|

म्याग्दी : कोरोना भाइरसबाट संक्रमित भएर होम आइसोलेसनमा बसेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरस्थित प्रभु बैंकको शाखामा कार्यरत एक कर्मचारीको जागिर गुमेको छ। एक्सलेन्ट सेक्युरिटी प्रालिमार्फत प्रभु बैंकको उक्त शाखामा सुरक्षा गार्डका रूपमा काम गर्दै आएका अन्नपूर्ण–६ का ४१ वर्षीय शिव बरुवालको जागिर खोसिएको हो। 

ज्वरो र रुघाखोकी देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखामार्फत गत पुस १ मा पिसिआर परीक्षण गर्न उनले स्वाब दिएका थिए। ‘पुस ५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि बैंक र सेक्युरिटी कम्पनीलाई जानकारी गराएर १४ दिन आइसोलेशन बसेको थिए,’ उनले भने, ‘कोरोना जितेर बैंकमा आउँदा अर्कैलाई राखिसकेका रहेछन्।’ 

रोग निको भए पनि जागिरलाई निरन्तरता दिन र कोरोना बिमाको रकम दाबी प्रक्रियामा कम्पनीले बेवास्ता गरेको बरुवालले गुनासो गरे। ‘टोल, छिमेकमा कोरोना सङ्क्रमित भनेर दुर्व्यवहार सहनुपर्यो,’ उनले भने, ‘आइसोलेसन बस्नु पर्दा जागिर गुमेकामा झनै पीडा थपिएको छ।’  

बैंकमा काम गर्ने क्रममा नै कोरोना सरेको हुनसक्ने बरुवालको अनुमान छ। रोजगारीको खोजीमा उनले चार वर्ष मलेसियामा काम गरेका थिए। बरुवालको परिवारमा बाबुआमा, श्रीमतीसहित तीन छोरी र दुई छोरा छन्। कम्पनीले मासिक १८ हजार रुपैयाँ तलब दिने गरेको थियो। जागिर गुमेपछि बरुवाललाई घरव्यवहार चलाउन समस्या भएको छ। 

प्रभु बैंकको अन्नपूर्ण शाखाका प्रमुख विनोद केसीले सुरक्षागार्डको नियुक्ति, तलब, भत्तालगायत सबै जिम्मेवारी सम्बन्धित कम्पनीको भएको बताए। काठमाडौमा रहेको एक्सलेन्ट सेक्युरिटीका कृष्ण गुरुङले बरुवाललाई जागिरबाट ननिकालेको जिकिर गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.