्दै प्रशासनले सूचना जारी गर्दै कानुनी रुपमा पार्टीको विवाद निरुपण नहुन्जेल कार्यक्रममा रोक लगाएको हो।
स्थानीय ऐन २०२८ को दफा ६ को उप दफा ३ को 'क' बमोजिम पार्टी कार्यालयभित्र पार्टीका भेला बैठक तथा अन्य कार्यक्रम संचालन नगर्न नगराउनु हुन सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए।
नेकपा विभाजनको स्थितिमा पुगेपछि नेकपाका दुवै समूहले पार्टी कार्यालयलाई आफ्नो दाबी गर्दै आएका छन्। पार्टीभित्रको विवादले उग्र रुप लिँदा पार्टी शान्ति सुरक्षालाई ध्यान दिँदै कार्यालयमा हुने अप्रिय घटनाबाट सुरक्षा सतर्कता अपनाउन नेपाल प्रहरी र सशस्त्र परिचालन गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले कार्यक्रम तथा भेलामा रोक लगाए पनि नेकपाका दुवै समूहबाट भने आधिकारिक रुपमा कुनै प्रतिक्रिया आएको छैन।
यस विषयमा हामीले नेकपा अध्यक्ष मीन बहादुर कुँवरसँग बुझ्दा प्रशासनले सुरक्षा सतर्कता अपनाएर रोक लगाएकाले प्रशासनको कदम सही भएको बताए।
देशभरि नेकपा विभाजनको अवस्थामा पुग्न लाग्दा कार्यकर्ताहरु आक्रोशमा आउने र दुवै पक्षबीच झडपको अवस्था आउन सक्ने भएकाले सुरक्षा सतकर्ता अपनाउनु जायज भएको उनको भनाइ छ।
पार्टी धुव्रीकरणको चरणमा पुगेको बेला एकतर्फी ढंगले पार्टीको सम्पत्ति चलाउन नहुने भन्दै प्रशासनले गरेको काम सही भएको संविधान सभा सदस्य एवं नेकपाका केन्द्रीय कमिटी सदस्य अफिलाल ओखेडाले बताए।
आफूहरुले पहिले प्रशासनलाई जानकारी गराएको भए पनि ओखेडाले ढिलै भए पनि प्रशासनले उठाएको कदम सही भएको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।