|

सोलुखुम्बु : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बहुमतको सरकारले प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जानु भनेको राजनीतिक स्थिरताका लागि भएको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले सल्लेरीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा ओली समूहका नेता समेत रहेका मन्त्री थापाले प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई हटाउन आफ्नै दलभित्रबाट अविश्वासको प्रस्ताव दर्ता गर्नेदेखि अन्य दलहरुसँग मिलेर नयाँ सरकार निर्माण गर्ने लगायत चलखेल बढेपछि प्रतिनिधिसभा विघटन गरेको दाबी गरे। उनले संविधानमा व्यवस्था भएअनुसारनै प्रतिनिधिसभा विघटन भएको जिकिर समेत गरे।

‘देशमा समृद्धि ल्याउनका लागि स्थिर राजनीति आवश्यक पर्छ,’ मन्त्री थापाले भने, ‘बहुमतको सरकारले संसद विघटन गरी निर्वाचनमा जानुको पछाडि राजनीतिमा स्थिरता कायम गर्नु हो।’ 

नेपालका कम्युनिस्टहरु एकतावद्ध भएर समृद्ध नेपाल निर्माणको अभियानमा अगाडि बढेको देख्न नसक्नेहरुको पछाडि प्रचण्ड–नेपाल समूह लागेको बताउँदै मन्त्री थापाले ओलीले नेतृत्व गरेको नेकपा आधिकारिक भएकाले चुनाव चिह्न र पार्टीको आधिकारिकता आफूहरुले प्राप्त गर्ने दाबी गरे। सरकारले पेश गरेको निर्णयको पक्षमा निर्वाचन आयोग र सर्वोच्च अदालतको फैसला हुने उनको भनाइ छ। 

समृद्ध नेपाल निर्माणका लागि नयाँ जनादेश आवश्यक भएकाले संसद पुनर्स्थापना हुनु नहुने तर्क गर्दै मन्त्री थापाले बैशाख १७ र २७ मा निर्वाचन हुने भएकाले त्यसको तयारीमा लाग्न कार्यकर्तालाई अनुरोध गरे। उनले आफूहरु देशमा नयाँ क्रान्तिमा लागेको र १६५ निर्वाचन केन्द्र नयाँ आन्दोलनको मोर्चा बन्ने भएकाले सफलता हात पार्ने गरी लाग्नुपर्नेमा जोड दिए।

नेकपा जिल्ला अध्यक्ष तथा ओली समूहका केन्द्रीय सदस्य मानवीर राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेको पनि उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.