|

भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा बन्न लागेको अस्पतालमा स्थानीयस्तरबाटै विवाद सुरु भएको छ। १५ शय्याको अस्पताल विवादका कारण अदालतसम्म पुगेको छ। अदालतले जग्गा विवाद देखिएकोले अस्पतालको काम कारबाही तत्काल रोक्न गाउँपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

स्थानीय दिलकेशर थापाको नामबाट उच्च अदालत विराटनगर इलाममा मुद्दा दायर गरिएको हो। निवेदक थापाले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सबै वडा अध्यक्ष, दुई कार्यपालिका महिला सदस्य तथा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृतलाई विपक्ष बनाई मुद्दा दायर गरेका हुन्।

मुद्दा दायर भएपछि माघ ४ गते उच्च अदालत विराटनगर, इलामका न्यायाधीश शिवनारायण यादवको एकल इजलासले माघ १२ गतेसम्मका लागि गाउँपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

आदेशमा हल्दिबारी गाउँपालिकाले जग्गा छनोटसम्बन्धी निर्णय कार्यान्वयन नगर्नु नगराउनू भनी उल्लेख गरिएको छ। सरकारले १५ शय्याको अस्पताल साबिकको गोलधाप गाविस हाल वडा नम्बर १ मा बनाउने तोकेर पठाएको थियो।

गाउँपालिकामा बन्न लागेको स्तरीय अस्पताल पायक पर्ने ठाउँमा बन्न नलागेको भन्दै गाउँ कार्यपालिका बैठकले स्थान परिवर्तन गर्दै वडा नम्बर १ कै तीन किलोमिटर पूर्वमा जमिन लिएर अस्पताल बनाउने निर्णय गरेको थियो। करिब १८ करोडको लागतमा अस्पताल बन्न लागेको थियो।

गोलधापको स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै १५ शय्याको अस्पताल बनाउने भनी मन्त्रालयले तोकेर पठाएको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङदे्नले जानकारी दिए।

पछि गाउँ कार्यपालिकाको बैठकले ठाउँ परिवर्तन गर्दै त्यहाँदेखि केही पर सार्ने निर्णय गरेको उनले बताए। कार्यपालिकाको बहुमतले अस्पताल सार्ने निर्णय गरेको लिङ्देनले बताए। 'अहिलेसम्म अस्पताल बनाउने भनी जमिन प्राप्त नभइसकेको र टेन्डर पनि लागेको छैन', लिङ्देनले भने।

गत पुस १६ गते स्वास्थ्य चौकी नजिकैको १३ कट्ठा जमिनमै प्रदेश १ का तत्कालीन सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले अस्पतालको शिलान्यास गरिसकेकी जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.