|

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिकाकी आरती थारूलाई यस पटकको माघी खासै रमाइलो लागेको छैन।

विगतका वर्षहरूमा एक महिना पहिलेदेखि नै माघीको चहलपहलले उत्साहित हुने उनी अहिले त्यति खुसी नभएको बताउँछिन्।

'कोरोनाले चाडपर्व मनाउने उत्साह नै लगिदियो,' थाहाखबरसँग कुरा गर्दै उनले भनिन्, 'कमाउन गएकाहरू पनि अहिले घरमै छन्, माघी पनि के ले र कसरी मनाउनु!' उत्साह नभएपनि घर परिवार मिलेर माघी मनाउने तयारी गरिएको उनले सुनाइन्।

थारू बस्तीका स्थानीयहरू माघी मनाउन निकै उत्साहित देखिन्थे। तर, अहिले अरु चाडपर्व जस्तै माघीमा पनि कोरोनाको असर देखिएको छ। परम्परागत रूपमा बर्दियाको ठाकुरद्वारामा लाग्दै आएको माघी मेला यस वर्ष नलाग्ने भएपछि उत्साह कम भएको स्थानीयहरू बताउँछन्। 

लागेन परम्परागत माघी मेला

मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा बर्दियाको ठाकुरद्वारामा माघी मेला लाग्ने गर्थ्यो। तर यसपटक भने कोरोना भाइरस महामारीका कारण मेला नलाग्ने भएको छ। ठाकुरद्वारामा रहेको ठाकुरबाबा मन्दिरमा मकर संक्रान्तिका दिन विशेष पूजाआजा हुनेगर्छ। 

ठाकुरबाबा मन्दिर दर्शनका लागि बाँके, बर्दिया, सुर्खेत, कैलाली र सीमावर्ती भारतीय गाउँबाट पनि दर्शनार्थीहरू आउने गर्छन्‌। माघीको दिन ठाकुरबाबाको दर्शन गरेका मनोकामना पुरा हुने धार्मिक जनविश्वास रहीआएको छ।

विशेष गरी नि:सन्तान दम्पत्तिले ठाकुरबाबाको दर्शन गरे सन्तान लाभ हुने विश्वास गरिन्छ। मेला नलागेपनि मन्दिरमा भने भक्तजनहरूले दर्शन गर्न पाउने व्यवस्था मिलाइएको छ। 

थारूहरूले माघीमै वर्ष दिनको योजना बनाउने गर्छन्। माघीमा बनाएको योजना अनुसार नै परिवारका सदस्यहरू सबै आ-आफ्‍नो काममा लाग्छन्। घर छुट्टिने, खेतमा बाली लगाउने लगाउने निर्णय पनि माघीमै गरिन्छ।

यतिखेर थारू बस्तीका चोकचोकमा युवाहरूको जमघट बढेको छ। धेरै युवाहरू अहिले घरमै भएको र बाहिर गएका पनि घर आइसकेकाले आफ्ना साथीभाइसँग अनुभव साटासाट गर्न व्यस्त छन्। 

देखिएन माघी नाच

हिजोआज पहिलाको जस्तो माघी नहुने स्थानीय जेष्ठ नागरिकहरू बताउँछन्। स्थानीय खुसीलाल थारूले भने, 'पहिलेको भन्दा चहलपहल निकै घटिसकेको छ, पहिले-पहिले माघीमा हरेक घरमा पुगेर माघी नाच नाच्ने चलन थियो, अहिले त्यो चलन हराइसकेको त छैन, तर निकै कम भइसकेको छ।’ माघी नाच फाट्टफुट्ट नाचिने भएपनि यसवर्ष कोरोनाले सो पनि नदेखिएको उनले बताए।

चाडपर्वमा आयोजना गरिने सांस्कृतिक कार्यक्रममा मात्रै थारू नाचहरू सीमित बन्दै गएको र नाच देख्नै नपाएको एक स्थानीयले बताए। होमस्टेहरूले भने थारू संस्कृति जोगाइराखेका छन्। तर, यस वर्ष होमस्टेहरू पनि सुनसान बनेका छन्। 

कोरोना महामारी पछि बन्द भएका होमस्टेहरूमा अहिले फाट्टफुट्ट रूपमा पाहुना आउने क्रम शुरू भएपनि चहलपहल भने नबढेको एक होमस्टे सञ्चालक बताउँछन्।

