|

अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले देशको नेतृत्व तहमा पुग्न व्यक्तिको रंग वा लिंग वाधक नहुने बताएकी छन्।

उनले ट्वीट गर्दै भनेकी छन्‚‘आँउदो आठ दिनमा हामी अमेरिकाका बच्चा–बच्चालाई देखाउनेछौं‚ देश हाँक्न रंग र लिंगको कुनै सीमा हुनेछैन‚ जुनसुकै रंग र लिंगका मानिसले अमेरिकाको नेतृत्व गर्न सक्छन्।’

डेमोक्रेटिक पार्टीकी नेतृ ह्यारिसअमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित हुनु अगावैदेखि रंगभेद र लैंगिक विभेदविरुद्ध मुखर रहँदै आएकी छिन्। उनले आउँदो सातादेखि उपराष्ट्रपतिका रुपमा राष्ट्रपति जो बाइडेनलाई साथ दिनेछिन्।

महिला अधिकारको पक्षमा र रंगभेदका विरुद्धमा उनले दिएका केही महत्वपूर्ण वक्तव्य यहाँ प्रस्तुत गरिएको छ।

अक्टोबर २९ २०२० : ५४ सेन्टस्। प्रत्येक अमेरिकी पुरुषले १ डलर कमाउँदा ल्याटिन अमेरिकी महिलाले उति नै काम गरेबापत ५४ सेन्टस् मात्र हात पार्छन्। यो स्वीकार्य छैन। बाइडेन–ह्यारिस प्रशासन सबैका लागि समान हुने गरी श्रमको मूल्य कायम गर्न लड्नेछ। 

अक्टोबर ११ २०२० :संयुक्त प्रयत्नमार्फत हामी त्यस्तो संसार बनाउन सक्छौं‚ जहाँ केटीहरूले समान रुपमा हुर्कने र सफलता प्राप्त गर्ने अवसर पाउनेछन्। र‚ ती सबैले थाहा पाउनेछन्‚ नेतृत्व भन्ने कुरा कुनै पनि उमेरबाट सुरू हुनसक्छ।

अक्टोबर ७ २०२० :म सदैव आफ्नो शरीरबारे निर्णय लिन पाउने महिलाको अधिकारको निम्ति लड्नेछु। यो महिलाको निर्णयको कुरा हो‚ डोनाल्ड ट्रम्पको होइन।

अगस्ट २६ २०२० :हामी शताब्दीअघिको १९ औं संशोधनको विजयमा सामेल हुन नपाएका महिलालाई स्मरण नगरिकन महिला समानता दिवश मनाउन सक्दैनौं‚ खासगरी ती महिलाहरू जसले त्यतिखेर चुनाव कर र साक्षरता परीक्षाको सामना गर्नुपरेको थियो। उनीहरूको बलिदानको सम्मानार्थ रेकर्ड कायम हुनेगरी मतदान गरौं।

अगस्ट २५ २०२० : हाम्रा सबैजसो राज्यहरूले महिलाको प्रजनन् र गर्भपातसम्बन्धी अधिकारमाथि आक्रमण जारी राखेका छन्। जो बाइडेन प्रशासनले महिला अधिकारको प्रतिरक्षा गर्नेछ‚ तिनलाई अझ बिस्तार गर्नेछ। राष्ट्रपतिका रुपमा बाइडेनले संविधानप्रदत्त छनौटको अधिकारको रक्षा गर्नेछन्।

अगस्ट १९ २०२० :आज म जुन ठाउँमा उभिएकी छु‚ त्यो हिजोको पुस्ताको समर्पणको परिणाम हो‚ ती महिला र पुरुष जो समानता‚ स्वतन्त्रता र न्यायमा विश्वास गर्थे र त्यसप्रति प्रतिवद्ध थिए। (उपराष्ट्रपति पदका लागि नाम मनोनयन गर्ने क्रममा)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.