|

काठमाडौं : प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ। सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने तयारी गरेको हो। त्यसका लागि प्रहरीले बजेटको मागसहितको सुरक्षा योजनाको प्रारम्भिक खाका बनाइसकेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार मतदान केन्द्र र मतदान स्थलको सुरक्षाका लागि आवश्यक पर्ने म्यादी प्रहरीको आवश्यक संख्या र त्यसका लागि आवश्यक पर्ने बजेटको व्यवस्थापनसहित सुरक्षा योजनालगायतका प्राविधिक विषयमा खाका बनाएको हो। सो विषयमा प्रहरी प्रधान कार्यालयले अर्थ मन्त्रालय र निर्वाचन आयोगसँग समेत आवश्यक समन्वयको काम गरिरहेको खबर आजको राजधानी दैनिकले लेखेकाे छ।

खाकाअनुसार आगामी निर्वाचनका लागि १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीमा भर्ना आह्वान गर्ने तयारी भएको हो। यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी भर्ना गरिएको थियो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्त कुँवरले करिब १ लाखको संख्यामा म्यादी प्रहरीको भर्ना आह्वानको तयारी भइरहेको जानकारी दिए। उनका अनुसार फागुनको दोस्रो वा तेस्रो साता भर्ना आह्वान हुनेछ।

प्रहरी प्रवक्ता कुँवरले म्यादी प्रहरीलाई प्रहरी जवानको बराबर तलब र रासन भत्ता उपलब्ध गराइने बताए। विगतको निर्वाचनमा भने म्यादी प्रहरीलाई एक जना बराबर मासिक १७ हजार २ सय ३० रुपैयाँ तलब निर्धारण गरिएको थियो। यसैगरी म्यादी प्रहरीलाई तलबबाहेक पोसाक र प्रहरी जवानकै बराबर रासन भत्तासमेत प्रदान गरिएको थियो। प्रहरीले म्यादीमा भर्ना आह्वान गर्दा उनीहरूको कार्यावधि तोक्ने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.