इलाम : पूर्वी पहाडका अधिकांश लेकाली बस्तीहरू टिनको छानाभन्दा पनि बाँसका चित्राले सजिएका भेटिन्छन्। स्थानीय कालिगढको कलात्मक सीप घरको बेरादेखि सिलिङसँगै घामपानी छेक्न प्रयोग भएको देखिन्छ।
आर्थिक अवस्था कमजोर भएकाहरुको मात्र हैन सम्पन्न परिवारको चर्पी, मचान र गोठसँगै घरमा पनि चित्राले बारिएका छन्। छाना टल्किने टिनभन्दा चित्राकै छहारीले गाउँघर सजिएको पाइन्छ।
लेकाली क्षेत्रमा टिनको छहारी लगाउँदा चाँडै खिया लाग्ने भएकाले चित्राले सजिने गरेका हुन्। छानोमा लगाएका चित्रा ७ वर्षदेखि २० वर्षसम्म खप्छ भने बेरा र सिलिङको ५० वर्षसम्म खप्छ। आगो बालेको धुवाँको रापले टिन खिया लाग्छ भने चित्रा झनै बलियो हुन्छ। टिन लगाउन खर्च बढी हुने र कम खप्ने भएकाले लेकाली बस्ती चित्राले सजिने गरेका हुन्।
हिमाली क्षेत्रमा घर तातो बनाउन २४ सै घण्टा आगो बालिने भएकाले त्यसको असरले टिन खिया लाग्ने समस्या पर्ने देउमाई नगरपालिका–१ कुइभीरका तेन्जी शेर्पा बताउँछन्।
‘चार वर्षअघि टिन लगाएको खिया लाग्न थालिसक्यो तर भान्साघरमा २० वर्षअघि लगाएको चित्रा गत वर्ष मात्र फेरे।
चित्रा बनाउन हातमा सीप भए पुग्छ। गाउँमै पाइने पर्याङ, मालिङ्गो, निगालोमध्ये एकलाई काटेर मुंग्राले कुटेर चिम बनाएर चित्रा बुन्ने चलन छ।
बुनिएको एक चित्रा बिच्छ्याएर प्लाष्टिक ओच्छ्याइ अर्को खप्ट्याएर प्रयोग गरिन्छ। बीचमा राम्रो खालको प्लाष्टिक लगाएपछि असिना र पानी चुहिँदैन। कुहिरो, असिना, हिउँ पर्दा पनि चित्रा मक्किएर नजाने सन्दकपुर गाउँपालिका–२ का पेमाडण्डु शेर्पा बताउँछन्
टिनलाई असीना र हिउँले असर गर्छ। हिमाली क्षेत्रमा हावा प्राय चल्ने र काठमा टिन अड्याउन ठोकेको काँटिबाटै पानी चुहने समस्याले गर्दा उच्च पहाडी र हिमाली क्षेत्रमा स्थानीय चित्राकै प्रयोग गर्दै आएको जौबारीका दावानर्बु शेर्पा बताउँछन्।
समुद्री सतहदेखि २ हजार मिटरदेखि माथिका बस्ती चित्राले सजिने गरेका छन्। चित्रा बनाउन प्रयोग गरिने कच्चापदार्थ भने पछिल्लो समय मासिँदै गएको स्थानीय बताउँछन्। पर्याङ, मालिङ्गो र निगालोको पात गाईवस्तुको आहाराका लागि पनि प्रयोग हुनाले मासिँदै गएकाले संरक्षण गर्नुपर्ने स्थानीयको भनाइ छ।
लेकाली क्षेत्रमा बढी पशुपालन गरिँदै आएकाले गाईवस्तुको गोठदेखि घरसम्म चित्राकै प्रयोग गरिँदै आएको छ। चित्रा बनाउने मालिङ्गो र निगालो लोपउन्मुख वन्यजन्तु रेडपाण्डाको आहारासमेत हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।