|

काठमाडौं : पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओली व्यवहार र प्रवृत्तिको कारणले तत्कालै एकता हुन नसक्ने बताएका छन्।  प्रधानमन्त्री ओलीले पद छाड्न पर्दा कुर्सी भाच्ने, घरमा आगो लगाउने काम गर्ने काम गरेकोले उनले आफ्नो गल्ती स्वीकार गरेर फर्कने हो भने मात्र एकता सम्भव रहेकाे बताए।

अहिलेको लडाइँ पदको लागि नभएको  उनले स्पष्ट पारेका छन्। उनले आफुलाई बदल्न आवश्यक रहेको र  बदल्न सकेनौँ भने परिस्थिति बाहिर जान सक्ने प्रचण्डको भनाइ छ।  नेकपा (प्रचण्ड–माधव समूह)ले देशको पछिल्लो परिस्थितिबारे सम्पादकहरूसँग गरेकाे छलफलका क्रममा प्रचण्डले  अहिले असंवैधानिक कदमलाई गम्भीर रुपमा जनतामाझ  जाने बताए।

'अब जनतालाई कसरी यसको विषयमा प्रष्ट्याएर अगाडि जाने भन्ने विषयमा गम्भीर छौं। हाम्रा होइन राम्रालाई लिएर जाने भन्ने आधार जनतालाई राख्नुपर्छ। पार्टीमा सिस्टम बसाल्न आवश्यक छ। राजनीति आन्दोलन अहिलेसम्मकै गम्भीर मोडमा पुगेको छ', प्रचण्डले भने, 'पार्टी एकतादेखि नै यो सबै समस्या देखिसकेको थियो। पार्टीमा विधि पद्धति नीति कार्यक्रम बजेट तथा नियुक्ति लगायतको विषयमा समस्या थियो। अहिले क्लाइमेक्समा देखियो।'

उनले पार्टीको काम घोषणापत्रअनुसारको भएको छ छैन भन्ने बहस भइरहेको र त्यस अनुसार गएका छैन भन्ने विषयमा पनि आफूहरू गम्भीर भएको बताए। 'हामी जनतालाई प्रष्ट पार्न श्वेतपत्र जारी गरेर जान्छौं। अहिले जनतालाई कहाँ कमि कमजोरी भयो भन्ने विषयमा जवाफ दिनुपर्छ।

असंवैधानिक कदम चालिएको छ। संसद विघटन मात्रै होइन, सिस्टम र संविधानमा नै प्रहार गरेको छ। सबै लोकतान्त्रिक प्रणाली विपरीत भएको कारणले हामी सडकमा आएको हो', उनले भने।

अहिलेको लडाइँ पदको लागि हुँदै होइन्। हामीलाई पदको आवश्यकता छ भन्ने बाहिर भ्रम फैलाइएको उनले बताए।  'हाम्रो पदको लडाइँ नभएको मुखले मात्रै नभएर व्यवहारले देखाउन सक्नुपर्छ। ओली र हाम्रो कदम उस्तै भनेर गरिएको भ्रम चिर्छौं।

​ हामी निर्वाचन विरोधी होइनाै‌ तर, हामी अहिले त्यता जाने पक्षमा छैनौं। संविधानमाथि प्रहार भएकाले संसद पुनःस्थापना गराउन लागिरहेका छौं', उनले भने, 'पुनःस्थापना भएन भने संविधान सकिन्छ। निर्वाचन त जस्तो सुकै तानाशाहले गराएका छन्। संविधान र प्रणाली मिचेपछि हामी उत्रिएका हौं।'

उनले आफूहरू निर्वाचन विरोधी नभएको जिकिर गरे। 'एक सालपछि स्थानीय तहको निर्वाचन हुने नै थियो। त्यसको तयारीमा थियौँ', उनले भने। अहिले सिस्टम बसाल्न आवश्यक रहेको भन्दै प्रचण्डले नेतृत्व हस्तान्तरणको विषयमा छलफल पनि चलिरहेको बताए।  

'यहि टिमले त्यो सिस्टम बसाल्छ। हामी प्रधानमन्त्रीका लागि मरिहत्ते गर्ने मान्छे होइनौं। संघीय लोकतान्त्रिक गणतन्त्र माथि प्रहार भएपछि हामीले सहि कदम चाल्नुपर्छ', उनले भने। प्रचण्डले आफू हिंसाको बाटोमा जाने कुरा सोच्न नसक्ने बताउदै लोकतन्त्र माथिको प्रहार भएकाले थोरै आक्रोश आफुमा आएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.