|

सर्लाही : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगन थापाले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरी देशलाई अँध्यारो सुरुङमा फस्नबाट जोगाउने बताएका छन्।

सर्लाहीको लालबन्दीमा आज नेपाली कांग्रेस नगर समितिले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अदालत र न्यायधीशहरू संसद् पुनर्सथापनाकै पक्षमा उभिने नेता थापाले विश्वास दिलाए।  

प्रधानमन्त्रीले अहिले चाल्नुभएको कदम ठीक हो भन्दै अघि बढे प्रदेश, स्थानीय सरकार हुँदै संविधान नै खेर जाने अवस्था रहेको उनले बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई बालुवाटारको इसारामा नभई संविधान अनुसार अघि बढ्न सचेत गराएका छन्। अहिलेकै अवस्था रहे देशमा संघीयतासमेत धरापमा पर्ने उनले चिन्ता व्यक्त गरे। 

अहिलेको सरकारले कुनै पनि बेला प्रदेश सरकार खारेज गर्ने र न्यायालय र न्यायाधीशहरुलाई धम्काएर प्रभावमा पार्ने काम तत्काल बन्द गर्न पनि थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिए।

संविधान रक्षा र अहिलेको असंवैधानिक कदमविरुद्ध गाउँगाउँमा गएर नागरिकलाई प्रस्ट पार्न कांग्रेस नेताहरुलाई उनले आग्रहसमेत गरे।

विरोध सभामा ठूलो संख्यामा अन्य पार्टी परित्याग गरी नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका कांग्रेस लालबन्दी नगर समितिका सभापति प्रशान्त आचार्यले जानकारी दिए। सभालाई कांग्रेसका पूर्वसांसद एवं केन्द्रीय सदस्य जंगीलाल राय, अर्का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठले समेत सम्बोधन गरेका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.