|

पर्वत : छात्रालाई होटेलको कोठामा लगेर परीक्षा दिन लगाएको आरोपमा कास्कीको पोखरा महानगरपालिका–१ टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयका तीनजना शिक्षक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार पक्राउ परेकाहरू कास्कीको पोखरा महानगरपालिका–१८ कास्कीकोट स्थायी घर भई हाल वडा नम्बर १ बाघबजार बस्ने राष्ट्रिय माविका प्रधानाध्यापक ४८ वर्षीय सूर्य तिवारी, रुपा गाउँपालिका–४ सिद्ध स्थायी घर भई पोखरा–११ फूलबारीमा बस्ने शिक्षक ४१ वर्षीय घनश्याम रेग्मी र पोखरा–२० भलाममा बस्दै आएका शिक्षक ४० वर्षीय शिक्षक शिरिसकुमार बस्ताकोटी रहेका छन्।

राष्ट्रिय माविकी एकजना छात्रालाई प्रलोभनमा पारेर गत मंसिर ११ गते विद्यालयमा परीक्षा भएको भए पनि पोखरा–३३ मा रहेको एक होटेलमा लगेर परीक्षा दिन लगाएको पाइएको थियो। परीक्षा दिलाउने क्रममा ती शिक्षकले मदिरा सेवन गरेर छात्रामाथि अनैतिक क्रियाकलाप गरेको समेत आरोप लागेको छ। 

कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक विधि विषयको आंशिक परीक्षा लिँदा होटेलमा राखेर लिइएको पाइएको थियो। छात्रालाई परीक्षा केन्द्रभन्दा बाहिर होटेलमा लगेर अमर्यादित रूपमा परीक्षा लिएको र अन्य प्रचलित कानुन विपरीतको कसुर जन्य कार्य समेत भएको हुन सक्ने देखिएको डिएसपी हमालको भनाइ छ। यसको अनुसन्धान गरी दोषी उपर कारबाही हुने भन्ने राष्ट्रिय परीक्षा बोर्डको जाहेरी पत्रसहितको कागजात समेत प्राप्त गरेको आधारमा उनीहरूलाई पक्राउ गरिएको उनले बताए।

घटनाको अनुसन्धानको विषयमा प्रहरीले तीनजनालाई पक्राउ गरिएको भए पनि छात्रालाई होटेलमा लगेका मुख्य दोषी शिक्षक शिरिसकुमार बस्ताकोटी हुन्। उनले विभिन्न मिडियामा आफ्नो गल्ती समेत स्वीकार गरिसकेका छन्। घटनाको विषयमा थप र गम्भीर अनुसन्धानको लागि प्रधानाध्यापकसहित अर्का एकजना शिक्षकलाई समेत नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

पक्राउ परेका तीनैजनालाई शिक्षा ऐनसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी मुद्दा दर्ता गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको छ। यसअगाडि सोमबार घटनामा संलग्न शिक्षकहरूलाई कारबाहीको माग गर्दै विद्यार्थी र भूतपूर्व विद्यार्थीहरूले प्रधानाध्यापक तिवारीलाई ध्यानाकर्षण पत्र समेत बुझाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.