|

विराटनगर : मध्य दिन, तर नखुलेको आकाश। तराईको मुटु कमाउने चिसो। हिउँ जस्तै सेताम्मे फुलेको कपाल, पातलो सर्टभित्र काँपिरहेको शरीर। विराटनगरको व्यस्त गुद्री बजारको गल्लीमा रिक्सासँगै यात्रु नियाल्दै उभिरहेका परमेश्वर मण्डलले बिहानदेखि ४० रुपैयाँ मात्रै कमाइ भएको सुनाए।

​‘विराटनगरको मुटु कमाउने जाडोले भन्दापनि दिनभर कमाइ नहुँदा रित्तो खल्तीले मन पोलेको छ,' उनले भने, 'छोराहरू विवाह गरेर बसेका छन्, श्रीमतीले काम गर्न सक्दिनन्‌, घर फर्किँदा के लिएर जाने भन्ने चिन्तामा छु।’

रिक्सासँगको उनको सम्बन्ध गाँसिएको ५ दशक नाघिसक्यो। रिक्साको कमाइले नै ३ जना छोरा र श्रीमतीको लालनपालन गरेको उनी सुनाउँछन्। आइतबार दिउँसो गुद्री बजारमा भेटिँदा थाहा संवाददातासँग गफिएका परमेश्वरको आँखा भने बजारमा आवतजावत गर्नेहरूको अनुहारतर्फ नै थियो। ‘आज त कमाई नै भएको छैन,' सर्टको गोजि नियाल्दै उनले भने, 'बिहान ८ बजे घरबाट निस्किएको हुँ, साँझ पर्न लाग्दा पनि सोचेजस्तो कमाई भएन।’

तराईबासीहरूलाई गन्तव्यसम्म पुग्नका लागि रिक्सा नै सहज माध्यम भएपनि पछिल्लो समय इलेक्ट्रोनिक सवारी साधन (सिटी सफारी) भित्रिएसँगै रिक्सा लोप हुन थालेको छ। केही वर्षअघिसम्म विराटनगरका गल्ली र मुख्य चोकमा रिक्साको लर्को देखिने गरेपनि पछिल्लो समय रिक्सा ट्रेन्ड हराउँदै गएको छ।

रिक्सा चढ्न रुचाउने एकादुई मात्रै हुन्छन्। विगतमा सधैँ दैनिक ५ देखि ६ सय रुपैयाँसम्म कमाइ लिएर घर फर्कने गरेका परमेश्वरले सिटी सफारी शहरमा भित्रिए पछि कमाई नै खोसिएको दु:खेसो पोखे।

‘आजभोलि  मान्छेहरू रिक्सा चढ्न मान्दैनन्‌,' परमेश्वर भन्छन्, 'दु:खको पहाड मान्छेले देख्दैन, सबै सुविधा खोज्छन्, तर मलाई मेरो रिक्सासँग माया छ, मेरो परिवार नै यसैले पालेको हो।’

उमेरले उनी ७० वर्षका भए। छोराको कमाई खाने उमेरमा उनी आफू र श्रीमतीको जिम्मेवारी आफ्नै काँधमा लिएर हिँडेका छन्। 

'आफूले कमाएको पैसाले आफू खुशी खर्च गर्न पाइन्छन्छ, छोराले कमाएको पैसामा बुहारी रिसाउलिन्‌ भन्ने लाग्छ,' बजारतिर आँखा डुलाउँदै उनी भन्छन्, 'आफ्नो पसिनाको कमाई खाँदा आत्मसन्तुष्टि मिल्छ।' 

आफूसँगै रिक्सा चलाउने साथीहरू धेरैले कर्जामा सिटी रिक्सा किनेको उनी सुनाउँछन्। उनलाई पनि साथीहरूले सिटी रिक्सा किन्दा र चलाएको देख्दा किन्ने रहर नलागेको होइन। बैंकबाट कर्जा लिने आफूसँग जमिन नभएकाले रहर मारेर पुरानो रिक्सा बनाउँदै चलाउने गरेको उनी बताउँछन्। ​परमेश्वर विराटनगर-३ स्थित मा ऐलानी (सुकुम्बासी) जमिनमा बस्दै आइरहेका छन्।

