|

सर्लाही : सर्लाहीको उत्तरी क्षेत्रमा सयौं बिघामा लगाएको गोलभेंडाको बोट डढुवा रोगले मर्न थालेपछि किसान चिन्तित भएका छन्। एक सातादेखि चलेको शितलहरका   कारण डढुवा रोगको प्रकोपले गोलभेंडाको बिरुवा मर्ने र फल कुहिन थालेपछि किसान चिन्तित भएका हुन्।

जिल्लाको कर्मैया, हरिवन,अत्राैली, सासापुर, लालबन्दी, घुर्कौली, नवलपुर, पत्थरकोट, रानीगन्ज,घारीबथानलगायत स्थानमा व्यावसायिक गोलभेंडा खेती हुने गर्छ।

बिहान र बेलुकाको समयमा कठ्याङ्ग्रिदो चिसो र वर्षाझैं परेको शीत (तुषारो)ले  गोलभेंडा कुहिन थालेका छन्। 

'सबै बिरुवा डढुवा रोगले मर्न थालेका छन्। गोलभेंडा कुहिन थालेको छ, ढुसीनासक विषादी छरे पनि रोग नियन्त्रण भएको छैन', हरिवन–४ तीनघरेका इरफान अन्सारीले  निरास हुँदै भने।

उनका अनुसार यस क्षेत्रमा गोलभेंडा खेती गर्ने सबै किसानको यस्तै समस्या भोगिरहेका छन्। 

अर्का किसान लालबन्दी–११ हीरापुरका भोला लामाले १० कठ्ठामा जमिनमा ५ वर्षदेखि गोलभेंडा खेती गर्दै आएका छन्। फल दिएको सुरुका दिनमा राम्रै आम्दानी लिएको भए पनि पुस महिनाको अन्तिम सातादेखि परेको शितलहरका कारण बिरुवामा डढुवा रोगले फल र बिरुवा मरेपछि यस वर्ष लगानीसमेत नउठ्ने हो कि भन्ने चिन्ताले पिरोलिरहेको उनले चिन्तित हुँदै भने। 

कृषि ज्ञान केन्द्र मलंगवा सर्लाहीका अनुसार लामो समयसम्म चिसो र शितलहरका कारणले उत्तरी क्षेत्रका व्यावसायिक रुपमा गोलभेंडा खेती गरेका किसान मारमा परिरहेका छन्। बाक्लो हुस्सु र शितलहरका कारण विषादीले पनि काम नगरेको बताउँछन्।

चिसोका कारण तापक्रम अत्यन्तै न्यून हुने र वातावरणमा आद्रता बढ्दा जमिनमा रहेको ढुसी सक्रिय भई डढुवा रोगको प्रकोप देखापर्ने पर्ने कृषि प्राविधिकहरू बताउँछन्।

पछिल्लो समय डढुवा रोगको प्रकोपले गोलभेंडा, आलु, तरकारी, तेलहनलगायत बाली नराम्ररी प्रभावित भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.