|

युवराज विष्ट

भोजपुर : धेरै मानिसहरू सेवा-सुविधाको खोजीमा शहरतिर बसाइँ सर्छन्। यसरी हिँडेका मानिसहरू पुनः आफ्नै जन्मथलोमा फर्किएका कमै उदाहरण भेटिन्छन्।

तर, भोजपुरको टेम्केमैयुङ गाउँपालिका-८ गोगने सल्लेनीका कृषक शम्भु नेपाल भने २२ वर्ष विराटनगरमा बिताएर गाउँमा फर्किइ व्यवसायिक खेतीमा लागेका छन्‌। ​विराटनगरमा रहेको घर बेची व्यवसाय गर्न उनी गाउँ आएका हुन्‌। नेपालले जिल्लामा पहिलो पटक ड्रागन फल खेती थालेका छन्‌।

​कृषक नेपालले अहिले आफ्नो पुर्ख्यौली २२ रोपनी जमिनमा ड्रागन फल र १८ रोपनी क्षेत्रफलमा कागती रोपेका छन्‌। त्यस्तै, एक हजार बोट कुरिलो र एभोकाडो लगायत अन्य बिरुवा समेत लगाएका छन्।

उनले 'दानाबोटे फलफूल तथा कृषि फर्म' भित्र अहिले १ हजार ५०० बढी पिलरमा ड्रागन फल लगाएका छन् भने दुई हजार ५०० पिलर पुर्‍याउने लक्ष्यका साथ खेतीलाई थप विस्तार गरिरहेका छन्‌। नेपालले ३ वर्षअघि भोजपुरमा पहिलो पटक ड्रागन फलको व्यवसायिक खेती गर्न थालेका थिए। अहिले उनको फर्मबाट ड्रागन फल उत्पादन हुन थालिसकेको छ।

कृषक नेपालले भने, ‘म २२ वर्षपछि पुन: गाउँ फर्केर व्यवसायिक कृषिमा लागेको छु, अहिले मैले ४० रोपनी बढी क्षेत्रफलमा ड्रागन फलसँगै कागतीको व्यवसायिक खेती गरिरहेको छु, शुरूमा गाउँ फर्केर आउँदाताका व्यवसायिक रूपमा खेती गर्न खोज्दा यहाँका साथीहरूले धेरै थरी कुरा गरे, बोलायो भने, पैसा धेरै भएर यस्तो गर्दैछ भने, तर अहिले मैले ड्रागनको खेती गरेको देखेर अन्य साथीहरूले पनि खेती गर्न थालेका छन्।’

नेपालले ड्रागन फलको खेतीका लागि मात्र हालसम्म १५ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरिसकेको बताए। गत वर्षबाट सामान्य रूपमा त्यसले फल दिन थालेको उनले बताए। उनले ड्रागन खेतीबाट वार्षिक ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छन्। भारतबाट यसको विरुवा ल्याएर खेती थालेको उनले जानकारी दिए।

अहिले नेपाल आफैँले यसको बिरुवा उत्पादन थालेका छन्‌। ड्रागन फल लागेको ४५ दिनमा खान मिल्ने उनले जानकारी दिए। यसको मुल्य स्थानीय बजारमा ७ सयदेखि १ हजारसम्म रहेको उनले बताए।

गत वर्ष कागती बिक्रीबाट १० लाख रुपैयाँ आम्दानी गरेको उनले बताए। कोभिडका कारण यसवर्ष भने बिक्री वितरणमा समस्या भएको उनको भनाइ छ। ‘गत वर्ष मैले १० लाख रुपैयाँ बराबरको कागती बिक्री गरेँ, ३ लाख रुपैयाँ बराबरको कागती स्थानीय बजारमा बिक्री भयो भने बाँकी काठमाडौंमा लगेर बिक्री गरेँ। भोजपुरबाट आएको अर्गानिक कागती भनेपछि यसको काठमाडौंमा पनि बजार राम्रो छ।’

व्यवसायिक रूपमा खेती गरिरहेको भएपनि राज्यको तर्फबाट सहयोग नपाएको नेपालले गुनासो गरे। आफूले गरिरहेको कामको धेरैले प्रशंसा गरेपनि अन्य सहयोग नपाएको उनको भनाइ छ। नेपालले भने, ‘मैले खेती गरेको देखेर हौसला दिने धेरै छन्, तर सरकारबाट खास सहयोग पाएको छैन, बैंकबाट कृषि ऋण लिएर व्यवसाय थालेको हुँ, मैले पनि राज्यलाई केहि दिन सकेको छैन, फर्मसम्म आउने सडक नहुँदा डोकोमा बोकेर बस भएको ठाउँसम्म लैजाने गरेको छु, मैले राम्रो काम गर्न सकेँ भने सरकारको तर्फबाट पनि सहयोग आउला नि त !’

उनले गाउँका अन्य कृषकलाई समेत व्यवसायिक कृषिमा लाग्ने हौसला दिँदै आएको बताए। उनले गाउँमा उत्पादन भएको दुध बजारसम्म पुर्‍याउन पहल समेत थालेको जानकारी दिए।

कृषक नेपालले भने, ‘यहाँ दुध उत्पादन सम्भावना धेरै छ, तर गाउँघरमा उत्पादन भएको दुधले मूल्य पाउन सकेको छैन, बजारमा पुर्‍याएर बिक्री गर्न सकेमा यहाँका हजारौँ कृषकलाई लाभ पुग्छ, दुध संकलन केन्द्र स्थापनाको लागि आवश्यक कागजात तयार गरेर स्थानीय सरकारसंग समन्वय गरिरहेको छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.