अब पुुरातत्व विज्ञको प्रत्यक्ष निगरानी हुन्छ : गाउँपालिका

|

हेटौंडा : ऐतिहासिक मकवानपुर गढी दरबार पुनर्निर्माणको क्रममा लापरबाही देखिएको छ।

ऐतिहासिक महत्वको रुपमा रहेको दरबारमा पुनर्निर्माण नाममा पुरातात्विक विज्ञको अनुपस्थितिमा सामान्य मजदुरहरुले मात्रै सबै पर्खाल भत्काएइपछि लापरबाही भएको भन्दै चर्को विरोध भइरहेको छ।

अन्धाधुन्ध भत्काएको भन्दै व्यापक रुपमा विरोध भएपछि, पुनर्निर्माण कार्यमा पुरातत्वविज्ञको उपस्थिति हुने भएको छ। पुनर्निर्माण प्राधिकरणमार्फत पुरातत्व विभागले थालेको जिर्णोद्धार प्रक्रिया गलत भएको पाइएपछि मकवानपुरगढी गाउँपालिकाले दक्ष जनशक्तिमार्फत पुरातत्वविज्ञको प्रत्यक्ष निगरानीमा काम गर्न अनुरोध गरेको र पुरातत्व विभागले प्राविधिक खटाइसकेको मकवानपुरगढी गउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिए।

जिर्णोद्धार भइरहेको मकवानपुरगढी क्षेत्रमा पुगेको पत्रकारहरुको टोलीसँग कुरा गर्दै अध्यक्ष हुमागाईंले ऐतिहासिक सम्पदाको संरक्षण र संवर्द्धन हुनुपर्नेमा जिल्लाबासी, पत्रकार तथा नागरिक समाजबाट आएको चासो र सुझावलाई सकारात्मकरुपमा लिएको उल्लेख गरे।

मकवानपुर गढी दरबार प्राधिकरणको १ करोड बजेटबाट पुनर्निमार्ण मात्र गर्न लागेको र गढीभित्र पुरानै शैलीमा दरबार निर्माणपछि त्यहाँ रहेका पुराना हात हतियारको संग्रहालय राख्ने योजना रहेको हुमागाईंले बताए।

स्लाब र सिँढीमा सिमेन्टको प्रयोग 

मकवानपुर गढी दरबार परिसरभित्र फलाम, सिमेन्ट तथा सिमेन्ट सामग्री प्रयोग गरेर अनावश्यक भौतिक संरचना निर्माण हुन नहुने तथा भएका संरचनाको पुरातात्विक हिसाबले जिर्णोद्धार हुनुपर्ने सरोकारवालाले माग राखेका छन्।

गढी दरबार जाने गेटदेखि मुख्य प्रवेशद्वारसम्म सिमेन्ट र मार्बल प्रयोग गर्नु ऐतिहासिक महत्वले असुहाउँदो भएको नागरिक समाजले आवाज उठाउँदै आएका छन्।

यस्तो छ इतिहास 

आधुनिक नेपालको स्थापना हुनुपूर्व गण्डकी प्रदेशमा आधिपत्य जमाउन सफल सेनवंशीय शासनको ऐतिहासिक विरासतको जीवन्त इतिहास बोकेको स्थान मकवानपुर गढी हो।

परम्परागत तर उन्नत वास्तुकलाको प्रतिरूप मकवानपुरगढीले तत्कालीन समयको सामरिक महत्व तथा सुरक्षात्मक दूरदर्शिता झल्काएको देखिन्छ। यस नजिकै रहेको ऐतिहासिक ढुंगेगढी र रानीगुफाको अवलोकन आफ्नै महत्व छ। 

