|

काठमाडौं : नेपालमा कोरोना भाइरसविरुद्ध खोप आएपछि सुरुमा फ्रन्टलाइनका खटिएकासहित स्वास्थ्यकर्मीलाई  दिने गरी सरकारले देशभरबाट स्वास्थ्यकर्मीको अध्यावधिक विवरण माग गरेको थियो।

जसमा अहिलेसम्म काठमाडौँबाहेक ७६ जिल्लाबाट विवरण आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालय स्रोतका अनुसार ७६ जिल्लाबाट सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र उनीहरुलाई सघाउन अग्रपंक्तिमा खटिने कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकाको संख्या भनेर २ लाख ३ सय बढीको विवरण प्राप्त भएको बताइएको छ।

तर, काठमाडौं उपत्यकामा  ठूला सरकारी र निजी अस्पतालले भने विवरण पठाउन ढिलाइ गरेका कारण कुल संख्या भने अझै प्राप्त हुन नसकेको बताइएको छ।

मन्त्रालयले गत २० पुसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई देशभरका स्थानीय तहबाट ३ दिनभित्र विवरण उपलब्ध गराइदिन समन्वय गरिदिनु भन्दै फरम्याट सहितको पत्र पठाएको थियो। सोहीअनुसार संघीय मामिला मन्त्रालयले स्थानीय निकायलाई पत्र पठाई जिल्लास्थित स्वास्थ्य कार्यालयलाई विवरण उपलब्ध गराउन भनेको थियो ।

स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले नेपालमा पनि कोरोना भाइरसविरुद्ध खोप छिट्टै ल्याउने र अभियानको रुपमा सुरु गर्ने बताएका छन्। आएको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी र अग्रपंक्तिमा खटिने कर्मचारीहरुलाई दिइने उनले पनि बताएका छन्। सोही अनुसार मन्त्रालयले विवरण संकलनको मागलाई तीव्रता दिएको हो।

सरकारले नेपालमा खोप आएको एक हप्ताभित्रै प्रयोग गरिसकिने र त्यसका लागि १६ हजार खोप केन्द्र बनाइनेछ भने ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंमसेविका परिचालन गर्ने मन्त्रालयको तयारी गरेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.