|

सुजता लिम्बु

विराटनगर : प्रदेश १ को तराईमा रहेका झापा, मोरङ र सुनसरीमा केही दिनदेखि चिसो अत्यधिक बढेको छ। चिसोले बालबालिका, वृद्धवृद्धा, रोगी बढी प्रभावित भएका छन्। यस्तै, बाहिर श्रम गर्ने श्रमिक जस्तै ठेला, रिक्सा, सफारी चालक, निर्माण क्षेत्रका श्रमिक पनि प्रभावित भएका छन्।

चिसो बढेसँगै ज्येष्ठ नागरिक र बालबालिकाको स्वास्थ्यमा बढी प्रभाव परेको कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेनडेन्ट डा. चुमनलाल दास बताउँछन्। ‘दीर्घकालीनरुपमा रहेको दमका बिरामी, ज्येष्ठ नागरिकमा स्वासप्रश्वासको समस्या हुन्छ,’ उनले भने, ‘बालबालिकामा निमोनिया हुनसक्ने सम्भावना बढी हुन्छ।’

चिसोमा दमका रोगीको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने कोशी अस्पतालका वरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादव बताउँछन्। चिसोको समय रुघाखोकी, दम, निमोयिा र चिसोका कारण हुनसक्ने सबै किसिमका एलर्जीको समस्या हुनसक्ने भएकाले न्यानोमा बस्नुपर्ने डा. यादवको सुझाव छ।
 
प्रदेश राजधानी रहेका शहर विराटनगरमा बाक्लो हुस्सुका कारण केही दिनदेखि घाम देखिएको छैन। चिसोबाट बच्न ठाउँठाउँमा आगो तापेर बसिरहेको देख्न सकिन्छ।  विराटनगर महानगरपालिका–११ का सिटिसफारी चालक अनिलकुमार साहको चिसोका कारण दैनिकीमा नै असर परेको छ। समान्यतः बिहान ५ बजे महेन्द्र चोकबाट एक चरण यात्रुलाई गन्तव्यमा पु¥याउने उनी चिसो बढेपछि दुई तीन दिनदेखि बिहान ८ बजे मात्र घरबाट निस्किने गरेका छन्। 

‘मौसमले साथ दिँदा म बिहानै एक ट्रिप यात्रु बोक्न भ्याउँथें। तर दुई तीन दिन भयो चिसो बढेकाले बिहान ८ बजे मात्रै घरबाट निस्किन्छु,’ अनिलले भने, ‘चिसोमा बाहिर निस्कन मन लाग्दैन तर के गर्नु पेटले मान्दैन।’ 

आवश्यक व्यवस्थापनको काम हुँदै 

चिसोका कारण बर्सेनि तराईका विपन्न वर्गका मानिसहरुले ज्यान गुमाउने गरेका छन्। न्यानो कपडाको अभाव र शीतलहरबाट बच्ने ज्ञान नहुँदा उनीहरुले ज्यान गुमाउनु परेको विराटनगर–१ पोखरियाका सुनिल बस्नेत बताउँछन्। 

चिसोका कारण कोही समस्यामा नपरोस् भनी स्थानीय तहमा आवश्यक व्यवस्थापनको काम भइरहको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए। जिल्लास्थित प्रकोप व्यवस्थापन तथा उद्धार समितिले न्यानो कपडा वितरणका लागि प्रारम्भिक प्रक्रिया सुरु गरिसकेको निरौलाको भनाइ छ। 

‘स्थानीय तहले अत्यावश्यक परेका नागरिकको सुरक्षाका लागि राहतका कार्यक्रमहरु सुरु गरिसकेको छ,’ प्रजिअ निरौलाले भने, ‘अब जिल्ला प्रशासनले एकीकृतरुपमा स्थानीय तहमा आवश्यक राहतका सामग्री विरतण गर्ने छ। त्यसका लागि तथ्यांक संकलन र विवरण बुभ्mने काम भइरहेको छ।’

प्रहरीको न्यानो अभियान 

जिल्ला प्रहरी कार्यालय मोरङले सामाुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ‘एक घर एक कम्मल’ वितरण गरेको कार्यालयका प्रमुख एसपी सन्तोष खड्काले बताए। चिसो बढेसँगै खासगरी विपन्न परिवारको जनजीवन प्रभावित हुने भएकाले कम्मल वितरण गरेको उनको भनाइ छ। 

‘शहरी क्षेत्रमा औद्योगिक मजदुरहरुको बसोबास हुन्छ। उनीहरुलाई खासै अभाव हुँदैन,’ एपसी खड्काले भने, ‘स्थान छनौट गरेर कृषि मजदुरहरु बसोबास गर्ने सुनवर्सी, धनपाल, रङ्गेलीलगायतका स्थानमा एक घर एक कमल वितरण गरेका हौँ।’ यस्तै, जिल्ला प्रशासन कार्यालय र प्रहरीको सहकार्यमा दाउरा, न्यानो कपडा वितरण गर्ने पनि योजना रहेको एसपी खड्काले बताए।

शुक्रबारम्म मौसम नसुध्रिने

बुधबार दिउँसो १२ बजेअघिसम्म विराटनगरको तापक्रम १०.२ डिग्री रहेको थियो। यो पछिल्लो तीन दिनयता सबैभन्दा कम तापक्रम सूचीकृत भएको रहेको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरका प्रमुख विकास देउजाले जानकारी दिए। 

जल तथा मौसम विज्ञान पूर्वानुमान कार्यालय धरानका सहायक मौसमविद अखलेश चौरासियाले आगामी शुक्रबारसम्म प्रदेश १ मा मौसम यथावत रहेन बताए। 

‘सूर्य दक्षिणायन भएका बखत पृथ्वीको उत्तरी गोलार्द्धमा चिसो बढ्ने स्वभाविक नै हुन्छ,’ उनले भने, ‘तर अहिले पश्चिमी न्यून चापीय प्रणलीमै प्रभाव पार्ने गरी भूमध्य सागरमा बाह्य ट्रोपिकल चक्रवातका कारण मौसममा परिवर्तन आएको हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.