ठेकेदारले लग्यो दुई करोड

|

कुलप्रसाद काफ्ले

चितवन : पवित्र धार्मिकस्थल देवघाटको चितवनतर्फको क्षेत्रमा बनाउन लागिएको शवदाह गृहको म्याद सकिएको छ। दुई वर्षमा सक्नुपर्ने शवदाह गृह म्याद सकिँदासम्म जम्मा १० प्रतिशत काम भएको छ।

समयसीमा भित्र काम गर्न नसकेको ठेकेदार कम्पनीले पेस्की र पहिलो भुक्तानीसमेत गरी दुई करोड बढी रकम लगिसकेको छ।

ठेकेदार कम्पनी मिलिनियम सिद्धगढी जेभीले पेस्कीबापत एक करोड ९२ लाख र पहिलो भुक्तानीबापत १२ लाख ७८ हजार ६५३ रुपैयाँ लगेको सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले जानकारी दिएको छ।

दुई वर्षभित्र शवदाह गृह निर्माण सम्पन्न गर्नेगरी ११ करोड २१ लाख आठ हजार ६४१ रुपैयाँमा ठेकेदारसँग सम्झौता भएको थियो। शवदाह गृहको म्याद हिजो शुक्रबार सकिएको आयोजनाका इञ्‍जिनियर आशिष श्रेष्ठले जानकारी दिए।

‘शवदाह गृहको काम दुई वर्षमा सक्नुपर्ने थियो, यही माघ २ गते त्यसको म्याद सकिएको छ’, उनले भने, ‘शवदाह गृहको नजिकै देवघाट क्षेत्र विकास समितिले लगाएको वाल भत्किन लागेपछि सम्झौता भएको करिब एक वर्षपछि डिजाइन परिवर्तन भयो। अहिले काम भइरहेको छ।’ शवदाह गृहको डिजाइन परिवर्तन भएर कामै गर्न नसक्ने अवस्था हुँदा पनि ठेकेदार कम्पनीले भने पहिलो भुक्तानीसमेत पाइसकेको हो।

सघन शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले भने ठेकेदारले कानुन र कार्य प्रगतिअनुसार नै पैसा पाएको बताए। निर्माणस्थलमा अहिले पाइलिङ (१० मिटर जमिनमुनिबाट पिल्लर उठाउने) काम भइरहेको छ। बर्खामा आउने बाढीबाट भवनलाई सुरक्षित राख्‍न पाइलिङ गरिएको हो। पाइलिङ र भवनको जग खन्दा जमिन धेरै थर्कने भएकाले दुवै काम एकैचोटि हुन नसकेको उनले बताए।

सधैँ बहानाबाजी

‘कहिले मेशिन बिग्रने कहिले के हुने हुँदा ५-६ महिनामा पनि पाइलिङ सम्पन्न हुन सकेन’, उनले भने, ‘ठूलो बाढी आउँदा भवनसम्मै पानी आउने भएकाले त्यसको सुरक्षाको काम पनि गर्नुपर्ने भएको हो। एक महिनामा पाइलिङको काम सकियो भने त्यसपछि जगको काम सुरु हुन्छ।’ ठेकेदारले माघदेखि असारसम्म काम गर्न नसकेको उनले बताए।

पाइलिङ गर्ने कि नगर्ने भन्ने कुरामा एक वर्षसम्म पनि निर्णय हुन नसक्दा काम ढिला भएको उनी बताउँछन्। ठेकेदारले एक वर्षको म्याद थप गर्न माग गरेको छ। म्याद थप गर्ने अधिकार शहरी विकास तथा भवन निर्माण विभागको हो। ‘ढिलाइबारे विषयवस्तु खुलाएर पठाएका छौँ। म्याद थप गर्ने-नगर्ने विभागले निर्णय गर्छ’, उनले भने, ‘एक वर्षमा काम सक्ने के आधार छ, त्यो हेरेर म्याद थप होला।’

सार्वजनिक खरिद (पहिलो संशोधन) ऐन, २०७३ को दफा ५२(क) पेस्की सम्बन्धी व्यवस्थाको उपदफा १ अनुसार ठेकेदार कम्पनीबाट अग्रिम बैंक जमानत लिई खरिद सम्झौता रकमको बीस प्रतिशतमा नबढ्ने गरी पेश्की दिन सकिन्छ।

ठेकेदारलाई पेस्‍की दिँदा पहिलो पटकमा स्वीकृत रकमको आधामा नबढ्ने गरी र बाँकी रकम कार्यप्रगतिका आधारमा दिन सकिने उपदफा २ मा व्यवस्था छ। शवदाह गृह निर्माण गर्ने जिम्मा पाएको मिलेनियम सिद्धगढीलाई भने कानुनी व्यवस्थाभन्दा बढी पेस्की दिइएको पाइएको छ।

कोरोना र वालको निहुँले झन् ढिलासुस्ती

कोरोना महामारीमा कामदारहरू घर गएका कारण शवदाह गृहको कामले पर्याप्त गति लिन नसकेको इन्जिनियर श्रेष्ठले बताए। देवघाटमा चार कठ्ठा जमिनमा शवदाह गृह बनाउन लागिएको हो। शवदाह गृह निर्माण गर्न चालु आर्थिक वर्ष ०७७/७८ का लागि ५० लाख रुपैयाँ मात्रै आएको उनले बताए।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले ठेकेदारले दाहसंस्कारलाई सहज होस् भनेर बनाइएको पर्खाल र कोरोनालाई देखाएर ढिलासुस्ती गरिरहेको बताए।

‘ठेकेदारलाई एउटा निहुँ चाहिन्छ। एउटा कोरोनालाई देखायो, अर्को वाललाई देखायो’, उनले भने, ‘वाललाई देखाएर ठेकेदारले ६ महिना ढिला गर्‍यो। करिब ६ इन्च वाल सरेको त छ तर जति प्रगति हुनपर्ने हो, त्यति भएको छैन।’ देवघाटमा दैनिक औसत ८ देखि १२ जनाको शव दाहसंस्कार गर्ने गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.