|

काठमाडौंः विभागीय टोली एपीएफले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

शनिबार भएको खेलमा प्रदेश १ लाई एक ३५ रनले हराउँदै एपीएफले प्रतियोगितामा विजयी सुरुवात गरेको हो। एपीएफले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याएको प्रदेश १ ४२.४ ओभरमा अलआउट हुँदै १ सय ८ रन मात्रै बनायो।

उसका लागि ओपनर मिनाश थापाले ४४ बलमा २ चौकासहित सर्वाधिक १८ रन बनाए। यस्तै, फिर्दोस अन्सारी १७, दीपेश कँडेलले १६ दीपक पासवानले १३ र जोशक खड्काले अविजित १२ रनको योगदान दिए। प्रदेश १ का ६ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। प्रदेश १ लाई सस्तैमा समेट्नेक्रममा एपीएफका अभिनाश बोहराले घातक बलिङ गरे। उनले १० ओभरमा ६ मेडन राख्दै १८ रन खर्चेर पाँच विकेट लिए।

यस्तै, वसन्त रेग्मीले १० ओभरमा ३ मेडन राख्दै १३ रन खर्चेर दुई विकेट लिँदा किशोर महतो र कप्तान शरद भेषावकरले एक–एक विकेट झारे। यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको मौका पाएको एपीएफले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय ४३ रन बनाएको थियो। उसका लागि ओपनर आसिफ शेखले विस्फोटक ब्याटिङ गरे। उनले ३२ बलमा ५ छक्का र ६ चौका प्रहार सर्वाधिक ५९ रन बनाए।

यस्तै, वसन्त रेग्मीले ४०, सन्दीप जोराले ३०, कप्तान शरद भेषावकरले २०, सुवास खकुरेल र किशोर महतोले १९–१९ रन बनाउँदा सुमित महर्जनले १४ र अभिनास बोहरा ६ रनमा नटआउट रहे। बलिङमा दीपेश कँडेल, श्रवण यादव फिर्दोस अन्सारी र हेमन्त राईले समान दुई–दुई विकेट लिए। जोशक खड्का र सोनु मन्डलले एक–एक विकेट झारे। एपीएफले आफ्नो दोस्रो खेलमा माघ ८ मा गण्डकीसँग मुलपानीमा खेल्दा प्रदेश १ ले सोमबार मुलपानीमै गण्डकीसँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.