खोलामा घर बनाउने, रातो लगाएको घरको रङ मेटेर त्यहीँ बस्‍ने हामी बहादुर हो?

|

पर्वत : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक बोरा सिमेन्ट बचाउने लोभमा घर कमजोर बन्दा नागरिकले क्षति बेहोर्नुपरेको बताएका छन्।
२३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस-२०७७ को अवसरमा जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले घर निर्माणका क्रममा गरिने छुच्याईँका कारण भौतिक संरचनाहरू बलियो नबन्दा भूकम्पको सामान्य धक्काबाट पनि क्षति भइरहेको बताए।

‘हामी आफ्नै लागि बनाएको, आफै बस्ने घर निर्माण गर्दा एक बोरा सिमेन्ट जोगिन्छ भन्ने लोभमा राम्रो मसला नहाली घर पूरा गर्छौँ। पैसा जोगाउन १२ इन्चको रड लाग्नेमा ८ इन्चको हालेका छौँ’, उनले भने, ‘हाम्रै कमजोरीका कारण मानवीय र भौतिक क्षति भइरहेको छ। यो कुरा थाहा हुँदाहुँदै पनि लापरबाही किन गर्ने?’

भूकम्पबाहेक बाढी पहिरोको कारणले पनि नागरिकले क्षति व्यहोर्नुपरेको प्रसंगमा बोल्दै अध्यक्ष तिमिल्सिनाले खोलामा घर बनाउने नागरिकले सरकारलाई गाली गर्न नसुहाउने बताए।

हिउँदमा खोलामा जोडेर घर बनाउँदा बर्खाको बाढीले बगाउनुमा सरकारको दोष नहुने उनको भनाई छ। ‘हामीले कतिसम्म गरेका छौँ भने हिउँदमा खोला सुकेको देखेर किनारबाट घर उठाउँछौँ। बर्खामा बाढी आएर सबै बगाएर लैजान्छ’, तिमिल्सिनाले भने, ‘अनि बाढीले घर लग्यो भनेर सरकारलाई दोष दिने? त्यो घर खोलामा बनाऊ भनेर सरकारले भनेको छ र?’

भूकम्पका कारण जोखिममा रहेका घरमा प्राविधिकहरूले रातो रङ लगाइदिएको भए पनि त्यसलाई मेटेर त्यही घरमा बसेको भन्दै ती व्यक्तिहरूप्रति उनले व्यङ्ग्य गर्दै ‘बहादुर’ को संज्ञा दिए। ‘काठमाडौँ जाँदा देखिन्छ नि रातो रङ लगाएका घर। त्यो रङ मेटेर तीनै असुरक्षित घरमा हामी बसिरहेका छौँ’, अध्यक्ष तिमिल्सिनाले भने, ‘हामी त कति बहादुर है? रातो रङ मेटेर त्यहीँ बस्ने, खोलामा घर बनाएर त्यहीँ सुत्ने।’

प्राकृतिक विपद्का कारण हरेक वर्ष भइरहेको क्षतिको अर्को कारण डोजरका ड्राइभरलाई नै नागरिकले इन्जिनियर मान्नु रहेको उनको तर्क छ। नागरिकले प्राविधिकले दिएको सुझावलाई अटेर गरी आफ्नो स्वार्थ पूरा गर्ने गरी ड्राइभरलाई बाटोको इन्जिनियर बन्न लगाउँदा त्यसैबाट पहिरोले बढार्नु दुःखद रहेको अध्यक्ष तिमिल्सिनाले बताए।

यस्ता समस्याको समाधान गर्न स्थानीय तहले आफूलाई मत दिएको आधारमा वा अन्य कुनै पनि प्रभावमा नपरी नक्सा पासको काम गर्न नहुने बताए। स्थानीय तहलाई दिएको अधिकार प्रयोग गरेर जोखिममा रहेको ठाउँमा बस्ती बसाल्नै निषेध गर्न स्थानीय तह तयार हुनुपर्ने उनको भनाई छ।

वि.सं. १९९० सालको माघ दुई गते गएको भूकम्पको सम्झनामा नेपालमा २०५५ सालबाट भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो। नेपालमा गएको पहिलो भूकम्पको रूपमा वि.सं. १३१० सालमा गएको भूकम्पलाई अभिलेख गरिएको इन्जिनियर सौगात थापाले बताए।

उनका अनुसार त्यो बेलामा ७.८ रेक्टर स्केलको भूकम्प गएको र त्यसमा परी राजा अभय मल्ल सहित २२ सय जनाको मृत्यु भएको थियो। वि.सं. २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि भने यससँग सम्बन्धित पुन निर्माणको लागि सरकारले राष्ट्रिय पुन निर्माण प्राधिकरण गठन गरिएको छ।

कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले भूकम्पीय जोखिमका आधारमा नेपाल विश्वको ११ औँ स्थानमा, जलवायु परिवर्तनका हिसाबले चौथो स्थानमा, बाढीको खतराका हिसाबले ३० औँ स्थानमा र समग्र विपद्को हिसाबले २० औँ जोखिमयुक्त देशको रूपमा रहेको जानकारी दिए।

नेपालमा भूकम्पले मानिसको ज्यान नलिएको बताउँदै प्रजिअ रेग्मीले असुरक्षित भवन र संरचनाकै कारण मानवीय र भौतिक क्षति भइरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.