सेन राजाहरूले १९७ वर्षसम्म आफ्नो राजधानी बनाएको मकवानपुर गढी विसं १६२२ मा लुवाङ सेनले बनाएको मानिन्छ। ऐतिहासिक, पुरातात्विक र सामरिक दृष्टिले पनि महत्वपूर्ण थियो। यो गढी मकवानुपर जिल्ला सदरमुकाम हेटौंडाबाट करिब १७ किलोमिटर उत्तरपूर्वमा पर्छ। कम्तीमा यसको ऐतिहासिक पक्षबारे चर्चा हुनुपर्ने हो, तर त्यो पनि भएको पाइँदैन।

नुवाकोट विजयपछि पृथ्वीनारायण शाहले मकवानपुरमा हमला गरेका थिए। काठमाडौंका मल्ल राजाहरूलाई कमजोर पार्ने रणनीतिअनुसार उनको रोजाइमा मकवानपुर परेको थियो।

नेपाल एकीकरणमा मकवानपुर गढीको महत्व यसले देखाउँछ। ९ भदौ १८१९ मा पृथ्वीनारायण शाहको फौज विजयी भएपछि मकवानपुरका राजा दिगबन्धन सेन मन्त्री कनकसिंह बानियाँसहित भागेर बंगाल पुगेका थिए, ​नवाव मिरकासिमसँग सहयोग माग्न।

दिगबन्धन सेनले मिरकासिमको सहयोगमा दुई हजार लडाकु एक हजार बन्दोबस्तीसहित ३००० फौज लिएर गोर्खाको नियन्त्रणमा रहेको मकवानपुर गढीमा १० माघ १८१९ मा आक्रमण गरे।

गढीमा उक्लिने क्रममा सिकरकटेरीमा राति १० घण्टासम्म भएको लडाइँमा नवावको फौज पराजित भयो। त्यो लडाइँमा सानो संख्यामा रहेको गोर्खाली फौजको नेतृत्व रामकृष्ण कुँवरले गरेका थिए।

गोर्खाली फौजलाई स्थानीयले घरेलु हतियारसहित सघाएका थिए। इतिहासकारहरूका अनुसार उक्त लडाइँमा मिरकासिमका तर्फबाट लड्न आएका १७०० सैनिक मारिए भने बाँकी भागेर गए।

नवावको पराजित फौजबाट थुप्रै गोलीगठ्ठा र ११ थान तोप गोर्खाली सेनाको हात पर्‍यो। 

दिगबन्धन सेनले तीन कारणले मकवानपुर गढीमा पुनः प्रत्याक्रमण गरेका थिए। पहिलो त उनी आफ्नो गुमेको राज्य फिर्ता लिन चाहन्थे। दोस्रो, मकवानपुर गढीमा अंग्रेजको पनि चासो जोडिएको थियो।

भारतस्थित अंग्रेजहरूले गोर्खाली सैन्य अभियानलाई रोक्न चाहिरहेको बखत पृथ्वीनारायण शाहको मकवानपुर विजयले उपत्यकाका मल्ल राजाहरूसँगको अंग्रेजको सम्बन्ध टुटाइदिएको थियो।

तेस्रो, उपत्यकाका मल्ल राजाहरू पनि मकवानपुरबाट गोर्खालीहरू धपाइएको हेर्न चाहन्थे। त्यसरी मकवानपुर प्रत्याक्रमणका लागि दिगबन्धन सेनलाई अंग्रेज र मल्ल राजाहरूको पनि सहयोग थियो।

यस्तो ऐतिहासिक गढीको संरक्षणले नयाँ पुस्तालाई विगत जान्ने अवसर दिनुको साथै पर्यटनमा पनि महत्वपूर्ण टेवा पुग्छ। चीन, भारतलगायतका मुलुकले यस्ता ऐतिहासिक स्थलहरूको संरक्षण गरेर पर्यटनमा राम्रो सफलता हासिल गरेका उदाहरण काफी छन्।

दुःखको कुरा आज मकवानपुर गढीलाई ओझेलमा पार्ने काम नेपाल सरकारबाटै भएको छ। गोर्खालीले बंगाली फौजबाट लिएका गोली गठ्ठा र तोप २०३६ सालसम्म गढीमै थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.