|

काठमाडौं : हरियो लेउ र झ्याउले ढाकिएर कुरुप बन्न थालेपछि काठमाडौं महानगरपालिकाले पोखरीको सौन्दर्य बढाउन सरसफाई थालेको छ। नगर प्रहरीलाई दिनहुँ खटाएर त्यहाँको हरियो लेउ र झ्याउ हटाउने तथा पोखरीको प्राकृतिक सौन्दर्यता बढाउने काम महानगरले गरिरहेको हो।

‘राजधानीको केन्द्रमा रहेको पोखरी शुद्धीकरणको दीर्घकालीन समाधानका लागि सरोकारवाला निकायहरूसँग हामीले छलफल गरिरहेका छौँ,’ काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भने, ‘पुन:निर्माण प्राधिकरणबाट हामीलाई रानीपोखरी पुन:निर्माणपछि हस्तान्तरण भैसकेको अवस्था छैन। यद्यपि, पोखरी हाम्रै क्षेत्राधिकारभित्र पर्ने भएकाले सफा बनाउने प्रयास गरेका हौँ।’

सहरको सौन्दर्य बढाउने रानीपोखरी हरियो लेउ र झ्याउले कुरुप भयो भन्ने गुनासो सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पनि आएकाले महानगरपालिकाको ध्यानाकर्षण भएको र सरसफाइको प्रक्रिया अघि बढाएको ज्ञवालीको भनाई छ।

‘पानीमाथि ढाकिएको हरियो लेउले पोखरीको सुन्दरता नै हराउने अवस्था आएपछि हामीले नगर प्रहरीको सहयोगमा त्यहाँको लेउ र झ्याउ हटाउन थालेका छौँ। दीर्घकालिन व्यवस्था नहुन्जेलसम्म पोखरीको सरसफाइलाई महानगरपालिकाले नियमित गर्छ,’ ज्ञवालीले भने, ‘पानीमा माछा नहालेकाले हो अथवा शुरूमा हालेको पानीका कारणले त्यस्तो भएको हो, यो विषयमा पनि हामीले विज्ञहरूसँग छलफल गरेका छौँ । पोखरी लेउ र झ्याउले कुरुप भयो। त्यसैले हामीले पोखरी सफा गरेर पहिलो चरणमा केही माछा हालेर हेर्ने र विस्तारै दीर्घकालिन समस्या समाधानको बाटो अपनाउने तयारी गरेका छौँ ।’

महानगरका प्रहरी प्रमुख धनपति सापकोटाले पनि दैनिक २० भन्दा बढी नगरप्रहरी खटाएर उनीहरूकै सहयोगमा पोखरीको लेउ र झ्याउ हटाउने काम गरिरहेको जानकारी दिए। ‘दुई दिन लगाएर करीब ५० जना नगर प्रहरीको सहायतामा पोखरीको झण्डै आठ टिप्पर जति लेउ र झ्याउ झिकिएको छ।’ उनले प्राधिकरणसँग लेउ मार्ने विषादी प्रयोग गर्ने लगायतका विकल्पका बारेमा छलफल भैरहेको जानकारी दिए।

पानीको मात्रा घट्दै गएकाले थप समस्या भएको भन्दै पोखरीमा पानी भर्ने विषयमा पनि छलफल भैरहेको सापकोटाले जानकारी दिए। प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले पनि पानी शुद्धीकरणका लागि विभिन्न विकल्पमाथि छलफल भैरहेको भन्दै महानगरपालिकाले सरसफाइका लागि गरेको प्रयास सकारात्मक भएको जानकारी दिए।

‘महानगरपालिकालाई रानीपोखरी हस्तान्तरण भएको अवस्था छैन,’ मानन्धरले भने, ‘यो अवस्थामा काठमाडौँ महानगरपालिकाले सफा गर्ने असल उद्देश्यले गरेको कार्य सकारात्मक छ।’

प्राधिकरणले पनि त्यहाँको लेउ दीर्घकालिन रूपमा हटाउने र पोखरीलाई सफा बनाउने उपायको खोजी गरिरहेको सन्र्दभमा महानगरपालिकाले गरेको प्रयासलाई सकारात्मक रूपमा लिएको उनले बताए। पानी शुद्धीकरणमा विभिन्न विकल्पमाथि छलफल गरिरहेको भन्दै उनले पानी पम्पिङ गर्ने लगायतबारे पनि सोचिरहेको जानकारी दिए। 

'महानगरपालिकाले अस्थायी रूपमा जे गरिहेको छ, त्यो सकारात्मक छ। तत्काल सफा नगर्ने हो भने पोखरीको सबै पानी दुर्गन्धित हुने खतरा बढी हुन्छ। पानी पम्पिङ गर्दा पानीमा पर्याप्त अक्सिजन मिसिएर घुल्न पाउँछ, यसका कारण लेउ उम्रन पनि पाउँदैन। यो विषयमा पनि हामी सोचिरहेका छौँ,’ उनले भने, ‘लेउ खाने माछा हालेर पनि रानीपोखरीलाई सफा र सुन्दर राख्न र पोखरीको सौन्दर्य बढाउन सकिन्छ भन्ने विकल्पमा पनि छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.