|
फोटोः dailymail.com

रातभरको बिस्फोट, बन्दुक हानाहान र सडकमा सेनाका ट्यांक गुडेको आवाज। कम्तिमा ४२ जनाको मृत्य र एक हजारभन्दा बढी घाइते।

हिंसात्मक घटनाहरुका बिच टर्कीका राष्ट्रपतिले सैन्य 'कु' को प्रयास रोक्न सफल भएको दाबी गरेका छन्।  राष्ट्रपति रेचेप तैयप एर्दोआनले कुको प्रयास सरकारले निस्तेज पारेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

तर राजधानी अंकारा र स्नातबुलमा अहिले पनि लडाइँका आवाजहरु सुनिएको सिएनएनले जनाएको छ। बिबिसीले भने टर्कीको प्रहरीलाई उद्‍धृत गर्दै कुको प्रयास गरेका सैनिक र प्रहरीबीच भएको भिडन्त अन्त्यतिर उन्मुख रहेको जनाएको छ।

कु को प्रयास

शुक्रबार टर्कीको सेनाको एक समूहले विज्ञप्ति जारी गर्दै आफूहरूले सत्ता नियन्त्रणमा लिएको जनाएको थियो। टेलिभिजनमा प्रसारित विज्ञप्तिमा देशमा 'पिस काउन्सिल'को नियन्त्रण छ र कर्फ्यु र मार्सल लागू गरिएको उल्लेख थियो। टर्कीमा अब नयाँ संविधान लागू हुने समेत उक्त समूहले बताएको थियो। 

शुक्रबार टर्की सेनाले सबै सञ्चारमाध्यममा इमेल गरेर पूरै देश कब्जा गरेको दावी गरेको थियो।  टेलिभिजनमा जारी विज्ञप्तिमा सेनाले लोकतन्त्र बचाउनका यो कदम उठाइएको दावी गरेको थियो।

सेना र प्रहरीको भीडन्तका क्रममा १७ प्रहरीले ज्यान गुमाएको समाचारहरुमा जनाइएको छ। टर्कीको संसदमा पनि बिस्फोट भएको जनाइएको छ। 

जनतालाई सडकमा आउन आग्रह

बिदापछि घर फर्किएका टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले वेबक्यामबाट टेलिभिजनमा दिएको एक अन्तर्वार्तामा आफ्ना जनतालाई लोकतन्त्र बचाउनका लागि सडकमा आउन आग्रह गरेका थिए। यस्तै टर्कीका प्रधानमन्त्री बिनाली यिल्दिरिमले सैनिक कारबाहीको निन्दा गर्दै उनले यसलाई 'कु' नभएको बताएका छन्। उनले सत्तामा सरकारको नियन्त्रण रहेको उल्लेख गरेका छन्। 

विज्ञप्तिमा भनिएको छ, 'देशको सत्ता पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ।' यस समूहको नेतृत्वको बारेमा अहिलेसम्म कुनै जानकारी दिइएको छैन्।  टर्की टेलिभिजनका अनुसार वरिष्ठ सेनाअधिकारीहरूलाई राजधानी अंकाराको मुख्यालयमा बन्धक बनाइएको छ।

सेना प्रमुख हुलूसी अकर पनि बन्धक भएको समाचारमा जनाइएको छ। अंकारामा टर्कीका सरकारी टेलिभिजनको भवनमा सैनिक पसेका छन्।  इस्तानबुलको प्रहरी मुख्यालय अगाडि गोली चलेको आवाज सुनिएको समाचारमा जनाइएको छ। 

राष्ट्रपति सुरक्षित

सिएनएन टर्कीका अनुसार टर्कीका राष्ट्रपति रेचेप सुरक्षित छन्। इस्तानबुलमा पुल बन्द गरिएको छर बस्फोरस र फतिह सुल्तान मेहतम पुलमा पनि सवारी आवागमन रोकिएको छ।  राजधानी अंकारामा गोली चलेको आवाज सुनिएको छ भने सैनिक हेलिकप्टर र जेट विमान शहरको माथिबाट उडिरहेको देखिएको एक रिपोर्ट जनाइएको बिबिसीले उल्लेख गरेको छ।  

अंकारा र इस्तानबुलमा हवाई अड्डामा सेनाको ट्यांक तैनाथ गरेर हवाई अड्डालाई बन्द गरिएको समाचारमा जनाइएको छ।  इस्तानबुलको अतातुर्क अन्तराष्ट्रिय हवाई अड्डाबाट सबै अन्तराष्ट्रिय उडान रद्द गरिएको छ। टर्की प्रधानमन्त्रीले एनटिभीलाई फोनमार्फत भनेका छन्, 'सैन्य कु को आशंकामा हामी काम गरिरहेका छौ । हामी यस प्रयासलाई सफल हुन दिने छैनौँ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.