|

पाल्पा : उमेरले युवा। बोलाइमा भद्रता। न आत्तिएका देखिन्छन्, न अहमता छ। गोठालो गरेर नै दिन बिताउँछन्‌। तर, कथामा परिकल्पना गरिने गोठालोको चित्रभन्दा बेग्लै छ उनको दैनिकी।

उनी हुन् : तानसेन नगरपालिका १२ बौघापोखराथोकका मीनबहादुर आले। ३८ वसन्त पार गरेका आले कलिलै उमेरमा भोगाइको कठघरामा परे। भोगेको उमेरभन्दा बढी अनुभव संगाले।

​झण्डै २३ वर्षको उमेरमा धन कमाउने सपना बोकेर वैदेशिक रोजगारको सिलसिलामा दुबई पुगे उनी। दुई वर्ष त्यहाँ बसेका उनले समुन्द्रको बीचमा काम गर्नु पर्‍यो। तेल निकाल्ने त्यस ठाउँमा उनले 'रूम बोय' अर्थात् कोठा सफा गर्ने र भाँडा माझ्ने काम गर्थे। दुःखको काम भएपनि तलब भने सन्तोषजनक नै थियो। मासिक झण्डै ७० हजार रुपैयाँ कमाउँथे। तर, बाहिरी संसार देख्न पाउँदैनथे। त्यही भएर सधैँका लागि जागिर नै छाडेर घर फर्किए।

चार वर्ष घरमा बसेका उनलाई फेरी विदेश जाने हुटहुटी चल्यो। दलालमार्फत साउदी अरबतर्फ लागे। जहाँ उनले भनेअनुसारको काम पाएनन्, न त तलब नै पाए।

१२०० साउदी रियल पाउने आशमा गएका उनले १००० मा चित्त बुझाउनु पर्‍यो। ‘काम सजिलो थियो, दाम थिएन,’ उनले भने, ‘बिरामी भएको बहाना बनाएर भिसाको अवधिभन्दा ६ महिना अघि नै घर फर्किएँ।’ अब विदेश नजाने भन्दै बाख्रा पाल्न थालेको उनले सुनाए।

२०७० सालदेखि सामान्य तरिकाले बाख्रा पाल्न थालेका थिए। खरबारीमा चराउन लैजाँदा बाघले बाख्रा खाइदिएर निकै क्षति पुर्‍याइदियो। ४ वर्षमा ३३ वटा बाख्रा बाघले खाएको थियो। विदेशमा छँदा युट्युब हेरेर बाख्रापालन व्यवसायमा आकर्षित भएका मीनबहादुरमा बाघले बाख्रा खाइदिएपछि निरासा बढ्यो। तर हरेस खाएनन्। बरू थप व्यवस्थित गरेर व्यवसायिक रुपमा बाख्रा पाल्न थाले।

सुरूमा स्थानीय जातका बाख्रा पालेका थिए। यसबाट खासै फाइदा देखेनन्। अनि उन्नत जातका बाख्रा पाल्ने सोच बनाए। लुम्बिनी एग्रो बोयर बाख्रा फार्म दर्ता गरे। चितवनबाट खरिद गरेर बोयर जातका बाख्रा ल्याए। गएको दुई वर्षदेखि बोयर जातका बाख्रा पाल्न थालेको उनले बताए।

उनले २० लाख रुपैयाँ खर्चेर बोयर जातका बाख्रापालन व्यवसाय थालेका हुन्। अहिले लगानी बढेर साढे एक करोड रुपैयाँ पुगेको छ। आधुनिक खोर निर्माण गरेका छन्। साथै बाख्रालाई आवश्यक पर्ने विभिन्न संरचना बनाएका छन्। रातीमा बस्ने खोर, दिउँसोमा बस्ने र घाँस तथा दाना खुवाउने छुट्टै ठाउँ, जुम्रा वा उपियाँ परेका बाख्रालाई उपचार गर्ने ट्यांकी, व्यवस्थित मलखाद, यहाँ आउने ग्राहक बस्ने प्रतीक्षालय र आफूलाई कार्यालय लगायतका संरचना बनाएका छन्।

