|

बागलुङ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालकै लामो झोलुंगेपुल उद्घाटन गरेका छन्। शनिबार बागलुङ नगरपालिका-१ को बाङगेचउरमा आयोजित एक कार्यक्रममा तिमिल्सिनाले पुल उद्घाटन गरेका हुन्। ५ सय ६७ मीटर लामो यो झोलुंगेपुलले पर्वतसँग जोड्छ।

पर्वतको पाङसँग जोडिएको यो पुलले दुई जिल्लाका बासिन्दालाई वारपार गर्न सहज बनाएको छ। साथै पर्यटन प्रवर्द्धनका लागि पनि यो पुल उपयोगी भएको छ।

पुल उद्घाटनमा बोल्दै अध्यक्ष तिमिल्सिनाले जनताको विश्वासमाथि घात गर्न नमिल्ने बताएका छन्। उनले जनताले कम्युनिष्टपार्टीलाई दिएको विश्वासको संरक्षणमा लाग्नुपर्नेसमेत बताए। अदालतबाट जस्तोसुकै निर्णय आएपनि राजनीतिक नेतृत्वले स्विकारेर जानुपर्ने धारणा राखे। उनले अदालतको निर्णय नआउँदै आफ्नो निर्णय सुनाउने काम ठिक नभएको समेत बताए।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री बिकास लम्सालले देशको बिकास निर्माणको साथी केपी ओली नेतृत्वको नेकपानै भएको दावी गरे।

उनले केपी नेतृत्वको सरकार भएकै कारण ठूला आयोजनाहरु निर्माणमा सहजता भएको पनि बताए । उनले यतिबेला कांग्रेस धरमराएको भन्दै कुन कित्तामा उभिने भन्नेमा अन्यौल रहेको पनि बताए। नेकपाको अर्को समूहलाई चोइटिएको समूहको नामसमेत दिए।

बागलुङ नगरपालिकाको अगुवाइमा दुई वर्षअघि थालनी भएको यो पुल १० करोड लागतमा निर्माण सम्पन्न भएको हो। निर्माण कम्‍पनीले केही समय अघिनै काम सकेपनि कोरोना संक्रमणको जोखिम र लकडाउनका कारण पुल उद्घाटन हुन सकेको थिएन। वातावरण सहज भएपछि पुल उद्घाटन गरिएको हो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.