परमेश्वरको जस्तै विराटनगर १२ का ६५ वर्षीय रामनारायण ऋषिदेव (नाम परिवर्तन) को पनि आफ्नै कथा छ। ३० वर्ष देखिको रिक्सा र उनको सम्बन्ध प्रगाढ छ। रिक्साको कमाइबाट नै दुई छोरा, एक छोरी र श्रीमतीको जिम्मेवारी पूरा गर्दै आएको उनी सुनाउँछन्।​

बिहान ७ बजे रिक्सा लिएर घरबाट निस्किएका रामनारायण यात्रु भेटिए आधा पेट नास्ता खान्छन्, कमाई नहुँदा चियाले भोक मेट्ने गरेको सुनाउँछन्। उनको दुईजना छोरा पेन्टिङको काम गर्छन्‌, छोरीको विवाह भइसकेको छ।

‘छोराछोरी सानो हुँदा मात्रै आफ्नो हुन्छ, जब उमेर पुग्छ विवाह हुन्छ, उनीहरूको स्वभाव परिवर्तन हुन्छ,' आइतबार बिहान बसपार्कमा भेटिएको रामनारायणले भने, 'अहिले छोराछोरी आ–आफैँ कमाउँछन् र खान्छन्, हामी दुई बुढाबुढी आफैँ कमाउछौँ।’

सिटी रिक्सा बजारमा नभित्रिँदा दैनिक ५ देखि ६ सय रुपैयाँसम्म कमाई हुने गरेको, तर पछिल्लो समय धेरै दु:खले ५० देखि सय रुपैयाँसम्म कमाई हुने गरेको उनी सुनाउँछन्। 

‘सिटी रिक्सा किन्न रहर भएर मात्रै नहुँदो रहेछ, बैंकबाट कर्जा लिन पनि आफूसँग धितो राख्ने जमिन केही छैन,' उनले भने, 'अर्काको जमिनमा बस्दा नै उमेरले डाँडा काट्यो, अब दुःख/सुख यही रिक्साले काम चलाउने हो।’

'बल्लतल्ल भेटिएका यात्रु पनि रिक्सामा भाडा बढी भयो भनी सिटी रिक्सा नै चढ्न जान्छन्, सफारीले लोकल भाडा २० रुपैयाँ लिने रहेछ, हामी ३० रुपैयाँ लिन्छौँ, १० रुपैयाँको अन्तर देख्छन्, हाम्रो पसिना देख्दैनन्,' उनले थपे।

परमेश्वर मण्डल र रामनारायण ऋषिदेव सडकमा छाक टार्ने सपना देख्ने प्रतिनिधि पात्र मात्रै हुन। उनीहरू जस्तै सडकमा छाक टार्ने सपना बोकेर भौँतारिइरहेकाहरू विराटनगरको सडकमा मात्रै नभएर अन्य स्थानमा पनि भेटिन्छन्।

लोप हुँदै रिक्सा

विराटनगर महानगरपालिकाको व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधानका अनुसार आजभन्दा ६ देखि ७ वर्ष अघिसम्म २३ सयको हाराहारीमा दर्तावाला रिक्सा चल्थे। पछिल्लो समय इलेक्ट्रोनिक रिक्सा (सिटी सफारी) सञ्चालन भएसँगै रिक्सा चालक दर्ता प्रकृयामा आउन छाडेको प्रधानले जानकारी दिए। 'सिटी सफारी बजारमा भित्रिए पछि रिक्सा लोप हुँदै गएको छ,' प्रधानले भने, 'पछिल्लो समय ५० देखि ६० को हाराहारीमा मात्रै रिक्सा चल्ने गरेको छ।' 

सिटी रिक्सा चालकलाई ट्राफिक प्रहरीको सचेतना

पछिल्लो समय रिक्सा छोडेर सिटी रिक्सा चलाउन शुरू गर्ने धेरै भएकाले प्राविधिक ज्ञानको कमीले गर्दा सडक दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी सहायक निरिक्षक विनोद कुमार खतिवडा बताउँछन्।

'विराटनगरको मुख्य चौकमा सफारी चालकलाई जम्मा गरेर सचेतना मूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौं,' सहायक खतिवडाले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.