|

बारा : चिसो र हुस्सु बढेसँगै बारामा दुर्घटना बढ्न थालेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडक खण्डमा दुई वटा र सिम्रौनगढमा एउटा दुर्घटना हुदाँ ७ जना घाइते भएका छन्। 

बाराको निजगढ नगरपालिका ७ भमरामा पुल नजिकै शुक्रबार राति ट्रिपर र मोटरसाइकल दुर्घटनामा परेको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्। 

पथलैयाबाट चपुरतर्फ जादै गरेको ना ६४ प ५९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको र चपुरबाट निजगढतर्फ आउँदै गरेको बा४ख २२४५ नम्बरको ट्रिपरले मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटनामा परेको हो।

दुर्घटनमा मोटरसाइकल चालक वीरगञ्ज महानगरपालिका–१२ श्रीपुरका २६ वर्षीय हरेराम चौधरी र ४० वर्षिय भरत चौधरी घाइते भएका छन्। मोटरसाइकल चालकको अवस्था गम्भीर छ।

उनको शरिरको विभिन्न भागमा चोट लागेको छ। उनीहरुको निजगढ नेसनल हस्पिटलमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा सघन कक्षमा राखेर उपचार भईरहेको छ। मोटरसाइकलमा सवार भरतको अवस्था सामान्य छ। जंगलबाट निस्केको बदेललाई जोगाउने क्रममा दुर्घटनमा परेको प्रहरीलाई बताएका छन्।

दुर्घटनामा संलग्न सवारी साधनलाई ईलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको छ। त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तगर्गत पथलैया–निजगढ सडक खण्डको जितपुरसिमरा–१६ स्थित १२ किलोमा पूर्वबाट पश्चिम आउँदै गरेको भे १ च २१९२ नम्बरको पिकअपले विपरित दिशाबाट जाँदै गरेको ना१ह ८१५० नम्बरको अटोलाई ठक्कर दिदा अटोमा सवार तीन जना यात्रु घाइते भएका छन्। 

घाइते हुनेमा अटोका चालक बाराको कोल्हवी नगरपालिका ८ का २७ वर्षीय पुरुषोत्तम खनालसहित दुई यात्रु घाइते भएका छन्। चालकको हात खुट्टा भाँचिएको छ। उनको वीरगञ्जको बयोधा अस्पतालमा उपचार भइरहेको छ। यात्रु ईलाकाका ३८ वर्षीय रविण कृष्ण शास्त्री र झापाको मेची नगरपालिका–१ का १९ वर्षिय चिन्तामणी निरौलाको वीरगञ्जस्थित वीरगञ्ज हेल्थ केयरमामा उपचार भइरहेको छ।

ठक्कर दिने पिकअपका चालकसहित फरार भएका छन्। फरार चालकको खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ। त्यस्तै सिम्रौनगढमा नगरपालिका–११ भगवानपुरमा शुक्रबार राती साढे १० बजे मोटरसाइकल र साईकल एकआपसमा ठोक्किदा दुई जना घाइते भएका छन्। हर्नैयाबाट सिम्रौनगढ जाँदै गरेको ना.३४ प ५९२५ नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो। 

दुर्घटनामा परेर मोटरसाइकल चालक आदर्शकोतवाल गाउँपालिका ४ हर्नैयाका २५ वर्षीय नुर आलम र साइकल चालक स्थानीय ४० वर्षीय रञ्जित मुखिया घाइते भएका छन्। 

घाइते दुवैको विभिन्न विभिन्न भागमा चोट लागेको छ। उनीहरुको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

घाइतेको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल र साइकललाई इलाका प्रहरी कार्यालय सिम्रौनगढको नियन्त्रणमा राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.