माघी पर्व महतवाकै वरिपरि केन्द्रित हुन्छ। महतवाकै घरमा जुट्ने, टीका थाप्ने, नाचगान गर्ने र अन्त्यमा महतवाको कामको समीक्षा गरी नयाँ महतवा चुन्ने चलन छ। 

थारू समुदायले माघीलाई नयाँ वर्षका रूपमा पनि मनाउने गरेका छन्। बेलुकापख महतवाको घरमा नाचगानको शुरूवात गरी हरेक घरमा नाच्न गइन्छ।

थारू गाउँमा बडघरबारे चर्चा शुरू

माघी पर्व नजिकिँदै गर्दा पश्चिम तराईका थारू गाउँमा बडघरबारे चर्चा शुरू भएको छ। गाउँको अगुवा मानिने बडघर पनि आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन्। बडघर बन्नका लागि दुई जनाले इच्छा गरे निर्वाचनसमेत हुन्छ।

बडघर बनाउने बेलामा वर्षभरि गरेका कामहरूको मूल्यांकन गरिन्छ। बडघरले आफूले गरेका कामको प्रतिवेदन तयार गरिसकेका छन्‌। ठाकुरबाबा नगरपालिका सत्घरुवा गाउँका बडघर कालीबहादुर थारूले नयाँ बडघर चयनबारे गाउँमा छलफल भइरहेको बताए। गाउँको विकासका लागि बडघरले नै अगुवाइ गर्ने चलन छ।

सिँचाइका लागि कुलो मर्मत तथा सडक निर्माण लगायतका सार्वजनिक कामका लागि उनीहरूले नै अगुवाइ गर्नुपर्छ। त्यस्तै, गाउँघरमा हुने सानातिना विवाद बडघरले नै मिलाउने गर्छन्। बडघर चयन गर्दा उनीहरूले गरेको कामको मूल्यांकन अनिवार्य गरिन्छ।

गाउँको सार्वजनिक कार्यमा रातदिन खटिने बडघरले कुनै पारिश्रमिक लिँदैनन्। त्यसैले पछिल्लो समयमा सरकारले नै पारिश्रमिक दिनुपर्ने आवाज उठ्न थालेको छ।

बर्दियाको बारबर्दिया नगरपालिकाले थारू समुदायको बडघर प्रथालाई स्थानीय तहले कानुनी मान्यता समेत दिएको छ। 

पहाडी समुदाय पनि सुनसान 

ठाकुरद्वारामा लाग्ने परम्परागत माघी मेला भर्न जाने विषयमा थारू त्था पहाडी सुमदायका स्थानीय २/३ दिन पहिलेदेखी नै योजना बनाउँथे। तर यस वर्ष भने मेला नै नलाग्ने भएपछि सुनसान लागेको सिवराज जैशी बताउँछन्। 

थारू सँगसँगै पहाडी समुदायमा पनि माघीको रौनक छैन। विगतका वर्षहरूमा पहाडी समुदायका व्यक्तिहरू पनि माघीलाई स्वागत गर्न तम्तयार हुन्थे। तर यस वर्ष त्यति तयारी गरिएको देखिँदैन।

बर्दियामा विशेष गरी थारू समुदायको बाहुल्यता भएको जिल्ला भए पनि पहाडी जिल्लाहरू दैलेख, अछाम, कालीकोट, जुम्लालगायत स्थानबाट बसाइँ सरी आएकाहरूको बाक्लो बसाइ छ।

पहाडी समुदायले पनि माघीलाई आफ्नै तरिकाले मनाउने गरेका छन्। माघीका लागि तरुल खन्ने र गन्जी ल्याउने लगायतका काम भने गरिएको स्थानीय बताउँछन्।

'माघीका समयमा पहिले तिलको दाउराको आगो बालेर ताप्ने चलन थियो,’ पहाडी जिल्ला दैलेखबाट बसाई सरी आएकी कोकीला रिजालले भनिन्, 'अहिले भने तिलको दाउरा त्यति नपाउने भएकाले यो चलन भने हटिसकेको छ।' 

तिलको दाउराको आगो ताप्नाले सबै पाप नास हुन्छ भन्ने धार्मिक मान्यता छ। अहिले पनि बुढापाकाले तिलको दाउरा नबाले पनि आगोमा तिलका दाना भने हाल्ने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.