|

विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले प्रचण्ड–नेपाल समूहलाई माउसुलीको चुडिएको पुच्छरको संज्ञा दिएका छन्।    

बिहीबार विराटनगरमा ओली समूहको युवा संघले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले प्रचण्ड–नेपाल समूह माउसुलीको चुडिएको पुच्छर भएकाले अब पार्टी एकीकरणको सम्भावना नभएको बताए।

‘अहिले पनि कतिपय साथीहरु चुँडिएको पुच्छर जोड्न सकिन्छ कि भनेर लागेका छन्,’ बस्नेतले भने, ‘अब पुच्छर जोड्ने अवस्थाबाट हामी अगाडि बढिसक्यौं। माउसुलीले नयाँ पुच्छर जन्माइहाल्छ। छुट्टिएको पुच्छर एकछिन छटपटिन्छ तर एकछिन पछि त्यो पनि सकिन्छ।’

प्रचण्ड–नेपाल समूहले पछिल्ला समय गरेका गतिविधिले मुलुकको राजनीतिक विकृतिको बाटोमा हिँड्ने निश्चित रहेको बताउँदै नेता बस्नेतले अर्को राजनीतिक दलका नेताहरुलाई आग्रह गर्दै हिँडे पनि अन्य राजनितिक दलहरुले अब पत्याउने अवस्था नरहेको जिकिर गरे। 
प्रचण्डले सत्ता कब्जा गरेर अधिनायकवाद लाद्ने योजना बुनेका कारण संसद विघटन गर्नु  परेको नेता बस्नेतले दाबी छ।

नेता बस्नेतले कम्युनिस्ट आन्दोलनले टुटफुट र विकृतिलाई निर्ममतापूर्वक साथ नदिने बताउँदै पार्टीको संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याउनुपर्नेमा संसद सचिवालयमा दर्ता गरिएको प्रस्ताव अर्थहीन रहेको बताए।

यस्तै, उनले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्ड–नेपाल समूहलाई साथ नदिने देखिएपछि रामचन्द्र पौडेलमार्फत दवाव सिर्जना गरिँदै आएको समेत दाबी गरे। ‘देउवाले केपी ओलीको विकल्प नखोज्ने भनेपछि  नेता पौडेललाई उहाँहरुले परिचालन गर्नु भएको छ,’ बस्नेतले भने, ‘समकालीन राजनितिमा धेरै कम नेताले मात्र शेरबहादुर देउवाले जस्तो स्पष्ट बोल्ने गरेका छन्।’

नेता बस्नेतले  प्रचण्ड–माधव नेपाल समूह नैतिक रुपमा पार्टीमा अल्पमतमा परेको दावी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.