काठमाडौं : अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल)अन्तर्गत सिड्नी थन्डरले होबार्ट हरिकेन्सलाई एक सय ७८ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ थालेको सिड्नीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रन बनायो। उसका लागि साम बिलिङ्सले शानदार ब्याटिङ गरे। उनले ३४ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ५० रन बनाए। यस्तै, एलेक्स हेल्सले २९, उस्मान खवाजाले २७, कप्तान कलुम फर्ग्युसनले २३ बनाउँदा बेन कटिङ र डेनियल साम्स १६–१६ रनमा नटआउट रहे।
बलिङमा स्कट बोल्याण्डले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा ४१ रन खर्चेर ४ विकेट लिएका हुन्। यस्तै, नेथन एलिसको नामा १ विकेट रह्यो।
विकेटविहीन बने सन्दीप
सिड्नीविरुद्ध होबार्टमा आबद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछाने विकेटविहीन बनेका छन्। ४ ओभर बलिङ गरेका सन्दीपले विकेट लिन सकेनन्। सन्दीप लगातार दोस्रो खेलमा विकेटविहीन बनेका हुन्। उनले यसअघि पर्थविरुद्धको खेलमा पनि विकेट लिन सकेका थिएनन्।
उनले आफ्नो चौथो ओभरमा १० रन दिए। यसअघि उनले पहिलो, दोस्रो र तेस्रो ओभरमा क्रमशः ४, ९ र ५ रन खर्चेका थिए। सन्दीपले ४ ओभरमा २८ खर्चिए। पिटर ह्यान्सकम्बको कप्तानीमा रहेको होबार्टले जारी सिजनमा १० म्याच खेलिसकेको छ। जसमा उसले पाँचमा जित र पाँच खेलमा हारको सामना गरेको छ।
होबार्टले १९ अंकसहित तालिकाको सातौं स्थानमा छ। म्याथ्यू वेडको अनुपस्थितिमा होबार्टको कप्तानी ह्यान्सकम्बले गरिरहेका छन्। सड्नी थन्डरले पनि लिगमा १० म्याच खेलिसकेको छ। जसमा ६ मा जित र चार खेलमा हार व्यहोरेको छ। २३ अंकका साथ सिड्नी तालिकाको दोस्रो स्थानमा छ।
जवाफी ब्याटिङमा उत्रिएको होबार्टले (यो समाचार तयार पार्दासम्म) २ ओभरमा ८ रन बनाउँदा १ विकेट गुमाइसकेको छ। उसका विल ज्याक्स बिनाकुनै रन बनाउँदै पहिलो बलमै आउट भएका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।