|

काठमाडौं : दक्षिणी छिमेकी मुलुक भारतको सरकारले आज (शनिबार) देखि त्यहाँका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले १० बजेर ३० मिनेट जाँदा 'टीकाकरण अभियान' सुरूवात गर्नेछन्‌।

तीन हजार ६ वटा खोप केन्द्रबाट आज ३ लाख स्वास्थ्यकर्मीलाई खोप लगाउने तयारी पूरा भएको भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन्‌। यसअनुसार हरेक खोप केन्द्रमा ३ सय स्वास्थ्यकर्मीलाई खोप लगाइनेछ।

कोरोना भ्याक्सिन लगाउन भारतका सबै राज्यमा 'ड्राइ रन'

चिकित्सकपछि सर्वसाधारणलाई पनि खोप दिइनेछ। खोप लगाउन देशका ७ सय जिल्लामा ३० करोड जनशक्ति परिचालन गरिएको छ। अस्ट्राजेनिकासँग मिलेर घरेलु कम्पनी सेरम इन्स्टिच्युटले तयार गरेको कोभिडशिल्ड र भारत बायोटेकले तयार गरेको कोभ्याक्सिन खोप लगाउन लागिएको हो। त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पहिलो खोप लगाएको २८ दिनमा दोस्रो खोप लगाउनुपर्ने उल्लेख गरेको छ।

भारतले पहिलो चरणमा ३० करोड मानिसलाई कोरोना विरूद्धको खोप लगाउने योजना अघि सारेको छ। यसका लागि कोभिडशिल्ड १० लाख र कोभ्याक्सिन ५५ लाख डोज खरिद गरेको छ। भारतको जनसंख्या १ अर्ब ३० करोड करिब छ।

भारत कोरोना महामारीबाट सबैभन्दा प्रभावित मुलुकको सूचीको दोस्रो स्थानमा छ। त्यहाँ अहिलेसम्म १ करोड ५ लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन्‌ भने १ लाख ५२ हजार जनाको ज्यान गइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.