उनीसँग अर्का एकजना लगानीकर्ता छन्। बाख्राको स्याहार गर्न भने दुई जना कामदार राखेका छन्। ती कामदारसँगै मीनबहादुर र उनकी श्रीमती दिनहुँ काममा खटिन्छन्। यहाँको बाख्रा फार्म अवलोकन गर्ने आन्तरिक पर्यटकको समेत घुइँचो लाग्ने गर्छ। बाख्रा अवलोकन गर्न आउनेले नियमको पालना गर्नुपर्छ।

उनको फार्ममा जाने जो सुकैले 'अनुमति विना कुनै कार्य गर्न पाइने छैन। अनुमति विना बाख्रा छुन पाइने छैन। जथाभावी फोहोर गर्न तथा थुक्न पाइने छैन।फार्म परिसरभित्र रहँदा मध्यपान, धुम्रपान तथा सूर्तीजन्य पदार्थ सेवन गर्न पाइने छैन। फार्म भित्र रहँदा सभ्य र शालिन रहनुहोला।' जस्ता नियम पढेर सोहीअनुसार व्यवहार गर्नुपर्छ।

एक वर्षमा १५ लाख रुपैयाँभन्दा बढी नाफा

गएको एक वर्षमा करिब ३० लाख रुपैयाँको बाख्रा बिक्री गरेको मीनबहादुरले बताए। उनका अनुसार सम्पूर्ण खर्च कटाएर नगद १५ लाख रुपैयाँभन्दा बढी खुद नाफा भएको छ। उनले एउटा बोयर जातको बिउ बोका २ लाख ८५ हजार रुपैयाँमा बिक्री गरे, जुन बोका २५ किलोको थियो। बोयर जातको बाख्रा मासुको लागि भन्दापनि बीऊको लागि ग्राहकले खरिद गरेर लैजान्छन्।

आवश्यकता अनुसार उनीहरूले महंगोमा यी बाख्रा लैजाने गर्छन्। बाख्रा पाल्न सके बजारको समस्या नहुने उनी बताउँछन्। बाख्रा बिक्रीमा छ भन्ने कुरा थाहा पाए नेपालका जुन कुनै ठाउँबाट फोन गरेर खरिद गर्न आउँछन्। बोयर जातको बाख्रा बिउको लागि मात्र बिक्री भइरहेको मीनबहादुरले बताए।

‘यी बाख्राको पछिल्लो समयमा निकै माग बढ्न थालेको छ, अहिले बिउको लागि पनि पुर्‍याउन सकिएको छैन,’ उनले भने, ‘मासुको लागि अझै २० वर्ष कुर्नुपर्छ।’ यस व्यवसायबाट घाटा नहुने मीनबहादुरको अनुभव छ।

सरकार ठोस सहयोग गर्दैन

बाख्रापालन व्यवसायबाट सन्तुष्टि मिलेपनि सरकारले कुनै सहयोग नगरेको मीनबहादुर बताउँछन्‌। 

‘मनको इच्छा अनुसार नै व्यवसाय गरें’, उनले भने, ‘सोचेजस्तो सफलता प्राप्त भएको छ, व्यवसाय अझै विस्तार गर्ने योजनामा छु।’ यसरी स्वदेशमै स्वरोजगार बन्न खोजेका युवालाई सरकारले पनि साथ दिनुपर्ने उनले बताए।

डेढ करोड रुपैयाँ लगानी गर्दा प्रदेश सरकारले ४ लाख रुपैयाँ मात्र सहयोग गरेको उनले गुनासो गरे। कोरोनाका बेला तानसेन नगरपालिकाले २० हजार रुपैयाँ अनुदान दिएको थियो।

सहज र सस्तो व्याजदरमा ऋण पाए आफूहरूलाई राहत मिल्ने मीनबहादुर बताउँछन्। उनी भन्छन्, 'सरकारले उन्नत जातका बाख्रा ल्याइदिए व्यवसाय थप विस्तार गर्नलाई सहयोग पुग्ने थियो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.